Logo

कागजमै सीमित स्वास्थ्य बीमा

बाजुरा– बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षदेखि कागजमा मात्र स्वास्थ्य बीमा रहेको पाइएको छ । जिल्लाको पूर्वीउत्तर क्षेत्रका चारवटा स्थानीय तहका नागरिकलाई लच्छित गरी स्वास्थ्य बीमा कार्यक्रम कोल्टीमा लागू भएको थियो । स्वास्थ्य बीमा बोर्डको वेबसाइटमा २०७६ जेठ १ गतबाटे कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट सुरु भएको रेकर्ड छ ।

कागजी रूपमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम चार वर्ष बढी भएको देखिए पनि प्राथमिक स्वास्थ्य केन्द्रमा हालसम्म पनि लागू नहुँदा त्यस क्षेत्रका नागरिक स्वास्थ्य बीमा सेवाबाट वन्चित छन् । २०७४ साल चैत २५ गतेबाट बाजुरामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो । बाजुरा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएसँगै ३४ हजार ८३१ जना आबद्ध भएका छन् । अतिगरिव, विपन्न आय भएका र अन्यका लागि सञ्चालन गरिएको स्वास्थ्य बीमाको पहुँचमा नागरिक पुग्न सकेका छैनन् ।

स्वास्थ्य बीमा सञ्चालन भएको बेला पाँच जनालाई दुई हजार पाँच सयको बीमा गरेमा ५० हजार बराबरको अस्पतालबाट निःशुल्क सेवा पाइने गरेको भए पनि अहिले पाँच जनालाई तीन हजार पाँच सय रकमको बीमा गरेकालाई एक लाख बराबरको स्वास्थ्य उपचार निःशुल्क हुने गरेको बीमा प्रमुख रोकायाले बताइन् । स्वास्थ्य बीमा ऐन २०७४ र राष्ट्रिय स्वास्थ्य नीति २०७६ अनुसार बीमा बोर्डले २०७६ जेठ १ गते कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दुका रूपमा राखेर जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो ।

बाजुराका पाँच स्थानीय तहका लागि सदरमुकाम मार्तडीमा रहेको अस्पताल तथा र पूर्वोत्तर क्षेत्रका चार स्थानीय तहका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दु भनिएको छ । स्वास्थ्य बीमा गरेपछि अस्पतालमा बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, शल्यक्रिया र सूचिकृत औषधि निःशुल्क पाउने व्यवस्था छ । घातक रोगको उपचारमा सजिलो हुने ठानेर यहाँका अधिकांश नागरिक बीमा कार्यक्रममा सहभागी पनि भए ।

तिनैमध्येका एक हुन् बुढीनन्दा नगरपालिका–१ का गंगाराम लुहार । गाउँमै स्वास्थ्य बीमा गर्न आएका बीमाका कर्मचारीबाट तीन वर्ष पहिले स्वास्थ्य बीमा गराएका लुहारले कुनै सुविधा पाउन सकेनन् । लाभ नपाए पछि उनले दोस्रो पटक बीमा नवीकरण पनि गरेनन् । गंगाराम अति गरिबको सूचीमा सूचिकृत परिवारका सदस्य हुन् । अति गरिब परिवारका सदस्यलाई स्वास्थ्य बीमाको शुल्क लाग्दैन । मृगौला पीडित गंगारामले दुःखाइ कम गर्ने औषधिसमेत किनेर खानुपरेको छ ।

कोल्टीबाट सदरमुकाम मार्तडी पुग्न एक दिन लाग्छ । बल्लतल्ल पुगे पनि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बीमा कार्डबाट सेवा नपाएको उनको गुनासो छ । बिमा कार्यक्रम लागू हुँदा कार्यक्रममा सहभागी पाँचजना सदस्य भएको परिवारले वर्षमा बढीमा एक लाख रुपैयाँ बराबरको उपचार निःशुल्क पाउने भनिएको थियो । तर, अहिलेसम्म सम्पूर्ण उपचारको खर्च आफैंले बेहोर्नु परिरहेको बुढीनन्दा नगरपालिका हलिया अगुवा मनबीर साकी बताउँछन् ।

स्वास्थ्य बीमा बाजुरा संयोजक तारा रोकायाका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी सञ्चालन नहुँदा बीमितकर्ताले सेवा नपाएको बताइन् । स्वास्थ्य संस्थामा आफ्नै फार्मेसी हुनुपर्ने निःशुल्क दिनुपर्ने औषधि हुनुपर्ने हुन्छ कोल्टीमा लागू नभएको रोकायाले बताइन् । त्यस क्षेत्रका बुढीनन्दा नगरपालिका, जगन्नाथ, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिका १८ हजार ६८० जनाले स्वास्थ्य बीमा गरेको तथ्यांक छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बीमा लागू नभएपछि बीमा भरेका नागरिकले नवीकरण नगर्ने गरेको संख्या बढ्दो छ ।

औषधि सबै मेडिकलबाट किन्नु र रिफरका लागि मात्र नवीकरण गर्नुभन्दा नवीकरण नै नगर्ने बीमितकर्ताको भनाइ छ । स्वास्थ्य बीमाका लागि पैसा बुझाउनु नपर्ने भए पनि अन्यको हकमा पाँचजना सदस्य भएको परिवारले ३५ सय बुझाएका छन् । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारका हकमा थप एक ब्यक्ति बराबर सात सय रुपैयाँ अतिरिक्त बुझाउनु पर्छ । यसो गरेपछि प्रतिव्यक्ति २० हजारसम्मको निःशुल्क उपचार हुने, सेवा पाउँदा पाँच परिवार भएमा एक लाख, पाँच जनाभन्दा बढी भएमा प्रतिव्यक्ति थप २० हजारका दरले सेवा पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्