एक प्रतिशत घरधुरीमा स्वास्थ्य बिमा «

एक प्रतिशत घरधुरीमा स्वास्थ्य बिमा

सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम करिब १ प्रतिशत घरधुरीमा पुगेको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको तथ्यांकअनुसार विगत दुई वर्षको अवधिमा नेपालका ५० हजार ९ सय २१ घरधुरी बिमा कार्यक्रममा सहभागी भएका छन् । पछिल्लो राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कुल घरधुरी ५४ लाख २७ हजार ३ सय २ रहेको छ । सो आधारमा ०.९४ प्रतिशत घरधुरी कार्यक्रममा सहभागी भएको समितिले बताएको छ । दुई वर्षभित्र नेपाल सबै नागरिकलाई कार्यक्रममा समेटिने सरकारको लक्ष्य रहेको छ । 
तथ्यांकअनुसार पाल्पा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सबैभन्दा बढी १५.१२ प्रतिशत घरधुरी समेटिएका छन् । कुल ५९ हजार २ सय ९१ घरधुरी रहेको उक्त जिल्लामा ८ हजार ९ सय ३३ घरधुरी बिमामा सहभागी भएका छन् । यस्तै, जुम्लामा ७.९७ र कास्कीमा ७.३० प्रतिशत घरधुरी बिमा कार्यक्रममा सहभागी भएका छन् । तर, अछाम, बैतडी, जाजरकोट र कैलालीका थोरै घरधुरी मात्रै  बिमा कार्यक्रममा समेटिएका छन् ।  अछाममा ०.७२, कैलालीका १.०९, बैतडीका १.४३ र जाजरकोटका २.०६ प्रतिशत घरधुरी मात्रै बिमा कार्यक्रममा सहभागी भएका छन् । 
जनसंख्याको आधारमा हेर्ने हो भने नेपालको कुल जनसंख्यामध्ये ०.८६ प्रतिशत मानिस बिमा कार्यक्रममा सहभागी भएका छन् । दुई वर्षमा २ लाख २८ हजार ११३ जना व्यक्ति बिमामा आबद्ध भएका छन् । २०७२ चैत २५ मा कैलालीबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम २०७३ असार १५ देखि  बाग्लुङ र इलाममा पनि विस्तार गरिएको थियो । यस्तै, २०७३ पुसदेखि अछाम, बैतडी, कास्की, पाल्पा र म्याग्दी जिल्लामा पनि समितिले बिमा कार्यक्रमलाई विस्तार गरेको थियो । २०७४ असारमा भक्तपुर, गोर्खा, तनँहु, चितवन, जुम्ला, जाजरकोट र मकवानपुर कार्यक्रम विस्तार गरिएको थियो भने असोज महिनामा झापा, सुनसरी, सोलु, बर्दिया, रोल्पा, सुर्खेत, सिन्धुली पनि कार्यक्रम विस्तार गरिएको थियो । चालू आवका लागि १४ जिल्ला छनोट भएका छन् । यस्तै, सरकारले हालै स्वास्थ्य बिमा ऐन पनि जारी गरेको छ । ऐनले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि छुट्टै बोर्डको समेत व्यवस्था गरेको छ । बोर्डको गठनपछि स्वास्थ्य बिमा कार्यक्रम तीब्र गतिमा अगाडि बढ्ने समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले बताए ।
आव २०६९÷७० को बजेट भाषणमार्फत सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । उक्त आवमा कार्यक्रम अगाडि बढाउने कार्य शून्यप्राय रहे पनि आव २०७०÷७१ को बजेटमा सरकारले पुनः स्वास्थ्य बिमा नीति जारी गरी ५ वर्षभित्र देशभर स्वास्थ्य बिमा कार्यक्रम पु¥याउने योजना प्रस्तुत गरेको थियो । उक्त आवमा कार्यक्रम सुरु नभए पनि स्वास्थ्य बिमा नीति भने जारी गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्