शुक्लागण्डकी महोत्सवमा तीन करोडको कारोबार

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सम्पन्न तेस्रो शुक्लागण्डकी महोत्सवमा करिब तीन करोड बराबरको आर्थिक कारोबार भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा १२ दिनसम्म चलेको महोत्सवमा तीन करोड बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।
करिब दुई लाख दर्शकले महोत्सव अवलोकन गरेको महोत्सवका प्रवक्ता एवं संघका वरिष्ठ उपाध्यक्ष सुजित हिराचनले जानकारी दिए । महोत्सव स्थानीय उत्पादन बजारीकरणका लागि सहयोगी भएको विश्वास गरिएको उनको भनाइ छ । उनले भने, ‘हामीले महोत्सवमा व्याच र खादा प्रयोग गरेनौ । त्यसको विकल्पमा समीको पातबाट बनेको माला प्रयोग गर्याैं । यसले गर्दा समीको पातलाई अन्य कार्यक्रममा पनि प्रयोग गर्न सकिने सन्देश गएको छ ।’
शुक्लागण्डकी नगरपालिका–६ ले जनजाति लक्षित कार्यक्रमअन्तर्गत हालै २५ दिने बाँसका हस्तकला सामान बनाउने तालिम लिएका महिलाले समीको पातबाट बनेका माला बनाएका थिए । आयोजकले प्रतिमाला ३० रुपैयाँमा खरिद गरेको थियो । महोत्सवमा सञ्चालित गण्डकी प्रदेश अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाको बिरुवा गाउँपालिकाले जितेको छ । मंगलबार भएको फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिका ३–१ सेटले हराउँदै बिरुवाले उपाधि जितेको हो ।
उपाधिसँगै बिरुवाले नगद दुई लाख प्राप्त गरेको छ । उपविजेता शुक्लागण्डकी नगरपालिकाले एक लाख पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा स्याङ्जाको पुतलीबजार नगरपालिका तेस्रो भयो । पुतलीबजारले स्याङ्जाकै हरिनास गाउँपालिकालाई ३–१ सेटमा पराजित गरेको थियो । तेस्रो भएको पुतलीबजार नगरपालिकाले ५० हजार प्राप्त गरेको छ । यस्तै व्याडमिन्टन प्रतियोगितामा तुलाराम थापा र सफल भुजेलको जोडी प्रथम भएको छ ।
प्रतियोगितामा अमर थापा र दीपक गुरुङको जोडी द्वितीय भयो । विजयीले क्रमश: २० हजार र दश हजार नगद प्राप्त गरेका छन् । कौराहा नृत्य प्रतियोगितामा ऋषिङ गाउँपालिका–१ स्थित काहुँ मिलन युवा क्लब प्रथम, भिमाद मगर संघ द्वितीय र घाँसीकुवा युवा क्लब तृतीय भएको छ । विजयीहरुले क्रमश: २५ हजार, १५ हजार र १० हजार नगद प्राप्त गरेका छन् । गण्डकी प्रदेश तारा गायन प्रतियोगितामा समिर पुन विजेता बनेका छन् । उनले ३० हजार पुरस्कार प्राप्त गरे ।
त्यस्तै अमर आले द्वितीय र सपना विश्वकर्मा तृतीय भएका छन् । उनीहरूले क्रमश: २० हजार र १० हजार नगद प्राप्त गरे । कृषि तथा हस्तकला प्रदर्शनीमा शुक्लागण्डकी–२ स्थानथोकका सुमन थापा मगर प्रथम भएका छन् । उनले प्रदर्शनीमा राखेको १२ किलो ६ सय ग्रामको फर्सी प्रथम भएको हो । भिमादका सित्तलसिं थापाले प्रदर्शनमा राखेका मार्फा साग द्वितीय हुँदा शुक्लागण्डकीका संगीता ढुंगानाले प्रदर्शनमा राखेको चार किलो सात सय ग्रामको बन्दा गोपीले तृतीय पुरस्कार प्राप्त गरेको छ ।
उनीहरुलाई क्रमश: दुई हजार, एक हजार पाँच सय एक हजार नगद पुरस्कार प्रदान गरिएको छ । खुला नृत्य प्रतियोगितामा निशा परियार र सोनिया परियारको जोडी प्रथम र तमन्ना गुरुङ द्वितीय तथा विपना सुनार तृतीय भए । उनीहरूले क्रमश: ३५ हजार, २५ हजार र १० हजार पुरस्कार प्राप्त गरे ।
विद्यालयस्तरीय खुला नृत्य प्रतियोगितामा माउण्ट अन्नपूर्ण खैरेनीटार प्रथम भएको छ । अरनिको बोर्डिङ स्कुल खैरेनीटार द्वितीय, तालवेसी मावि घाँरी तृतीय, गाउँफर्कोदय मावि ढोरफिर्दी र आधारभूत मावि साँखे सान्त्वना भएको छ । विजयीले क्रमश: १२ हजार, आठ हजार, चार हजार र दुई हजार पुरस्कार प्राप्त गरे ।