चुकेनी विद्युत आयोजनाको डोजर स्थानीयको कब्जामा

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी जलविद्युत आयोजनामा काम गरेको रकम नपाएपछि स्थानीयले डोजर कब्जामा लिएका छन् । आयोजना निर्माणका क्रममा गिट्टी कुटेको, दैनिक ज्यालादारी काम गरेको, पसलबाट सामान लिएको, स्थानीयको खसी खाएको पैसा नपाएपछि डोजर कब्जामा लिएका हुन् ।
पातारासी–१ स्यालागडी गाउँका २५० घरधुरीले आयोजनास्थलमा काम गरेका थिए । गडीगाउँका महिलाले रकम नपाएको भन्दै दसैंको समयमा आयोजना निर्माणस्थलमा ढुंगामुढासमेत गरेका थिए । त्यतिबेला थोरै रकम दिएको तर त्यसपछि क्रमशः दिन्छु भन्दै ठेकेदारले ढाँटेको स्थानीयले बताएका छन् । आयोजना निर्माणको लामो समयसम्म पैसा भुक्तान नगरेपछि स्थानीले डोजरको चाबी थुतेको वडाध्यक्ष लालसिंह ऐडीले बताए ।
ठेकेदारले आयोजनास्थलमा काम गर्न आएका मरको रासनपानी स्थानीय व्यापारीबाट लिएका थिए । उदारो खाएको रकमसमेत लामो समयसम्म नपाएपछि स्थानीले डोजर कब्जामा लिएको चुकेनी सहकारी संस्थाका सदस्य जयबहादुर ऐडीले बताए । उनले भने, ‘ठेकेदारले मेरो पसलबाट उदारो लिएको ९२ हजार रुपैयाँ दिएका छैनन् । डोजर नसमाती भुक्तानी पाउने सम्भावना नदेखेपछि सबै गाउँलेको सहमतिमा डोजरको साँचो खोसिएको हो । डोजर लिन आउँदा पनि ठूलै द्वन्द्व हुने देखिन्छ ।’
चुकेनी जलविद्युत आयोजनाको ठेकेदारले पैसा आजआज भोलिभोलि भन्दै चार वर्ष धकेलेको स्थानीय बुद्धिबहादुर ऐडीले बताए । लामो समय हुन्जेल पैसा पाएनौं । त्यसैले हामीले भन्दा पनि हाम्रा महिलाले ठेकेदारबाट पैसा असुल्न डोजर जफत गरेका हुन् । चुकेनी जलविद्युत आयोजना बन्नु खुसीको कुरा हो । तर आयोजना बनाउँदा डोजरले बाटो बिगारेको छ । अर्का स्थानीय बुद्धि ऐडीले भने, ‘बाटो विगारेको छ । बाटो राम्रो गरेको छैन,’ उनले भने, ‘हामीले काम गरेको पारिश्रमिक पाएका छैनौं । त्यसैले डोजर खोस्नु स्वाभाविक हो ।’
पढ्ने केटाकेटीहरूले कापीकलम गरौंला, महिलाले घरखर्च चलाउँला भनेर आस गरी हातका औंला फुटालेर, रगत निकालेर गिट्टी कुट्दाको पीडा ठेकेदारले नबुझेपछि गाउँले डोजर खोस्न बाध्य भएको स्थानीय पटे ऐडीले बताए । ठेकेदार कम्पनीले वडाध्यक्षलाई राखेर डोजर छुटाउन खोजे पनि पैसा भुक्तानी नगरुन्जेल समस्या समधान गर्न मुस्किल रहेको वडाध्यक्ष ऐडीले बताए । ‘मलाई ठेकेदारले गाउँलेसँग कागज गराएर डोजर छोड्न लगाउनु पर्यो भनेर भनेका थिए । तर गाउँलेले नमानेपछि मैले मध्यस्थता गर्न सकिनँ,’ उनले भने ।
स्थानीयका अनुसार ठेकेदार कम्पनीले करिब ३० देखि ४० लाखसम्म तिर्न बाँकी रहेको देखिन्छ । ठेकेदार कम्पनीलाई चाँडै कामदारको रकम भुक्तानी गर्न लगाउने र डोजर पनि फिर्ता गर्न लगाउने गरी लागेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णासिंह बोहोराले बताए । उनले भने, ‘ठेकेदार र कामदार, गाउँले, वडाध्यक्ष सबैलाई सँगै राखेर छलफल गराई पैसा भुक्तानी गर्नलाई पहल गर्नेछौं । त्यसपछि डोजर फिर्ता गर्न लगाउनेछौं । धेरै हदसम्म ठेकेदार कम्पनीको लापरबाही गरेको देखिन्छ ।’
यता मेगा हाइड्रो एण्ड इन्जिनियरिङका प्रबन्धक तथा ठेकेदार चन्द्र क्षेत्रीले अन्तिम भुक्तानी प्राप्त नभएका कारण स्थानीयको खाएको र कामदारकोे पैसा नतिरिएको बताए । उनले भने, ‘आठ लाख दसैंमा तिरेको हो । महिलाले गिट्टी कुटेको १४ लाख बाँकी छ । अन्य पसल र स्थानीयको ६/७ लाख गरी बढीमा २५ लाखसम्म मात्रै दिन बाँकी छ ।