Logo

सार्कको पुनरुत्थान र बिमस्टेक

अप्रिल, सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि यता नेपाल र जनगणतन्त्र बंगलादेशबीच उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेको छ । दुई देशबीचको सम्बन्ध सौहार्द सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित छ ।

हालै तेस्रो नेपाल–बंगलादेश परराष्ट्र सचिवस्तरीय संयुक्त परामर्श बैठकमा दुई पक्षीय सहकार्यमा सन्तुष्टि रहेको तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) लाई पुनरुत्थानमा जोड दिने सहमति भएको छ । यस विशेष अवसरमा सार्क नेताहरूले संगठनको सान्दर्भिकताका लागि एक–अर्कासँग अन्तरक्रिया गर्नुपर्छ भन्ने कुरा भएको देखिन्छ । सदस्यहरूबीचको मतभेदलाई पन्छाएर पनि सार्कलाई पुनर्जीवित गर्नु आवश्यक छ । साझा चासोका क्षेत्र खोज्न आवश्यक छ । संयुक्त परामर्श बैठकमा दुवै परराष्ट्र सचिव नेपालकी सेवा लम्साल र बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले आ–आफ्नो पक्षबाट बैठकको नेतृत्व गरेको कुरा सार्वजनिक भएका छन् ।

बैठकपछि परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षको समीक्षा गरियो । दुई सचिवबीचमा आपसी हितका सबै प्रमुख विषयमा छलफल भएको र विशेष गरी व्यापार तथा वाणिज्य, पारवहन तथा कनेक्टिभिटी, ऊर्जा र विद्युत क्षेत्र, पर्यटन, संस्कृति र शिक्षालगायत सबै क्षेत्रलाई सामेल गरेर सहयोग प्रवद्र्धन गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

लम्साल र मोमेनले व्यापार र कनेक्टिभिटी विस्तार गरेर मात्र नभई जनस्तरमा सम्पर्क प्रवद्र्धन गर्ने थप अवसर सिर्जना गरेर व्यक्तिगत देशको अर्थतन्त्रमा योगदान पुर्याउन बीबीआईएन मोटर भेइकल सम्झौता फ्रेमवर्कको परिचालनमा जोड पनि दिएका छन् । बंगलादेशमा निकासी हुने नेपाली उत्पादनमा लगाइने विद्यमान अन्य भन्सार र अन्य शुल्क शुल्क हटाउन पनि बंगलादेश सरकारलाई नेपालले आग्रह गरेको छ ।

बंगलादेशका विदेश सचिव मोमेनले बंगलादेश–भारत–नेपालबीचको त्रिपक्षीय ऊर्जा सम्झौता छिट्टै टुंगोमा पुग्ने कुरामा जोड दिएकाले नेपाल उत्साहित हुनुपर्छ । उक्त सम्झौता टुंगिएसँगै बंगलादेशलाई नेपालबाट विद्युत् आयात गर्न मद्दत गर्ने देखिन्छ । नेपाल र बंगलादेशबीचमा विद्युत आयात र निर्यात गर्ने सहमति भए पनि भारतसँग त्रिपक्षीय सम्झौता हुन भने अझै बाँकी रहेको देखिन्छ ।

सार्कः पुनरुत्थान
सन् २०१४ मा नेपालमा भएको १८ औं सार्क शिखर सम्मेलनपछि पाकिस्तानमा हुनुपर्ने १९ औं शिखर सम्मेलन अघि बढ्न सकेको छैन । दुवै परराष्ट्र सचिवले सार्कको पुनरुत्थानमा जोड दिएका छन् । साथै, उनीहरूले बिमस्टेकलाई सक्रिय बनाउन पनि जोड दिएका छन् ।

नेपाल–बंगलादेशको द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत व्यापार, पर्यटन र लगानी प्रवद्र्धनका लागि महत्वपूर्ण र छुट्टै भूमिका खेल्ने महसुस गर्न सकिन्छ । हामी विश्वास गर्छौं कि हालसालै नेपाल र बंगलादेशले एलडीसीको वर्गमा भएको समान समस्या छन् र बंगलादेश हालै विकासशील देशको स्थितिमा स्तरोन्नति भई स्नातक भएको छ । त्यसो भएकाले दुवै देशले सामूहिक रूपमा आमजनता र हाम्रो देशको आवश्यकतालाई सम्बोधन गर्नका लागि व्यापार र अन्य आर्थिक उपकरणको उपयोग गर्न एक–अर्काबाट सिकेर साझा समस्या समाधान गर्न सक्छन् ।

नेपाल र बंगलादेश दुवै डब्लूटीओ, बिमस्टेक र सार्कको सदस्य देश भएकाले यस प्रकारको अन्तर्राष्ट्रिय र क्षेत्रीय फोरमको उपयोग क्षेत्रीय र द्विपक्षीय व्यापारलाई वृद्धि गर्न र लगानीका अवसर सिर्जना गर्न सक्नेछ । साथै, मोटर भेइकल सम्झौताको सफल कार्यान्वयन जरुरी छ । सार्क मन्त्रीहरूको काउन्सिलमा यसअघिका बैठकले काठमाडौंलाई बंगलादेशमार्फत भारतको चटगाउँसँग जोडेर अन्य परियोजना कार्यान्वयन गर्ने निर्णय गरेको थियो । नेपाल आशा एवं विश्वास गर्छ कि यस्तो अन्तर्राष्ट्रिय यातायात कनेक्टिभिटी परियोजनाले क्षेत्रीय एकता र गठबन्धनलाई अझ सुदृढ बनाउनेछ ।

नेपाल र बंगलादेश छिमेकी भए पनि दुई देशबीचको व्यापार र आर्थिक सम्बन्ध नगण्य छ । समानता र पारस्परिक लाभका आधारमा व्यापार र आर्थिक सहयोगलाई बढावा दिनका लागि सचेत भए पनि हामी हाम्रो द्विपक्षीय व्यापार विस्तार गर्न सक्षम भएका छैनौं ।

त्यसो भएकाले हाम्रो व्यापारको मात्रा र आर्थिक सम्बन्ध वृद्धि गर्न हामीले एक प्रभावकारी र संयुक्त कार्यक्रम सुरु गर्नुपर्छ । नेपालले बंगलादेशी व्यापार मेलाहरूमा भाग लिइरहेको छ । त्यस्तै बंगलादेशले काठमाडौंमा एकल देश व्यापार मेला आयोजना गरिरहेको छ । देशको आर्थिक स्थिति सन्तोषजनक नभएको बेला यो वास्तवमै महत्वपूर्ण छ । यसले बंगलादेशी उत्पादनलाई मात्र बढावा दिँदैन, नेपाली उद्यमीलाई बंगलादेशी समकक्षसँग संयुक्त लगानीको सम्भावित क्षेत्रहरू पत्ता लगाउन मद्दत गर्छ ।

हाम्रो आर्थिक विकासको साझा हितलाई पूरा गर्न नेपाल र बंगलादेशले विद्यमान समस्यालाई विचार गर्दै काँकडभिट्टा–फूलबारी बंगलाबन्द मार्गलाई प्रभावकारी उपयोगमा ल्याउनुपर्छ र यसलाई मोंगला बन्दरगाहसम्म विस्तार गर्नुपर्छ । मोंगला पोर्ट जोड्ने बंगलाबन्ध सडकको पूर्ण उपयोगले हाम्रो दुई देशबीच तेस्रो देश व्यापारको मात्रा मात्र बढाउँदैन, यसले नेपाल र बंगलादेशबीचको द्विपक्षीय व्यापारमा नयाँ आयाम पनि विकास गर्छ ।

नेपालले अत्यधिक साहसिक पर्यटन, रमाइलो पर्यटनको सम्भावना रहेको चित्रित गर्छ । सीमावर्ती पर्यटकलाई प्रोत्साहित गर्न भद्रपुर, नेपालको पूर्वी भागबाट बंगलादेशको उडान पनि नियमित र प्रभावकारी हुनुपर्छ । दुवै देशले कार्गो यातायात मोडालिटी सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरिसकेकाले दुवै मुलुकका सबै प्रकारका सार्वजनिक र निजी सवारी साधन नेपाल र बंगलादेशबाट आउने–जाने आशा गर्न सकिन्छ । नेपाली कृषि उत्पादन बंगलादेशमा निर्यात गर्ने ठूलो अवसर छ । जस्तै— दुग्ध उत्पादन, मसला, सागसब्जीलगायत टमाटर, हरियो मटर, काकडी, मिठो मिर्च, अदुवा, ठूलो अलैंची, स्याउ, सुन्तला, नासपाती, स्ट्रबेरी, दालहरू आंशिक रूपमा मसुर इत्यादि । तर, यी उत्पादनमा प्रतिस्पर्धी हुन बंगलादेशले द्विपक्षीय व्यापारको सन्दर्भमा नेपालबाट आयात गर्न प्रोत्साहन गर्नुपर्छ ।

नेपालले बंगलादेशमा ढुंगा, बोल्डर र चिसो पानीको माछाजस्ता उत्पादन पनि निकासी गर्न सक्छ, किनभने बंगलादेश यी नेपाली उत्पादनका लागि मुख्य बजार बन्न सक्ने प्रचुर सम्भावना रहेका छन् । नेपालमा हुने लगानीको सम्बन्धमा बंगलादेशको वैदेशिक लगानी वित्तीय क्षेत्र, सूचना प्रविधि, पर्यटन आदिको क्षेत्रमा हुन सक्ने प्रबल सम्भावना रहेको देखिन्छ ।

नेपालको निजी क्षेत्र दुई देशबीचको आर्थिक सम्बन्ध र व्यापारको तीव्रताका लागि जनता–जनताबीचको सम्पर्कमा विश्वास गर्छ । नेपाली र बंगलादेशी जनताबीच नियमित सम्पर्कलाई सहज बनाउन निजी क्षेत्रको स्तरमा भ्रमण र सूचना साटासाट गर्नु आवश्यक छ र दुवै देशमा आयोजना गरिएको मेला-प्रदर्शनीहरूमा पनि सहभागिता बढाउनु आवश्यक छ ।
नेपालले बंगलादेशको लघुऋणको अवधारणाको सफल प्रयोगबाट पाठ सिक्नुपर्छ । हामीले डा. मोहम्मद युनुसले यस सम्बन्धमा गरेको अथक प्रयासका लागि धन्यवाद दिनुपर्छ । यस सम्बन्धमा केही वर्षअगाडी आयोजना गरेको एक कार्यक्रममा नेपालमा प्रो. युनुसले अत्यन्त उल्लेखनीय भाषण दिएका थिए, जुन हामीलाई द्विपक्षीय सम्बन्धमा अत्यन्त महत्वका साथ याद गरिरहेको छ ।

दुई देशबीचको व्यापारिक सम्बन्ध सुदृढीकरण गर्ने अर्को सम्भावना बंगलादेशदेखि नेपालसम्म ग्यास पाइपलाइन निर्माण हो । बंगलादेशमा प्राप्त पर्याप्त ग्यासले नेपालको ग्यास समस्यालाई मात्र कम गर्दैन, यसले छिमेकी बंगलादेशलाई समृद्ध बनाउन पनि मद्दत पुर्याउँछ । विश्वले धेरै नै ठूलो उतारचढाव सामना गरिरहेको हुनाले एक–अर्काको सजिलो पहुँचमा रहेका हाम्रा मित्रराष्ट्रहरूले व्यापारको नाफालाई सहज रूपमा चलाउन पाउनुपर्छ ।

नेपाल र बंगलादेश वाणिज्य सचिवस्तरीय वार्ता दुई देशबीच व्यापारको मात्रा विस्तार गर्नका लागि टेक्निकल बाधक (टीबीटी) हटाउने समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरी सम्पन्न भएका छन् । अब, दुवै पक्षले गुणस्तरीय प्रमाणीकरण प्रक्रिया र एक–अर्काका देशमा उत्पादनको गुणस्तरसम्बन्धी मुद्दालाई सम्बोधन गर्न ल्याब अपरेसनहरू अवलोकन गर्नेछन्, किनकि सहमति पत्रले आउँदो दिनमा क्वारेन्टाइनसम्बन्धी अवरोध हटाउन एक–अर्काको प्रयोगशाला प्रमाणीकरणको मान्यताका लागि आपसी मान्यता सम्झौतामा हस्ताक्षर गर्ने मार्गसमेत प्रशस्त गरेको छ ।

नेपाल र बंगलादेशले सम्बन्धित देशहरूमा प्राथमिक बजार पहुँच पुर्याउने उत्पादनको सूचीलाई अन्तिम रूप दिइसकेका छन् । नेपालले ५ सय बंगलादेशी सामानका लागि प्राथमिक बजार पहुँच प्रदान गर्न सहमति जनाएको छ भने बंगलादेशले १ सय ८ नेपाली सामानलाई यस्तै उपचार प्रदान गर्न सहमति जनाएको छ । बजार पहुँचका लागि सामानको सूची पहिले नै तयार भइसकेको छ र कार्यान्वयन मोडालिटी प्रभावकारी रूपले लागू हुनु जरुरी छ ।

बंगलादेश सरकारले बंगलादेशको मोंगला पोर्ट जोड्ने जमुना पुलको अवस्था सुधार गर्नेछ । भारत सरकार फुलबारी–बंगलाबन्द करिडोरमा सवारी साधनको आवागमनमा सहमति जनाएपछि दुवै देश भविष्यमा व्यापारको मात्रा विस्तार गर्दै भूमि भन्सार सुविधामा सुधार गर्न सहमत भई तदनुसार कार्यभित्र रहेको छ ।

फेरि दुवै देश सिंहाबाद (भारत)–रोहनपुर (बंगलादेश) रेल यातायात सुविधा (भारतले प्रदान गरेको) सञ्चालनमा ल्याउन सहमत भएका छन् । रोहनपुर–सिंहाबाद ट्रान्जिटबाहेक नेपालले बंगलादेशलाई राधिकापुर (भारत)–बिरोल (बंगलादेश) रेल लाइनलाई ब्रड गेजमा रूपान्तरण गर्न आग्रह गरेको छ । यसको जवाफमा बंगलादेशले ब्राँडगेज रेलवे लाइनलाई रूपान्तरण गर्ने कार्यलाई तीव्र पारिएको जानकारी दिएको देखिन्छ ।

यसका अतिरिक्त दुवै देश एक–अर्काको पर्यटन प्रवद्र्धनका लागि स्थलमार्गका माध्यमबाट यात्रा गरिरहेका पर्यटकका लागि भिसा र आप्रवास प्रक्रिया सरल बनाउन सहमत भएको देखिन्छ । दुवै देश एक–अर्का देशको व्यापार मेलामा भाग लिन पनि सहमत भई मेला तथा प्रदर्शनीमा समेत सहभागिता जनाउँदै आएका छन् । काठमाडौं–ढाका बस सेवा पनि वार्ताको एजेन्डामा समाहित भएको थियो । यद्यपि यो पहिले नै बीबीआईएन (बंगलादेश–भुटान–भारत–नेपाल) मोटर सवारी सम्झौताको अन्तर्गत छलफल भइरहेको छ ।

यसबाहेक तरकारी र जडीबुटी बंगलादेशमा निर्यात हुने अन्य वस्तु हुन् । तरकारी र फलफूलको माग बढ्दै जाँदा नेपालले त्यस्ता उत्पादनमा ध्यान दिन जरुरी छ । बंगलादेशले प्रत्येक वर्ष नेपालमा निर्यात वस्तु बढाउँदै आएको छ, तर नेपालले त्यसो गर्न सकेको छैन । बंगलादेशले २० भन्दा बढी उत्पादन औषधि, सौर्य, कच्चा जुट, जाम, पाउडर दूध, आलुलगायत नेपालमा निर्यात गर्छ ।

हाइड्रोपावरमा सहयोग
बंगलादेश संयुक्त लगानीका आधारमा नेपालको पूर्वी भागमा जलविद्युत परियोजनाहरू विकास गर्न उत्सुक छ । बंगलादेशका प्रधानमन्त्रीले भने कि नेपालको विशाल जलविद्युत सम्भावनालाई यस क्षेत्रका देशहरूको आपसी हितका लागि उपयोग गर्न सकिन्छ । बंगलादेशका परराष्ट्र मन्त्रीले बंगलादेशको सट्टा कोसी उच्च बाँध परियोजनाबाट १ हजार मेगावाट बिजुली आयात गर्न उनीहरूको लगातार बढ्दो विद्युत् माग पूरा गर्न चाहेको बंगलादेशको चाहना दोहोर्याएका थिए ।

यो बैठकले जलविद्युत् क्षेत्रमा थप सहयोगका लागि दुई देशको जलविद्युतको विकास, स्थिति र मागलाई बुझ्न सहयोग पुर्यायो । बंगलादेशले भारत, भुटान र नेपाललगायत प्रत्येक देशबाट संयुक्त कार्य समूह (जेडब्लूजी) गठन गर्ने प्रस्ताव र कार्यान्वयनतर्फ कार्य गरेको छ, जलविद्युतमा संयुक्त उद्यमको सम्भाव्यतालाई छुट्याउन र आपसी फाइदाका लागि यस क्षेत्रको जलस्रोतको अन्वेषण गर्नसमेत यो आवश्यक र अनिवार्य हुने अपेक्षा गर्न सकिन्छ ।

एयर सेवा सम्झौता
बंगलादेशको राज्यको स्वामित्ववाला विमान बंगलादेश एयरलाइन्स र जीएमजी–बंगलादेशको निजी एयरलाइन्स काठमाडौं र ढाका क्षेत्रमा आफ्नो सेवा विस्तार गर्नका लागि तोकिएका थिए । लामो समयदेखिको गतिरोधका बीचमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संठन (सार्क) ले आफ्नो ३९ औँ वार्षिकोत्सवका अवसरमा सदस्य राष्ट्रका सरकार प्रमुखहरूसँग संगठनलाई सुदृढ गर्ने र आफ्ना बडापत्रका उद्देश्य पूरा गर्न मिलेर काम गर्ने प्रतिबद्धता प्रकट गरेको छ । तर, सन् २०१४ मा काठमाडौंमा आयोजना भएको १८ औँ शिखर सम्मेलनदेखि नै शिखर बैठक बस्न नसकेको क्षेत्रीय संघलाई हौसला दिन परिस्थितिको यथार्थपरक मूल्यांकन गर्नुभन्दा पनि यस अवसरमा उनीहरूले पठाएका सन्देशहरू बढी वाक्प्रचारपूर्ण देखिन्छन् ।

समान संस्कृति, इतिहास र भूगोलले बाँधिएको सार्क सदस्य राष्ट्रहरूले आफ्नो बडापत्रमा क्षेत्रीय शान्ति, स्थायित्व, सौहार्दता र प्रगतिको प्रतिज्ञा गर्नुपर्नेछ । सार्क क्षेत्रमा विश्वको जनसंख्याको २२ प्रतिशत जनसंख्या छ र हिमालयमा ताजा पानीको सबैभन्दा ठूलो भण्डार छ । तर, आर्थिक एकीकरण, व्यापार, पर्यटन, जनताबीचको सम्बन्ध विस्तार र अन्ततः समृद्धिका लागि यसलाई प्रयोग गर्न सकेको छैन । आठ वर्षको हाइबरनेसनपछि, यो रोकिएको सार्क प्रक्रियालाई सुधार गर्ने समय हो । अन्य क्षेत्रीय संगठनहरूले उल्लेखनीय उपलब्धि हासिल गरेका छन्, त्यसैले सार्क आफ्नो दृष्टिकोणलाई वास्तविकतामा परिणत गर्न पछि पर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्