स्वदेशी गार्मेन्टमा उत्पादित पोशाक किन्न जोड

नेपालगञ्ज– नेपालगन्ज उद्योग वाणिज्य संघले स्वदेशी गार्मेन्ट उद्योगमा उत्पादन भएको पोसाक किन्नुपर्नेमा जोड दिएको छ । संघले बाँकेका विद्यालयका छात्र, छात्रालाई आवश्यक विद्यालय पोशाक स्वदेशमै उपलब्धताको सुनिश्चितता गर्न सरोकारवालासँग छलफल अघि बढाएको हो ।
संघले विद्यालय पोशाक समेत सीमापारीवाट गरिने खरिद कार्यलाई निरुत्साहित गर्नुपर्ने निष्कर्षमा पुगेको हो । बाँकेका अधिकांश निजी विद्यालयले भारतको रुपैडिहाका व्यवसायीसँग सम्झौता गरी अभिभावकलाई पोशाक किन्न पठाउने गरेका छन् । संघले गार्मेन्ट व्यवसायीसँग छलफल कार्यक्रमको आयोजना गरेको हो ।
गार्मेन्ट व्यवसायीहरुले व्यवसाय सञ्चालनमा सीमावर्ती बजारको प्रभाव र बजारिकरणमा देखिएका समस्याबारे छलफल गरेका थिए । गार्मेन्ट उद्योग संघ बाँकेका अध्यक्ष चन्द्र श्रेष्ठले पर्याप्त अर्डर पाएर बिक्री सुनिश्चित भएमा सीमापारीकै दररेटमा आफूहरूले आवश्यक पोशाक उपलब्ध गराउने बताए । ‘बिक्री सुनिश्चितता भएमा राम्रो मूल्यमा उपलब्ध गराउन सकिन्छ’ उनले भने, ‘तर भन्सार छलेर गरिने खरिददारीसँग प्रतिस्पर्धा गर्न भने कठिन छ ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाटले भन्सार कडाई नहुँदा भारतीय बजार सहजै पुग्ने र बिना भन्सार मालसामान भित्रिन पाउँदा नेपाल तर्फको व्यवसाय धराशयी भएको बताए । ‘स्वेदशमै खरिद गरी यहाँको अर्थतन्त्र बलियो बनाउन पहल थालिएको हो’, उनले भने, ‘स्वदेशकै व्यवसायीबाट उपलब्ध हुन सक्ने मालसामानका लागि सीमावर्ती बजार पुग्न निरुत्साहित गर्न आवश्यक छ ।’
बैठकमा संघले आगामी शैक्षिक सत्रमा विद्यार्थी सीमापारी जाने अवस्था अन्त्य गर्न अभिभावक, स्थानीय तह, संस्थागत विद्यालय र सम्बद्ध संघ, संस्थासँग छलफल अगाडि बढाउने सोंच बनाएको उनको भनाइ छ । संघ अध्यक्ष टंक धामीले स्वदेशी उद्योग, व्यवसाय प्रवर्द्धनका लागि संघ प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक पहल संघले गरिरहेको बताए ।
संघले संस्थागत विद्यालयका विद्यार्थीलाई प्रत्येक वर्ष विद्यालय पोशाक खरिदका लागि सीमावर्ती बजार भारतको रूपैडिहा पठाउने गरेको सन्दर्भमा यस वर्ष सीमावारी रोक्ने प्रयास सुरु गरेको जनाएको छ ।