पुनर्बिमा दलालको व्यवस्था गर्दै समिति «

पुनर्बिमा दलालको व्यवस्था गर्दै समिति

बिमा समितिले अन्ततः पुनर्बिमा दलाललाई लाइसेन्स वितरण गर्ने भएको छ । पुनर्बिमा दलालको बिषयमा लामो समयदेखि मौन बसेकोे समितिले हाल भने दलालको आवश्यकताको महशुस गरेको छ । फलस्वरूप समितिले पुनर्बिमा दलालसम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेको हो ।
पुनर्बिमा दलाल भनेको बिमा कम्पनी र पुनर्बिमा कम्पनीबीच काम गर्ने कम्पनी हो । यसले दुई पक्षबीच पुलको काम गर्छ । यस्तो कम्पनीले पुनर्बिमा कम्पनी तथा बिमा कम्पनीको अध्ययन अनुसन्धान गरी जोखिम निर्धारण गर्छ । यस्ता दलाल कम्पनीले बिमा कम्पनीहरूलाई पुनर्बिमासम्बन्धी सल्लाह र सुझाव पनि उपलब्ध गराउने हुँदा अधिकांश बिमा कम्पनीहरूले दलालमार्फत नै पुनर्बिमा गराउँछन् । साथै पुनर्बिमा कम्पनीहरूले पनि दलालमार्फत नै पुनर्बिमा गर्न रुचाउँछन् ।
दलाल कम्पनीहरू प्राविधिक रूपमा दक्ष हुन्छन् । त्यसैले पुनर्बिमा प्रक्रियामा दलालको ठूलो महत्व रहन्छ । नेपालमा भने हालसम्म यस्तो खालको दलालको व्यवस्था गरिएको छैन । तर, पछिल्लो समय विदेशी दलाल कम्पनीहरूले नेपाली बिमा कम्पनीहरूको पुनर्बिमा नेपालकै पुनर्बिमा कम्पनीसँग गराउन थालेपछि समितिको ध्यान आकर्षित भएको हो । साथै, नेपालको पुनर्बिमा व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन दलालको व्यवस्था गर्न जरुरी रहेको समेत समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । “नेपालमा नै दलालको व्यवस्था भयो भने उनीहरूले नेपाली पुनर्बिमा कम्पनीको विदेशमा बजारीकरण गर्छन् र व्यवसाय भिœयाउँछन्,” उनले भने ।
नेपालमा दर्ता भएर पुनर्बिमा दलालको रूपमा काम गर्न यस अघि नै धेरै कम्पनीहरूले चासो देखाएका थिए । आजभन्दा करिब सात वर्ष अगाडि भारतीय पुनर्बिमा कम्पनी जेबी बोडाले पुनर्बिमा दलालको लागि समितिमा आवेदन समेत दिएको थियो । तर, तत्काल नेपालमा पुनर्बिमा कम्पनी नै नभएकाले समिति निष्क्रिय रहेको बिमाविज्ञ भोजराज शर्माले बताए । तर, हाल नेपालमा पुनर्बिमा कम्पनी स्थापना भइसकेको र पुनर्बिमा निर्देशिकाले पनि यससम्बन्धी व्यवस्था गरेकाले समितिले पुनर्बिमा दलाल सम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेको बिमा विज्ञ भोजराज शर्माले बताए । बिमा ऐन २०४९ को धारा ३० मा दलाल दर्तासम्बन्धी व्यवस्था गरिएको छ । ऐनअनुसार दलालका लागि निवेदन प्राप्त भएमा समितिले जाँचबुझ गर्दा इजाजत पत्र दिनसक्नेछ । त्यस्तै, समितिले पुनर्बिमा व्यवसायसम्बन्धि निर्देशिका जारी गर्दै दलालमार्फत पुनर्बिमा गर्न सकिने व्यवस्था गरेको छ । बिमामा धेरै प्रकारका दलाल हुन्छन् । पुनर्बिमा निर्देशिका पनि जारी भइसकेकोले तत्कालका लागि समितिले पुनर्बिमा दलालको व्यवस्था गर्ने तयारी गरेको हो ।
हाल नेपालका अधिकांश बिमा कम्पनीहरूले भारतीय पुनर्बिमा दलालमार्फत पुनर्बिमा गराउँदै आएका छन् । तर, नेपालमा नै ब्रोकरको व्यवस्था सकियो भने नेपालको बिमा बजार अझ बढी परिपक्व बन्ने समितिका सहायक निर्देशक राजेन्द्र मर्हजनले बताए । त्यस्तै दलाल कमिशनबापत बाहिरिने रकम पनि रोकिनेछ ।
नेपाली कम्पनीहरूले जेबी बोडा (भारत), पायोनियर इन्स्योरेन्स ब्रोकर (भारत), फस्र्ट पोलिसी इन्स्योरेन्स ब्रोकर (भारत) लगायतका भारतीय दलालमार्फत पनि पुनर्बिमा गर्दै आएका छन् । त्यस्तै, नेपालका निर्जीवन बिमा कम्पनीहरूले स्वीस रि (स्वीजरल्याण्ड), जेबी बोडा पुनर्बिमा कम्पनी (भारत), जनरल इन्स्योरेन्स कर्पोरेसन (जीआईसी) (भारत), ह्यानओभर रि (जर्मन), ट्रस्ट रि (बहराइन), वाइका रि वेस्ट अफ्रिकन (सियरा लियोन), लोयड लण्डन, केन्या रि, केन्या, भुटान रि (भुटान) लगायतका कम्पनीहरूसँग पुनर्बिमा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्