आरन व्यवसायले धानेको जीवन

डडेल्धुरा- खेतको बीच भागमा एउटा घाँसले छाएको छाप्रो । त्यही छाप्रो मुनि चल्छ डडेल्धुराको अमरगढी नगरपालिका–३ का राजबहादुर टमटाको दैनिकी । आफ्नो ठाउँमा आफ्नो सीपको सदुपयोग नगरेर हो या कामलाई सानो ठूलो भनेर विभाजन गरेर अचेल सबै जना विदेश नै जाने परिपाटि बढेर गएको छ । तर उनी भने विगत ३४ वर्षदेखि आरन व्यवसायमा डटेर काम गर्दैछन् । आरन व्यवसाय गर्दा आम्दानी पनि लोभै लाग्दो रहेको टमाटाको भनाइ छ ।
नेपालमाआफूमाभएको सिपको सदुपयोग नगर्ने अथवा भएको जागिर पनिछोडेर विदेश हुइँकिनेहरूको तथ्यांक नै छैन । सोचेअनुसारको सेवा सुविधा नहुनु, कम समयमा धेरै पैसा कमाउने लोभ, गरिबी, बेरोजगारी, अशिक्षालगायतका कारणले वैदेशिक रोजगारीमा आकर्षण बढ्दै गइराखेको छ । तर आफ्नै गाउँठाउँमा बसी कतै पनि नगई ग्राहकहरू घरमै आएर सामान खरिद गर्ने गरेकामा उनले खुसी व्यक्त गरे ।
बढ्दो आधुनिक प्रविधिसँगै नयाँनयाँ उपकरण आउँदै गर्दा यो व्यवसायलाई भने कुनै पनि समस्या नआएको उनको भनाइ छ । दैनिक सयौँको संख्यामा सुदूरपश्चिमबाट युवा विदेश पलायन भइरहेका छन् । तर युवाहरू बाकसमा फर्किंदा आफूलाई दुःख लाग्ने गरेको उनको भनाइ छ । दृढ इच्छाशक्तिले काम गरे पैसा र इज्जत स्वदेशमै पाइने उनको सन्देश छ ।
अहिले उनले आवश्यक औजारहरूको अभावमा पनि काम गरिरहेका छन् । अहिले उनले हसिँया, कोदालो, बन्चरो, खुकुरीलगायतका सामग्री निर्माण गरी बिक्री गरिरहेका छन् । विद्युत्, फलाम कुट्ने मेसिनलगायतका सामग्री अभाव रहेको उनले बताए । तर स्थानीय निकायले यसमा ध्यान दिए आफ्नै ठाउँमा पनि काम गरेर लोप हुने संघारमा पुगेका ऐतिहासिक पेसाको जगेर्ना गर्न र रोजगारको विस्तार गर्न सकिने उनले बताए । काम सानो ठूलो हुँदैन, मिहिनेतले मान्छेको क्षमता वृद्धि गर्नुका साथै प्रतिफल पनि राम्रै दिने गर्छ । स्वदेशमा रोजगारीको सम्भावना नदेखेर विदेश हुइँकिने युवाका लागि उनको यो परिश्रम प्रेरणा बन्न सकोस् ।