Logo

प्रथम नेशनल हर्टिकल्चर एक्स्पो चैत १६ देखि

काठमाडौं- यही चैत १६ देखि १९ गतेसम्म काठमाडौंमा प्रथम नेशनल हर्टिकल्चर एक्स्पो, २०८० सञ्चालन हुने भएको छ । नर्सरी व्यवसायमा रुचि राख्ने, उद्यमी व्यवसायी तथा जिज्ञासुका साथै अध्ययन अनुसन्धानमा संलग्नलाई लक्षित गरी प्रदर्शनी आयोजना गरिएको आयोजक नर्सरी व्यवसायी संघले जनाएको छ ।

प्रदर्शनीका संयोजक रामजी कुँवरले सो प्रदर्शनीलाई नर्सरी क्षेत्रको एकीकृत महाकुम्भरुपमा लिइएको बताए । प्रदर्शनीमा पुष्प, फलफूल, वन तथा जडीबुटीमा आधारित नर्सरीका व्यावसायिक उत्पादनको वृहत प्रदर्शनी गरिनेछ । उनका अनुसार मेलामा ७४ वटा व्यावसायिक कक्ष गरी कुल ९० कक्ष रहनेछन् । प्रदर्शनी कम्तीमा ५० हजारले अवलोकन र रु एक करोडभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।

संयोजक कुवँरका अनुसार प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रु एक सय र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति रु ५० निर्धारण गरिएको छ । मेलामा व्यवसायीको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई उनीहरुलाई हौसला बढाउन नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । प्रतिस्पर्धीको मूल्यांकनका लागि वनस्पती, माटो र पर्यावरणविज्ञ सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको उनले जानकारी दिए ।

यस्तै उनका अनुसार प्रदर्शनीका अवसरमा लामो समयदेखि निरन्तर नर्सरी व्यवसाय गरी यस क्षेत्रको विकासमा टेवा पुर्‍याउने एक जनालाई ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी’ सम्मान प्रदान गरिनेछ । संघका अनुसार मेलामा बागबानीसम्बन्धी विभिन्न सेवा उपलब्ध गराइने छ । एक्स्पोको प्रवर्द्धनमा पुष्प विकास केन्द्र, वनस्पति विभाग, प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवसाय केन्द्र, कृषि तथा पशुपक्षी विकास मन्त्रालय छन् ।

प्रतिक्रिया दिनुहोस्