खानेपानीको धारामा रगत ! «

खानेपानीको धारामा रगत !

खानेपानी आउने धारामा रगत आएपछि बनेपा नगरपालिका दक्षुटोलका स्थानीयवासी चकित परेका छन् ।
सातामा २ दिनमात्र पानी आउने गरेको धारामा खानेपानीको सट्टा रगत आउन थालेपछि स्थानीय चकित पर्नुका साथै समस्यामा परेका छन् । पानी आउने धारामा रगत आएपछि बनेपा दक्षुटोलका स्थानीय त्रसित भएका छन् । बनेपा– ८ र ९ वडाको सिमाना दक्षुटोलका स्थानीयले रगत मिसिएको पानीसहित नगरपालिकामा डेलिगेसन गएका थिए । “धेरै दिनदेखि खानेपानीमा रगत मिसिएर आएको छ भनी नगरपालिकालाई जानकारी गराउँदा पनि वास्तै गरेन अति भएपछि पानीसहित डेलिगेसनमा आउनुप¥यो,” स्थानीय उज्ज्वल पोटेले भने ।
खानेपानीको तालिका अनुसार मंगलबार खानेपानीको धारामा पानी थाप्न पुगेका उज्ज्वलको धारोमा रगत आएको थियो । स्थानीयका अनुसार व्यवस्थित बधशाला नहुँदा शाही टोलबाट आएको ढल र खानेपानीको पाइप एकै ठाउँमा राखिएकाले रगत आएको बताए । खानेपानीको धरामा नै रगत आएपछि बनेपा– ९ का वडाध्यक्ष शेरबहादुर सुवालको नेतृत्वमा बनेपा नगरपालिकामा उजुरी गर्न पुगेका थिए ।
बनेपामा रहेको खानेपानी संस्थानले वितरण गर्ने खानेपानी र बनेपा नगरपालिकाले बनाएको ढल एउटै भएका कारण बेलाबेलामा रगत आई जनताको स्वास्थ्यमा गम्भीर असर पारेको उनीहरूको आरोप छ । बनेपा नगरपालिकाको हलमा सेवाग्राहीले धारामा रगतजस्तै पानी आएको स–प्रमाण देखाएपछि बनेपा नगरका मेयर लक्ष्मीनरसिंह वादे श्रेष्ठ अलमलमा परे । उनले तत्कालै समस्या समाधान हुने बताए पनि स्थानीयले विश्वास गरेका छैनन् । “धेरै पटक उजुरी गरिसक्यौं मेयरले केही गर्नु भएन, मिडिया सामु भएर होला समस्या समाधान गर्छु त भन्नुभयो तर हामीलाई विश्वास छैन,” स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्