Logo

अवैध संरचना हटाउँदै भीमदत्त नगरपालिका

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले मदनचोक क्षेत्रका २२ वटा सटर भत्काउन सुरु गरेको छ । केही दिनअघि पसल खाली गराएपछि आइतबार साँझदेखि सटरहरू भत्काउन सुरु गरेको हो ।

एशियाली विकास बैंंक (एडीबी)को क्षेत्रीय सहरी विकास अयोजनाअन्तर्गत मदनचोक क्षेत्रमा निर्माणाधीन सडकका लागि २२ वटा सटर बाधक देखिएका थिए । उक्त सटरका कारण मदनचोकदेखि होटल ओपेरा रोडसम्म निर्माण कार्य रोकिएको थियो । सटर भत्काउन सोमबार बिहानदेखि दुईवटा डोजर प्रयोग गरिएका छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले सटर भत्काएपछि सडक निर्माणकार्य सुरु गरिने बताए । उनले भने, ‘अहिले सटर भत्काउने कार्य सुरु भएको छ, सटर भत्काएपछि सडक निर्माण कार्यअघि बढ्ने छ ।’ नगरपालिकाले आफूलाई नगर प्रवक्ताको जिम्मेवारी दिएपछि आफूले फागुन पहिलो साताभित्र सटर भत्काउने वाचा गरेअनुसार नै सटर खाली गरी भत्काउने कार्य सुरु गरेको प्रवक्ता अवस्थीले दाबी गरे ।

मदनचोकका व्यवसायीले सटर खाली गरी सडक निर्माण कार्य अघि नबढाउन विरोधका कार्यक्रम गरी नगरपालिकालाई दबाब दिएका थिए । उक्त सडक क्षेत्रमा रोपाइँदेखि नगरप्रमुख पदम बोगटी र नगर उपप्रमुख निलम लेखक जोशीको तस्बिरसहितका ब्यानर सडकमा राखेर प्रदर्शनसमेत गरिएको थियो । पछिल्लो पटक यस व्यंग्यात्मक रूपमा उक्त क्षेत्रको नाम ढुंगे बजारसमेत राखेर स्थानीयले दबाब दिएका थिए ।

नगर विकास समिति सदस्य सुशील भट्टले भीमदत्त नगरपालिकामा तीन वर्षअघि महेन्द्रनगर बजार क्षेत्रमा एडीबीको सडक निर्माण सुरु भएपछि सटर खाली गराउने प्रयास गरिएको बताउँछन् । उनले भने, ‘भीमदत्त नगर विकास समिति मातहतका उक्त सटरमा व्यवसाय गर्दै आएका व्यवसायीले व्यवस्थापनको माग राखेपछि खाली गर्न ढिलाइ भएको हो । भीमदत्त नगर विकास समिति र व्यसवसायीबीच व्यवस्थापन गर्ने सहमतिमा उक्त सटर खाली गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्