मूल्य अभिवृद्धिजन्य वस्तुकै निर्यात घट्दो

काठमाडौं– मुलुकको निकासी व्यापार खस्किँदै जाँदा मूल्य अभिवृद्धिजन्य वस्तुकै निर्यात घट्दो क्रममा देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार आर्थिक वर्षको सुरुका तीन महिनामा मूल्य अभिवृद्धि बढी हुने केही वस्तुको निर्यात बढेको थियो । तर पछिल्ला तीन महिनामा तिनै वस्तुको निकासी घट्न थालेको छ । असोजसम्म निकासी बढेको ऊनी गलैंचा, तयारी पोशाक, ऊनी फेल्ट, पोलिस्टर यार्नमध्ये तयारी पोशाकबाहेक सबैको निकासी घटेको छ ।
पुस मसान्तसम्म धागोको निकासी ३.५ प्रतिशतले घटेको छ । यस्तै ऊनी कार्पेटको ४.३ प्रतिशतले तथा जुट तथा जुटका उत्पादनको ६.५ प्रतिशतले निर्यातमा कमी आएको छ । यो अवधिमा ऊनी फेल्टका उत्पादनको निकासी ६.१ प्रतिशतले घटेको छ । यस्तै, कागज तथा कागजजन्य वस्तुको निकासी १३.२ प्रतिशत र हस्तकलाको निकासी १९.३ प्रतिशतले घटेको केन्द्रले जनाएको छ । पुस मसान्तसम्म सुनका गहनाको निकासी पनि ७८.१ प्रतिशतले घटेको छ ।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले मौसमअनुसार निर्यातमा उतारचढाव हुने बताए । उनका अनुसार क्रिसमसका लागि पहिले सामान गइसकेकाले पनि पछिल्लो समयमा निर्यात केही घटेजस्तो देखिएको हुनसक्ने उनको अनुभव छ । युरोपियन देश, अमेरिका, चीनलगायत विश्वभरका तीन दर्जन बढी देशमा नेपाली हस्तकलाका विविध सामाग्री निर्यात हुने गरेका छन् । केन्द्रका अनुसार निकासीका क्षेत्रमा उच्च मूल्य अभिवृद्धि रहेको ऊनी गलैंचा निर्यात पाँच अर्ब ८३ करोडमा सीमित भएको छ ।
यस्तै उनी फेल्टको निकासीमा पनि दुई अर्ब ४७ करोडमा खुम्चिएको छ । कागज तथा कागजजन्य वस्तुको निकासी ५४ करोड २४ लाख तथा हस्तकला (पेन्टिङ)को निकासी २७ करोड पाँच लाख र सुनका गहनाको निकासी दुई करोड ३० लाख रुपैयाँमा सीमित छ । घर सजावटमा नेपाली फेल्टका सामान निर्यात हुने गरेका छन् । पुस मसान्तसम्म फलाम तथा तिनका उत्पादनको निर्यात ८३.५ प्रतिशतले बढेको छ । यो बेलासम्म यस्ता सामान आठ अर्ब ७० करोड निर्यात भएका छन् । यो कुल निकासीको ११.६ प्रतिशत हो ।
यस्तै तयारी पोशाकको निर्यात पनि १६.१ प्रतिशतले बढेर चार अर्ब ९७ करोड पुगेको छ । निकासीमा दोस्रो स्थानमा रहेको धागोको हिस्सा ७.७९ प्रतिशत तथा तेस्रो स्थानमा रहेको ऊनी कार्पेटको ६.९८ प्रतिशत रहेको तथ्यांक छ । फलाम, धागो र ऊनी कार्पेटपछि क्रमश: तयारी पोशाक, अलैंची, जुस, जुट प्लाइउड र पाम आयल सबैभन्दा बढी निकासी हुने वस्तुको सूचीमा छन् । चालू आवको पहिलो ६ महिनामा जुसको निकासीमा ४५.० प्रतिशतले वृद्धि भई तीन अर्ब ८० करोड पुगेको छ ।
तर, पाम आयलको निर्यातमा ७९.२ प्रतिशतले ह्रास आई दुई अर्ब ७२ करोडमा सीमित भएको छ । निकासी व्यापारमा उत्साह जगाइरहेको अलैंचीको निर्यात ४.४ प्रतिशतले वृद्धि भई तीन अर्ब ९० करोड पुगेको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यात भने १४.६ प्रतिशतले ह्रास आई दुई अर्ब १४ करोडमा सीमित भएको छ । यसै अवधिमा अदुवा निर्यातमा ७२.४ प्रतिशतले वृद्धि भई ९४ करोड पुगेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ निर्यात प्रवर्द्धन समितिका सभापति नरेशलाल श्रेष्ठ मुलुकको बिग्रँदो आर्थिक अवस्थाका कारण निकासी व्यापारमा समस्या देखिएको बताउँछन् । उनका अनुसार मूल्य अभिवृद्धिजन्य वस्तुकै निकासीमा समस्या देखिन थालेकाले सरकार र निजी क्षेत्रले गम्भीर भएर समाधानका उपाय पहिल्याउनुपर्ने आवश्यकता छ । नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा १२.८ प्रतिशतले ह्रास आएको छ ।
पुससम्ममा भारतमा निकासी ५० अर्ब ४५ करोडमा झरेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७१.६ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा यो हिस्सा ६७.३ प्रतिशतमा झरेको छ । नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, चीन, यूएई, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, क्यानडा, डेनमार्क, नेदरल्याण्ड र टर्की प्रमुख रूपमा रहेका छन् ।