स्थानीयलाई ‘एक घर एक धारा’

स्याङ्जा- खानेपानीको समस्यामा अल्झिएका वालिङ–७ ताप्केका १७० घरधुरीमा ‘एक घर एक धारा’ पुगेसँगै स्थानीयवासी हर्षित भएका छन् ।
खानेपानी तथा चौपायाका लागि गाग्रीमा बोकेर पानीको जोहो गर्नुपर्ने यहाँका स्थानीयवासीलाई पिठ्यूँमा पानी बोक्नुपर्ने बाध्यता हटेर गएको वालिङ–७ का वडाध्यक्ष पाण्डुकुमार थापाले बताए । “एक गाग्री पानीका लागि गाउँभन्दा तल रहेको मुहानमा पुग्न कम्तीमा पनि आधा घण्टा समय लाग्ने गरेको थियो”, वडाध्यक्ष थापाले भने, “योजना सम्पन्न भएर सञ्चालनमा आएसँगै बचत भएको समय अन्य काममा लगाउन सकिने भएको छ ।”
गाउँभन्दा झण्डै १९० मिटर तल रहेको ‘गापुडाँडा’ मुहानबाट पानी विद्युत्को सहाराबाट तानेर गाउँभन्दा माथि रहेको ट्यांकीमा संकलन गरी प्रत्येक घरधुरीमा वितरण गरिएको ताप्के खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष ताराबहादुर थापाले बताए ।
गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाद्वारा निर्मित ‘ताप्के खानेपानी तथा सरसफाइ आयोजना’ सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारले एक करोड १८ लाख रकम उपलब्ध गराएको थियो । त्यस्तै जनश्रमदान ३३ लाख १४ हजार गरी कूल एक करोड ५१ लाख १४ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष थापाले बताए ।
उक्त खानेपानी पाइपमार्फत घरघरमा धारा जडान गरी सञ्चालनमा आएसँगै १७० घरधुरीका एक हजार १०१ जना प्रत्यक्ष लाभान्वित भएको आयोजनाका सचिव लक्ष्मी रानाले बताइन् । खानेपानी योजना मर्मतसम्हार तथा संरक्षणका लागि छुट्टै कोष बनाएर सञ्चालन गरिने आयोजनाका अध्यक्ष थापाले बताए ।