भन्सार नाकामा एक्सरे मेसिनसहित यात्रु शाखा सञ्चालन

नेपालगञ्ज भन्सार कार्यालयले सीमानाका जमुनाहमा शुक्रबारदेखि यात्रु शाखा सञ्चालनमा ल्याएको छ । पछिल्लो समय तस्करी बढदै गएको भन्दै भारतबाट आउने यात्रुहरूको सामान जाँचका लागि अत्याधुनिक एक्सरे मेसिनसहितको यात्रु शाखा सञ्चालनमा आएको हो ।
दशगजानजिक रहेको जमुनाहामा एक्सरेसहित यात्रु शाखा सञ्चालनमा आएपछि अब भारतबाट सामान लिएर आउने सबैले अनिवार्य जाँचपास गर्नुपर्ने भएको छ । यसअघि यात्रु शाखा जयसपुरमा हुँदा सामान लिएर नाका पार भइसकेका यात्रुहरू विभिन्न बाटोबाट छिर्ने समस्या थियो । दशगजामै यात्रु शाखा राखिएपछि अब कोही पनि करको दायराबाट भाग्न नसक्ने भन्सार कार्यालयले जनाएको छ ।
भन्सार विभागले नेपालगञ्ज भन्सार कार्यालयलाई यसवर्ष राजस्व संकलनको लक्ष्यसमेत बढाएको छ । गत आर्थिक वर्षमा १२ अर्ब लक्ष्य रहेकोमा चालू आवमा १५ अर्ब पु-याएको थियो । हालकै अवस्थावाट लक्ष्य पूरा गर्न निकै चुनौती रहेको भन्दै चिन्ता बढिरहेका बेला दशगजानजिकै सामग्री जाँच गर्ने मेसिनसहित यात्रु शाखा सञ्चालनमा ल्याएपछि अब भने राजस्व असुलीको लक्ष्य पूरा हुने आशा पलाएको भन्सार कार्यालय नेपालगञ्जको भनाइ छ ।
यात्रुशाखामा एउटा वाक थ्रु गेट छ भने अर्को लगेज जाँच्ने एक्सरे मेसिन जडान गरिएको छ । वाक थ्रु गेटवाट व्यक्ति प्रवेश गरेपछि गैरकानुनी रूपमा शरीरमा लुकाएर ल्याएको हातहतियार तथा धातुजन्य वस्तुहरू पहिचान हुनेछ भने सामग्री जाँच गर्ने एक्सरे मेसिनले यात्रुका झोला तथा सामग्री जाँच गरेर भन्सार तिर्नुपर्ने सामग्रीको भन्सार तिराउने र गैरकानुनी सामग्री त्यहीबाँट नियन्त्रणमा लिन सकिने नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
करिब दुई वर्ष अघि ती एक्सरे मेसिन ल्याइएको भए पनि विभिन्न कारण देखाउँदै जडान हुन नसक्दा गोदाममै थन्किएका थिए । जसका कारण साइकल, मोटरसाइकल, अटोरिक्सा लगायतबाट तस्करी बढ्नुका साथै गैरकानुनी सामान आयात हुँदा सुरक्षा चुनौतीसमेत थपिएको थियो ।
शुक्रबारदेखि दशगजानजिकै यात्रु शाखा सञ्चालनमा ल्याइएपछि जाँचपास गर्नेहरूको संख्या दोब्बरले बढेको बताइएको छ । भारतबाट आउने हरेक व्यक्ति शाखा भएरमात्रै निस्किन पाउँने हुँदा जाँचपास बिना निस्किन नसकिने भएको छ । यसअघि ठूलो परिमाणमा सामान जाँचपास विनै आयात हुने गरेकोमा अब त्यहाँबाट सय रुपैयाँदेखि माथिको सामानको राजस्व तिर्नुपर्ने भएको छ । ५ हजारभन्दा बढीको सामानको जाँचपास भने नेपालगञ्ज भन्सार कार्यालयबाटै हुने भन्सार कार्यालयको भनाइ छ ।
शाखाबाट भन्सार तिर्नुपर्ने सामग्री आयात गरिएको भए शाखासँगै रहेको भन्सारको टोलिबाट फारम भरी त्यहीं रहेको बैंकको काउन्टरमा जम्मा गरेर तत्काल भन्सार गर्न सकिने व्यवस्था मिलाइएको छ । यसले भन्सार कर्मचारी, सीमा सुरक्षामा खटिएका प्रहरीको बदमासीबाट हुनसक्ने राजस्व चुहावटसमेत नियन्त्रण हुने अपेक्षा गरिएको छ । यात्रुशाखाको केही दिनभित्रै भन्सार विभागले औपचारिक रूपमा उद्घाटन गर्ने तयारी थालेको बताइएको छ ।