उग्रतारामा देहिजाँत मेला

डडेल्धुरा – हरेक वर्षझै यस वर्ष पनि सुदूरपश्चिममा मेलाको रौनक छाएको छ । डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा मंगलबार भव्य मेला देहिजाँत सम्पन्न भएको छ । स्थानीय भाषामा ‘देहिजाँत’ भनिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा भव्यताका साथ मेला लाग्छ ।
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आई दिउसेडी मेला सुरु भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।
उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा–आराधना गर्न आउँछन् ।
उग्रतारा मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका मेलाा हुने आपराधिक क्रियाकलापको नियन्त्रणका लागि मेला अवधिभर जुवातास तथा मदिराजन्य बस्तु बिक्री तथा वितरणमा रोक लगाइएको थियो ।
किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातीका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो । सो रगतलाई आफूले खानाको रूपमा खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कार्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा छ ।
देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरू, इष्टमित्र, साथी संगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्छ । तर भगवतीको गाथाको रूपमा गाइने डेउडा भने खेलिँदैन ।
वर्षमा एक पटक भव्यरूपमा लाग्ने उग्रतारा माताको दर्शन गरे दैवी प्रकोप नहुने, सुख प्राप्त हुने तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु भएको पण्डित भोजराज भट्टले बताए ।
अष्टमीमा समेत पूजाआजा गरिने मन्दिरमा राँगाको वलि दिने प्रचलन छ । उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तसँगको भेटघाट हुने मौकाको रुपमा प्रख्यात छ । हराँउदै गएका अन्नबाली फापर, भिमुर, तिललगातय अदुवा, बेसार, चुक, मह, घ्यु, सन्तरा, मौसमी, केरा लगायत स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग र तरकारीको राम्रो व्यापार हुन्छ ।
स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवद्र्धनका लागि पनि मेला प्रसिद्ध छ । उग्रतारा मेलामा स्थानीयले बाँस र निगालाका सामग्रीसँगै खाद्य वस्तु एवं कृषि औजार, प्याजको बेर्ना बिक्रीवितरण गर्ने गर्दछन् । मेलामा भारतका विभिन्न स्थानका व्यापारीले मिठाइका परिकार बनाइ बिक्री गर्छन् ।
सुन्दर फाँटमा अवस्थित उग्रतारा देवीको दर्शन गर्न भक्तजनले अमरगढी–८ को टाटेसिल्ङबाट उक्लेर जानु पर्दछ । अहिले उग्रतारा मन्दिरसम्म पुग्न अमरगढी–८ को डकले र रातागौनबाट कालोपत्रे सडक पनि निर्माण गरिएको छ । गत वर्ष सरकारले छनोट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा ‘उग्रतारा मन्दिर’ पनि परेको छ ।