Logo

चामल किन्न हुम्लाबाट मुगुसम्म

मुगु-सरकारले नेपाल खाद्य संस्थानमार्फत दुर्गम जिल्लाका गाउँ बस्तीमा पठाएको खाद्यन्न गाउँमा नपुगी बीच बाटोबाटै हराउने गरेको पाइएको छ । हुम्ला जिल्लाको सर्केगाड वितरण केन्द्रका लागि नेपाल खाद्य संस्थान सुर्खेत र नेपाल खाद्य संस्थान मुगुको गमगढी वितरण केन्द्रबाट सर्केगाढतर्फ पठाइएको खाद्यन्न सम्बन्धित स्थानमा नपुगेपछि स्थानीयबासी खाद्यन्न जोहो गर्न मुगुको सोरु गाउँपालिकाको तारापानी बजार र गमगढी बजारमा पुग्ने गरेका छन् ।
नेपाल खाद्य संस्थानको सहुलियत दरको खाद्यन्न ढुवानीको जिम्मा लिएका ठेकेदारले वितरण केन्द्रमा खाद्यन्न नपु-याएपछि स्थानीयबासीले भेडा च्याङ्ग्रा, खच्चड लिएर हप्तौँ दिन लगाएर मुगु सदरमुकाम गमगढी र आसपासका बजारमा पुगेर खाद्यन्न लिनुपर्ने बाध्यता रहेको हुम्लीबासीले बताएका छन् ।
नेपाल खाद्य संस्थानको सर्केगाड डिपोबाट वर्षमा एक पटक तीस केजीको एक प्याक चामल मात्र पाउने गरेको उनीहरुले गुनासो गरेका छन् । सर्केगाड–३ उनपानीका दिलबहादुर फडेरा दसैं तिहारमा समेत ठेकेदारले चामल नल्याएपछि सात दिन लगाएर मुगुको सोरु गाउँपालिका–८ मा पर्ने तारापानी बजारमा पुगेर निजी पसलबाट खाद्यन्न लिएर गए ।
‘खाद्य संस्थानले सर्केगाड वितरण केन्द्रमा चामल पु-याएको भए १५ सयमा पाउथेँ होला तर खसीसहित मुगुको तारापानी पुग्दा १६ सय ८० रुपैयाँ प्रति ३० केजीको प्याक खरिद गर्नुप-यो ।’ उनले भने ।
‘सरकारले चामल पठाउँछ भन्छन् तर खाद्य संस्थानको सर्केगाड डिपोमा पुग्दा जहिले पनि रित्तो हात फर्किनु पर्छ ।’ उनले भने । यता खाद्य संस्थान मुगुले सर्केगाडका लागि एक हजार क्वीन्टल खाद्यन्न पठाउने बताएपनि अहिलेसम्म ढुवानी ठेकेदार सम्पर्कमा नआएको जनाएको छ । हरेक वर्ष खाद्य संस्थानले सर्केगाडका लागि खाद्यन्न पठाएको छ ।
यसैबीच दसैं तिहार र बाटोका कारण आफूले खाद्यन्न सर्केगाड वितरण केन्द्रमा लैजान नसकेको ओम जय दुर्गी जनरल अडर सप्लायर्सका दुर्गबहादुर बुढाले बताए ।

दानबहादुर बुढा

प्रतिक्रिया दिनुहोस्