Logo

चन्दा नदिएपछि स्काभेटरमा आगजनी

सिन्धुलीमा सडक निर्माणका लागि प्रयोग भइरहेको स्काभेटरमा आगलागी भएको छ । दुधौली नगरपालिका–१३ डुडभञ्ज्याङमा सडक निर्माणका लागि प्रयोग भइरहेको स्काभेटरमा आगलागी भएको हो ।
रातको समयमा राखिएको ठाउँमा नै आगलागी भई स्काभेटर पूर्णरूपमा क्षति भएको जनाइएको छ । काम गरेकै ठाउँमा स्काभेटर राखिएकोमा बिहान हेर्दा जलेको अवस्थामा फेला परेको स्काभेटर धनी छत्रबहादुर बम्जनले बताए । उनले विप्लव समूहका कार्यकर्ताले जलाएको आरोप लगाएका छन् । “३ दिनअघि हरिहरपुरगढी गाउँपालिकाका कपिल वाइबाले फोन गरेर पैसा मागेका थिए,” बम्जनले भने, “मैले दिन्न भनेपछि उनले माग गरेको पैसा नदिए कारबाही गर्ने धम्की दिएको थियो ।”
उनका अनुसार कपिल वाइबा विप्लव समूहका कार्यकर्ता हुन् । उनले ३ दिनअघि मात्रै फोन गरी बम्जनसँग १ करोड ५० लाख रुपैयाँ मागेका थिए । “विप्लव नेता तथा कार्यकर्ताले धेरै दुःख दिइरहेका छन्,” उनले भने, “कपिलले मात्र होइन यसअघि पटक–पटक विप्लव समूहका कार्यकर्ताको फोन आइरहेको थियो ।” डेढ करोड नगद नदिए मार्नेसमेत धम्की आएको उनले बताए । बम्जन लामो समयदेखि ठेकेदार पेशामा संलग्न छन् ।
यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनाबारे अनुसन्धान भइरहेको भन्दै आगलागीबाट स्काभेटर पूर्णरूपमा जलेर नष्ट भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्