प्रशोधित पानीसम्बन्धी मापदण्ड लागू गरिँदै

प्रत्येक नागरिकलाई स्वच्छ र गुणस्तरिय पानी पुराउने उद्देश्यका साथ सरकारले प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी मापदण्ड बनाएको छ । सञ्चालनमा रहेका पानी उद्योगलाई व्यवस्थित गर्दै उपभोक्तालाई स्वच्छ र गुणस्तरीय पानी पुराउने उद्देश्यका साथ सरकारले नयाँ पानी उत्पादनसम्बन्धी मापदण्ड आगामी चैत २६ गतेदेखि कार्यान्वयनमा ल्याउने भएको हो ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले दाङको घोराहीमा गरेको प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ सम्बन्धी अन्तक्र्रियामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले यस्तो जानकारी दिएका हुन् । मानव स्वास्थ्यसँग जोडिएको खानेपानीलाई गुणस्तरिय एव स्वच्छ बनाउन विभागले खानेपानीसम्बन्धी नयाँ मापदण्ड बनाएको उनले बताए । “प्रत्येक उपभोक्तालाई स्वास्थ्यका लागि गुणस्तरिय एवं स्वच्छ खानेपानी आवश्यक छ,” कर्णले भने । स्वच्छ खानेपानीका लागि उद्योगले अब नयाँ मापदण्ड कार्र्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । मापदण्डअनुसार चल्न नसकेका उद्योगलाई चैत २६ गतेसम्मको समय दिएको भन्दै कर्णले त्यो बेलासम्म मापदण्डमा नआउने उद्योगलाई कारबाही गर्ने चेतावनी दिए । त्यस्तै पानी उत्पादन गर्ने उद्योगलाई उपभोक्ताले देख्ने गरी पानी प्याकिङ गरेको मिति, पानीको बिक्री मूल्य, गुण तथा नियन्त्रण विभागको लोगो देखिने गरी राख्नसमेत उनले आग्रह गरे ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले साविक मध्यपश्चिमाचल क्षेत्रमा रहेका पानी उद्योगका सञ्चालकसँग छलफल गरेको छ । छलफलमा सहभागी उद्योग व्यवसायीले सरकारले ल्याएको पानीसम्बन्धी नयाँ मापदण्ड कार्यान्वयन गर्न आफूहरू तयार रहेको बताए ।
पानी उद्योगहरू सरकारको दायरामै रहेर सञ्चालन भएको भन्दै उनीहरूले नयाँ मापदण्डलाई लागू गर्न कुनै समस्या नरहेको बताए । “पानी उद्योग सञ्चालन गरेर हामीले नाफा कमाउने गरेका छैनौं,’ दाङ पानी उद्योग संघका अध्यक्ष नरेन्द्र वलीले भने, “सेवा उद्योगका रुपमा सञ्चालन भएका पानी उद्योगले सरकारले ल्याएको मापदण्ड मान्न कुनै समस्या छैन ।” व्यवसायीहरूले पानी व्यवसायीहरू बीचमै एकरूपता नहुँदा अस्वस्थ प्रतिस्पर्धा गर्नुपरेको र उपभोक्ता मर्कामा पर्ने गरेको भन्दै पानीको मूल्य निर्धारण गर्नसमेत सुझाव दिए ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार मध्यपश्चिम क्षेत्रमा दर्ता भएका ५३ वटा पानी उद्योगमध्ये हाल ५० वटा सञ्चालनमा छन । जसमा बाँकेमा ३१, दाङमा ९, सुर्खेतमा ६, बर्दियामा ४, प्युठानमा २ र जुम्लामा एक वटा पानी उद्योग रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरीक्षक एकराज बुढाथोकीले जानकारी दिए ।