लगानी सम्मेलनमा एनआरएनएकाे सहकार्य

काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरएनए)ले ‘लगानी शिखर सम्मेलन २०२४’ मा नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ । संघका अध्यक्ष बद्री केसीसहितको प्रतिनिधिमण्डल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच भएको छलफलमा सो सहकार्य गर्ने निर्णय गरिएको हो ।
छलफलमा गैर आवासीय नेपालीहरूको लगानी नेपालमा भित्र्याउने, लगानी सम्मेलनमा एनआरएनएको सहकार्य र सहभागितामा केन्द्रित थियो । सो अवसरमा अध्यक्ष केसीले लगानी सम्बन्धी यस्ता सम्मेलन वर्षेनी आयोजना गर्न सके विदेशमा रहेका नेपाली र विदेशीको समेत लगानी भित्र्याउन सकिने धारणा व्यक्त गरे ।
एनआरएनए नेपाल डेभलपमेन्ट फन्डमार्फत हाल गैर आवासीय नेपालीको १० अर्बको लगानी नेपालमा भित्र्याउन सक्रिय परियोजनालाई भविष्यमा ५० अर्बसम्म पुर्याउने लक्ष्य संघको रहेकोले लगानीका क्षेत्र पहिचानमा सरकारको सहयोग र परामर्श आवश्यक रहेको केसीको भनाइ थियो । छलफलका क्रममा लगानी बोर्डका प्रमुख भट्टले संसार भरबाट नेपालमा लगानी गर्न सक्षम तथा उत्सुक नेपालीहरू तथा विदेशीहरुसँग समन्वय गरेर लगानी सम्मेलनमा प्रभावकारी सहभागिता जनाउन संघसँग अनुरोध गरे ।
विगतमा एनआरएनएसँग सरकारले महत्वपूर्ण योजना तथा कार्यक्रममा सहकार्य गरेको स्मरण गर्दै लगानी सम्मेलनमा पनि संघको सहभागिता सक्रिय रूरुपमा हुने विश्वास व्यक्त गरे । छलफलमा अध्यक्ष केसीसहित एनआरएनएका प्रमुख कार्यकारी अधिकृत नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई र अधिकृत कुनाल मिश्र पनि सहभागी रहेका थिए ।