Logo

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तिका लागि समिति गठन

सरकारले धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा गठन गरिएको समितिमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन् ।
बोर्ड अध्यक्षका लागि योजना आयोगको पुँजी बजार तथा वित्तीय क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र बजार विज्ञ सहितको समिति गठन हुने कानुनी प्रवधान अनुसार समिति गठन गरिएको हो । बोर्ड अध्यक्ष हुनका लागि कम्तीमा स्नातकोत्तर तहको उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था धितोपत्र ऐनमा रहेको छ ।
खाली रहेको कार्यकारी अध्यक्षको पद खुला प्रतिस्पर्धाबाट पूर्ति गरिने छ । नेपाल धितोपत्र बोर्डमा अध्यक्षको पद खाली भएसँगै आधा दर्जन आकांक्षीहरूले राजनीतिक जोड घटाउ सुरु गरेका छन् । डा.रेवतबहादुर कार्कीको असोज मसान्तबाट ४ वर्षे कार्यकाल असोज मसान्तमा पदावधि सकिएको थियो ।
समिति गठन भएसँगै अध्यक्ष पदका आकांक्षीहरुको आवेदन माग गरिने भएको छ । उक्त समितिले दाबेदारहरुबाट कम्तीमा ३ जनाको नाम सिफारिस गर्नेछ । ती ३ जना मध्येबाट मन्त्रिपरिषद्ले बोर्डको अध्यक्ष नियुक्ति गर्नेछ ।
यसअघि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भिष्मराज ढुंगाना बोर्डमा विज्ञ संचालकको रुपमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्