Logo

६३ मेट्रिक टन सुन्तला कुहियो

अर्घाखाँची– शीतभण्डारमा राखिएको ६३ मेट्रिक टन सुन्तला कुहिएको छ । अघिल्लो वर्षदेखिकै ढुसी पूर्ण रूपमा नष्ट नभएको कारण शीतभण्डारमा राखिएको सुन्तला कुहिएको हो । शिवशक्ती मिश्रित कृषक समूहले सञ्चालन गरेको शीतभण्डारका अध्यक्ष चिरन्जीवी पौडेलले २२ लाख मूल्य बराबरको सुन्तला कुहिएको बताए ।

उनले भने,‘सुन्तला शीतभण्डारमा कुहिएको छ, कति मूल्यको बिक्री गर्न मिल्ने खालको निस्कन्छ, अहिल्यै अनुमान गर्न सक्ने अवस्था छैन ।’ अर्घाखाँचीको पाणिनी गाउँपालिका– १, सिम्लेका पौडेल व्यावसायिक सुन्तला कृषक हुन् । करिब १७० क्विन्टल सुन्तला पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा राखेको उनी बताउँछन् । शीतभण्डारमा राखेपछि दोव्वर मूल्य पाउने आशा गरेका पौडेल अहिले चिन्तीत छन् ।

यस वर्ष शीतभण्डारमा सुन्तला राख्ने मन थिएन, स्थानीय अगुवा कृषक रेवती पौडेलले भने,‘तालिमबाट प्रभावित भएर राख्यौं, गाउँमै प्रदेश सरकारले शीतभण्डार सञ्चालन सम्बन्धी तालिम ३ महिना अगाडि सञ्चालन गरेको थियो, तर प्रभावकारी भएन् ।’ यसको अनुगमनका लागि नार्कको टिम आएपछि मात्रै के गर्ने भन्ने थाहा हुने उनको भनाइ छ ।

अर्घाखाँचीकै पाणिनी गाउँपालिका–१ सिम्लेका खगेन्द्र पौडेलले ६ टन सुन्तला पोखराथोकस्थित शिवशक्ति शीतभण्डारमा राखेका थिए । बोटबाटै बिक्री गर्नुभन्दा वैशाख–जेठतिर बिक्री गर्दा राम्रो मूल्य पाउने आशमा पौडेलले शीतभण्डारमा राखेका सुन्तला भण्डारण गरेको एक महिनामै कुहिएको हो । सिजन सकिएपछि बिक्री गरेर मालामाल हुने सोचमा रहेका पौडेल सबै सुन्तला शीतभण्डारमै कुहिएपछि चिन्तित भएका छन् ।

शिवशक्ति शीत भण्डारमा धेरैजसो किसानका साथै ठेक्का लिएर राख्ने व्यापारीले गाउँभरीको सुन्तला किनेर भण्डार गरेका थिए । कृषक मात्र नभई १३ वर्षदेखी सिम्ले गाउँका सुन्तला खरिद गर्ने व्यापारी मानप्रसाद श्रेष्ठ पनि चिन्तीत छन् । प्रदेश सरकारले तालिम दिएपछि ७५ दिनका लागी शीतभण्डारमा राख्न सकिन्छ भन्ने आश्वासन दिएको तालिम विज्ञ टोलीका कारण शीतभण्डारमा सुन्तला राखे ।

सुन्तला राखेको २० दिनमै करिब ६० प्रतिशत सुन्तला नोक्सानी भएको श्रेष्ठले बताए । उनी भन्छन्,‘गाउँभरीका खरिद गरेर २ हजार ४०० क्यारेट अर्थात करिब ५० टन सुन्तला राखेको थिए । गतवर्ष पनि सामान्य सुन्तला बिग्रेको थियो, यस वर्ष तालिम लिएपछि थप बिग्रियो ।’ सिम्ले गाउँ र पोखराथोकका कृषकले राखेको सुन्तला अघिल्ला दुई वर्षमा पनि यसरी नै कुहिएको थियो ।

अहिले तेस्रो वर्ष पनि सुन्तला कुहिएपछि किसानहरू मारमा परेको स्थानीय हरिप्रसाद पौडेलले बताए । गत वर्ष स्टोरमा राख्दा पनि समस्या आएको थियो, तर नकुहिएको सुन्तला फागुन र चैतमा प्रति किलो एक सय ३० रुपैयाँमा बिक्री भएको थियो । अहिले स्टोरमा राख्ने समयमै प्रतिकिलो ७० रुपैयाँमा बिक्री भएको थियो । अघिल्लो वर्ष कुहिएर कम नोक्सान भए पनि यसपाली धेरै घाटा भएको पौडेल बताउँछन् ।

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मंसिरमा विज्ञ प्राविधिक ल्याएर कृषकलाई गाउँमै कोल्ड स्टोरमा सुन्तला राख्ने तरिका सिकाएको थियो । तर प्राविधिकहरूले भने अनुसार नै सुन्तला राखे पनि प्रत्येक वर्ष सुन्तला कुहिएपछि किसानहरू नोक्सान बेहोर्न बाध्य छन् । कोल्डस्टोरमा राखेका सुन्तला कुहिँदा आफूहरूलाई राहत दिनु पर्ने किसानहरूको माग छ ।

जिल्लाको सबैभन्दा धेरै सुन्तला उत्पादन हुने ठाउँ पाणिनी गाउँपालिका हो । त्यसपछि मालारानी गाउँपालिकामा धेरै सुन्तला उत्पादन हुन्छ । अहिले जिल्लामा तीन वटा शीतभण्डारण स्थापना भएका छन् । सन्धीखर्कमा १ हजार मेट्रिक टन क्षमताको फलफूल तथा तरकारी राख्ने भण्डारण केन्द्र, मालारानीमा १ हजार मेट्रिक टन सुन्तला तथा तरकारी राख्ने क्षमताको शीतभण्डार निर्माण सम्पन्न भएको छ ।

निर्माण भएका शीतभण्डारहरू सञ्चालन गर्नमा पनि कठिनाइ छ । जिल्लामा सबैभन्दा पहिला निर्माण भएको पाणिनी गाउँपालिको शिवशक्ति शीतभण्डार हो । ३ वर्ष अगाडि बनेको शीतभण्डार ३ हजार मेट्रिक टन क्षमताको हो । सुन्तला स्टोरको लागि प्रदेश कृषि मन्त्रालयको ७५ प्रतिशत लगानी र स्थानीय किसान समूहबाट २५ प्रतिशत लगानीमा निर्माण गरेको शीतभण्डारमा प्रत्येक वर्ष सुन्तला कुहिएपछि अहिले किसान चिन्तामा छन् ।

पाणिनी गाउँपालिका कृषि अधिकृत मेगराज पौडेल भन्छन्,‘के कारणले सुन्तलामा ढुसी लाग्यो भन्ने स्पष्ट भएको छैन, विगतमा पनि सुन्तला कुहिएपछि किसानलाई तालिम प्रदान गरिएको थियो, बोटमै हुँदा दानामा इन्फेक्सन थियो वा स्टोरमा राखेपछि बिग्रियो भन्नेबारे अहिल्यै भन्न सकिने अवस्था छैन’ ।

पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले भने,‘जिल्ला समन्वय समितिसँग परामर्श गदैँ छौँ, कृषि ज्ञान केन्द्रलाई जानकारी गराएका छौँ, प्राविधिक समस्या हो, नेपालमै सुन्तला कोल्डस्टोरमा परीक्षण सफल नभएको भन्ने सुनेको छु ।’ सुन्तला कुहिएपछि त्यस विषयमा अनुसन्धान गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का विशेषज्ञ टोलीले अनुगमन गरेको छ । रिपोर्ट आउँन बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराम घिमिरेले बताए ।

अर्घाखाँची जिल्लामा ४५३ हेक्टर क्षेत्रमा सुन्तला उत्पादन भइरहेको छ । गत वर्षभन्दा यस वर्ष उत्पादन वृद्धि भएको अनुमान कृषि ज्ञान केन्द्र अर्घाखाँचीले गरेको छ । गत वर्ष जिल्लामा ५२ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष झन्डै प्रति हेक्टर ११ मेट्रिक टन उत्पादन भएको थियो भने अहिले एक हेक्टरमा १२ मेट्रिक टन उत्पादन भएको आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्