बाढीले बगाउँदा दुई बालिका बेपत्ता «

बाढीले बगाउँदा दुई बालिका बेपत्ता

म्याग्दी- दुई बालिकालाई बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता बनाएको छ । शनिबार राती साढे १० बजे भिषण वर्षापछि खोलामा आएको बाढीले १० वर्षकी प्रविना परियार र ६ वर्षकी अनुश्का परियार बेपत्ता भएका हुन् ।
बगरफाँटमा स्थायी रुपमा बस्ने माया परियारको घरमा पाहुना बनेर गएका दुई बालिका बेपत्ता भएका हुन् । बेनी नगरपालिका–९ बस्ने पार्वती परियारकी १० वर्षकी छोरी प्रविना परियार र बेनी नगरपालिका ५ खोरगैरा बस्ने अनिता परियारका छोरी अनुश्का परियार बेपत्ता भएका हुन् ।
खोलाले धार परिबर्तन गरी बस्तीतिर आएको बाढीले बगरफाटँमा स्थायी रुपमा बस्ने दिपक जुग्जाली, पार्वती परियार, राममाया परियारको ३ घरमा पूर्ण क्षति गरेको छ । कोटखोलामा आएको बाढी शनिबार राती धार परिवर्तन गरेर बस्तीमा पस्दा दुई जना बालिका बेपत्ता हुनुका साथै वुद्ध एकेडेमीको १८ कोठे भवन र स्थानीयको आठ वटा घरमा क्षति पुगेको छ । विद्यालयको पढाइ बन्द भएको छ ।
बेनी नगरपालिकाले बेपत्ता प्रविना र अनुष्का परियारका अभिभावकलाई एक-एक लाख रुपैयाँ राहत उपलब्ध गराएको वडा अध्यक्ष हिराबहादुर थापाले जानकारी दिए ।
घर क्षति भएका दिपप्रसाद जुग्जालीलाई ५० हजार, माया परियारलाई २५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । रेशम परियार, सेते किसान, रमेश परियार र बिष्णु परियारलाई आठ-आठ हजार रुपैयाँ दिइएको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालयले राहत सामग्री सहित तीन घरलाई १२-१२ हजार रुपैयाँका दरले राहत वितरण गरेको छ । आंशिक क्षति भएकालाई ८-८ हजार रुपैयाँका दरले उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्