पुल अलपत्र, ठेकेदारलाई कालोसूचीमा राख्ने तयारी «

पुल अलपत्र, ठेकेदारलाई कालोसूचीमा राख्ने तयारी

हेटौंडा-पटक पटक समय थप गर्दा पनि निर्माण कम्पनीले काम नगर्दा मकवानपुरमा करोडौं रुपैयाँ लागतका सडक पुल अलपत्र परेका छन् । जिल्लाका विभिन्न पाँच वटा सडक पुल अलपत्र छाड्ने ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा राख्ने तयारी गरेको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको आमभन्ज्याङ, हेटौंडा–९ स्थित कुखरेनी खोला, मनहरी–चैनपुर सडकको पुल र हटिया–बालबोध–गुवाबारी रोडको पुल र फापरबारी भोर्लेनी सडकको पुल अहिले अलपत्र अवस्थामा छन् । संघीय सरकारको बजेटमा निर्माण सुरु भएका ती पुल अहिले प्रदेश–३ सरकारमा हस्तान्तरण भइसकेका छन् । समयमै काम नगरेको भन्दै प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय चितवनले उनीहरुको समयावधि थप्न सिफारिस गरेको छैन ।
दुईवर्षे समय लिएर निर्माण सुरु गरिएको फापरबारी भोर्लेनी सडक खण्डको पुलको सम्झौता अवधि गत भदौमा सकिएको छ । उक्त पुलको प्रगति जम्मा ५ प्रतिशत मात्र भएको छ । १३ करोड १८ लाख ५८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको एक सय १६ मिटर लामो पुल महावीर, शिखर, तामाकोशी जेभीले ठेक्का लिएको हो । २०७४ असार ३० गते सम्झौता गरेकोमा सम्झौता अवधि २०७६ भदौ २७ गते सकिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । ठेकेदार कम्पनीले हालसम्म एक करोड ७० लाख ५० हजार रुपैयाँ भुक्तानी लिइसकेको छ ।
यसैगरी मकवानपुर गढी–५ आमभन्ज्याङबाट ३ नम्बर वडाको कालीखोला जोड्ने एक सय २८ मिटर लामो पक्की पुल पनि अलपत्र परेको छ । पुल निर्माणको ठेक्का लिएको नागार्जुन शंकरमाली जेभीले गत असारमै दोस्रो पटकको ठेक्का समय पनि गुजारेको छ । पाँच करोड ३७ लाख ९२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा ठेकेदार कम्पनीले एक करोड ४२ लाख ५७ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ । पुल निर्माणको काम भने २७ प्रतिशत मात्र सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख पुष्कर पोखरलेलले बताए । कालीखोलाको पुल निर्माणका लागि २०७३ पुस ११ गते सम्झौता भएकोमा २०७४ चैत १७ गते नै सम्झौता सकिएको थियो । दोस्रो पटक समय थप गरी २०७६ असार मसान्तसम्म समय तोकिए पनि एक चौथाई मात्र काम सम्पन्न भयो ।
यस्तै नागार्जुन शंकरमाली जेभीले नै ठेक्का लिएको हेटौंडा–९ बाट हेटौंडा–१३ पदमपोखरी जोड्ने कुखरेनी खोलाको एक सय ३ मिटर लामो पम्की पुलको पनि काम अलपत्र छ । दोस्रो पटक समय थप गरी तीन वर्ष गुजारिसक्दा पनि पुल निर्माणको प्रगति भने झण्डै ५५ प्रतिशत मात्र भएको कार्यालयको भनाइ छ । चार करोड ६६ लाख २३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा ठेकेदार कम्पनीलाई दुई करोड ३८ लाख ४१ हजार रुपैयाँ भुक्तानी दिइसकिएको छ । २०७३ असार २२ गते निर्माण सम्झौता भएकोमा २०७४ अजोज २१ गते समय सकिएको थियो । त्यसयता थपिएको दोस्रो पटकको म्याद पनि गत असारमा सकिएको छ ।
यस्तै महावीर, शिखर, तामाकोशी जेभीले एक करोड २१ लाख ६७ हजार रुपैयाँमा ठेक्का लिएको मनहरी–चैनपुर–राक्सिराङ सडकमा निर्माण सुरु गरिएको १८ मिटर लामो पुलको काम दुईवर्षे समय सकिँदा पनि पूरा हुन सकेन । २०७४ जेठ ३१ गते निर्माण सम्झौता गरेको उक्त पुल करिव ५० प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ । गत जेठमा नै समय गुज्रिएको भए पनि ठेकेदार कम्पनीको समय थपिएको छैन । कम्पनीले ३४ लाख ७४ हजार रुपैयाँ भुक्तानी भने लिइसकेको पूर्वाधार विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै इलाइट, सपना, विद्याञ्चल जेभीले ठेक्का लिएको हटिया–बालबोध गुवाबारी सडकमा निर्माणाधीन ४० मिटर लामो पुल पनि सम्पन्न हुन सकेको छैन । सम्झौता भने गत असारमै सकिएको छ । पुलको काम करिब ७५ प्रतिशत सकिएको अुनमान गरिएको छ । २०७४ असार ३० गते पाँच करोड २६ लाख ६० हजार रुपैयाँमा पुल निर्माणको ठेक्का दिइएकोमा हालसम्म कम्पनीलाई तीन करोड ३१ लाख रुपैयाँ भुक्तानी दिइएको छ ।
पाँच वटै पुलको ठेकेदार कम्पनीले समय थपका लागि निवेदन दिए पनि आफूहरुले सिफारिस नगरेको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख पोखरेलले जानकारी दिए ।
‘सार्वजनिक खरिद ऐनको संशोधनपछि कामको प्रकृति हेरेर ठेकेदारलाई एक वर्षको समय थप गर्ने सरकारले निर्णय गरेको छ, तर सबैलाई थप गर्ने भनिएको होइन, उहाँहरुको कार्य प्रगति हेर्दा समय थप गर्ने अवस्था छैन ।’ कार्यालय प्रमुख पोखरेलले भने । पुल निर्माण अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राख्ने गरी तयारी गरिएको उनले सुनाए । ‘हामीले अब उहाँहरुलाई कालोसूचीमा राख्नैपर्ने हुन्छ, अब समय थप गर्न सक्ने अवस्था छैन ।’ पोखरेलले भने । पाँच पुलका ठेकेदारमध्ये धेरैले अन्यलाई काम गर्न पेटी ठेक्का दिएको र सरकारबाट पाउने भुक्तानी भने आफूले बुझेर अरुलाई नदिएको बुझिएको प्रमुख पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्