पानी लिफ्ट गरी डुंगा सञ्चालन «

पानी लिफ्ट गरी डुंगा सञ्चालन

पानी लिफ्ट गरी डुंगा सञ्चालनपानी लिफ्ट गरी डुंगा सञ्चालनअमृत अधिकारी पाल्पा, ६ फागुनपछिल्लो समय खानेपानी लिफ्टिङ प्रविधि सफल हुँदै गएको देखिन्छ । तर, पाल्पाको रामपुरमा भने कालिगण्डकीको पानी लिफ्ट गरी ताल बनाएर डुंगा नै सञ्चालनमा ल्याइएको छ ।

 रामपुरमा पर्यटन प्रवद्र्धन गर्न लिफ्ट प्रविधिको प्रयोग गरी पानी ल्याइएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै ताल निर्माण गरिएको छ । पोखराको फेवाताल जस्तै तालको बीचमा मन्दिर बनाइएको छ । मन्दिरमा पुग्न डुंगाको प्रयोग गर्नुपर्छ । मिनी फेवातालको नामले स्थानीयले प्रचार गर्र्दै फेवातालको स्वरूपमा निर्मित कृत्रिम तालमा अहिले कालिगण्डकीको पानी ल्याएर डुंगा सञ्चालनमा ल्याइएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको तालपोखरी संरक्षण समितिका सचिव सुनील देवकोटाले बताए । 

सुरुमा स्थानीय कुलो, नहरको पानीबाट यहाँ दुईवटा डुंगा सञ्चालन गरिएको थियो । डुंगा सयर गर्ने र तालको बीचमा रहेको जलेश्वर महादेवको मन्दिरमा पूजाआजा गर्ने आन्तरिक पर्यटकको बाक्लो उपस्थितिले गर्दा पानी अभाव भएपछि कालिगण्डकी नदीबाट पानी लिफ्ट गरी नियमित डुंगा सञ्चालन गर्न थालिएको तालपोखरा संरक्षण समितिका सचिव देवकोटाले बताए । 

मन्दिर व्यवस्थापन समितिले दुई लाख १७ हजार लागतमा तालपोखरानजिकै रहेको कालिगण्डकीको पानी यस तालमा ल्याउन सफल भएको समितिले जनाएको छ  । सुरुमा हामीले जिल्लामा नयाँ काम गरौं भन्ने सोचले ताल बनाएका थियौं अहिले आन्तरिक पर्यटकको भीड नै लाग्न थालेपछि  कुलो, नहरको पानीले नपुगेर लिफ्टबाटै पानी ल्याइएको समितिका अध्यक्ष भरतराज देवकोटाले बताए । 

अहिले यहाँ रहेको मन्दिर दर्शन तथा तालमा ढुंगा खेल्नका लागि दैनिक सयौंको संख्यामा स्थानीय आउने गरेका छन् । स्थानीय बासिन्दाको सक्रियता तथा रामपुर नगरपालिकाको सहयोगमा वर्षात्को पानी जम्मा हुने पोखरीलाई विकसित गरी अहिले फेवातालको झल्को स्वरूपको कृत्रिम ताल बनाएपछि घुँइचो लाग्न थालेको अध्यक्ष भरतराज देवकोटा बताउँछन् । हाल तालमा दैनिक दुई सयभन्दा बढीले डुंगा सयर गर्ने गरेको देवकोटाले बताए ।

 “तालपोखरा क्षेत्रलाई यहाँका केही स्थानीय युवाले पर्यटकीय क्षेत्रका रूपमा परिकल्पना गरी यसको विकास गर्दै जाँदा अहिले यो क्षेत्र पाल्पाकै पर्यटकीय गन्तव्यस्थल बन्न पुगेको छ,” रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले भने, “जसले आन्तरकि तथा बाह्य पर्यटन अभिवृद्धिमा सहयोग पुगेको छ ।” समितिले तालपोखरामा घुम्न आउने र डुंगा सयरका लागि २५ रुपैयाँ लिने गरेको छ । 

अमृत अधिकारी 

प्रतिक्रिया दिनुहोस्