Logo

बैंक ग्यारेन्टीमा तेल उपलब्ध व्यवसायीको माग

बुटवल– बैंक ग्यारेन्टीमा डिपोबाट इन्धन उपलब्ध गराउन पेट्रोलियम व्यवसायीहरूले सरकारसँग माग गरेका छन् । पैसा तिरे अनुसार नेपाल आयल निगमबाट पुरा तेल नपाएको गुनासो गर्दै उनीहरूले बैंक ग्यारेन्टीमा तेल नपाउँदा समस्या भोग्नु परेको गुनासो गरेका हुन् ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनको शनिबार रुपन्देहीको तिलोत्तमामा भएको १८ औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीले लगानी अनुसार प्रतिफल नपाएको बताए । पेट्रोल पम्प स्थापना गर्दा ठूलो लगानी गर्नुपर्ने र सञ्चालन गर्दा खर्च वृद्विले व्यवसायबाट विस्थापित हुने अवस्था आएको उनीहरूको भनाइ छ । पेट्रोलियम व्यवसायीले आयल निगम भलवारी डिपोको क्षमतावृद्वि गरी २४ सै घण्टा सेवा दिन आग्रह गरे ।

साधारण सभामा आयल निगमका निमित्त कार्यकारी प्रमुख नगेन्द्र शाहले जहाँ समस्या छ, त्यहीँबाट समाधान खोज्नु पर्ने र त्यसका लागि निगम व्यवसायीहरूको साथमा रहेको उल्लेख गरे । बैंक ग्यारेन्टीमा तेल पाउनु पर्ने व्यवसायीको हकमा माग ठिक भए पनि भारतबाट तेल ल्याउँदा नगद भुक्ततानी गर्नुपर्ने भएकाले सम्भव नभएको उनको भनाइ थियो । आयल निगमले आफ्ना कमजोरी सुधार गर्ने शाहले प्रतिबद्वता व्यक्त गरे ।

लुम्बिनीका प्रदेश सांसद वैजनाथ जयसवालले नीजि क्षेत्रका व्यवसायीलाई हेर्ने आयल निगमको दृष्किोण ठिक नभएको भन्दै व्यवसायीका समस्या प्रदेश सभामा उठाउने बताए । निगमका वितरण विभाग प्रमुख पूर्ण रिजालले निगमले व्यवसायीलाई तेल कम नदिएको दाबी गर्दै विश्वास नलागे आफै आएर दाम अनुसार तेल नापेर लैजान व्यवसायीलाई अनुरोध गरे ।

रुपन्देही प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले देशको कानुन कार्यान्वयनमा सम्झौता गर्न नसकिने बताउँदै जनतालाई सेवा दिने गरी व्यवसाय चलाउन आग्रह गरे । व्यवसायीलाई कही कतै प्रशासनिक समस्या भएको भए आफूले ति समस्या सुल्झाउन तयार रहेको भन्दै व्यवसायीका समस्या आफ्नो कार्यालयबाट समाधान हुने भए आजको आजै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निमगको भलवारी डिपो कार्यालय प्रमुख कमला न्यौपानेले सहज आपूर्ति र बिक्री वितरणमा भएका कमजोरीलाई आयल निमगले सुधार गरेको दाबी गर्दै व्यवसायलाई मर्यादित बनाउन आग्रह गरिन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका महासचिव विश्वप्रसाद अर्यालले राजनीतिक नेतृत्वले निजी क्षेत्रको समस्या बुझ्न नसक्दा समस्या भएको बताउँदै डिजेलमा लगाइएको कर घटाएर मूल्य समायोजन गर्नुपर्नेमा जोड दिए ।

पश्चिमाञ्चल पेट्रालियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेले व्यवसायीका मागप्रति आयल निगमलाई गम्भीर हुन आग्रह गरे । पश्चिमाञ्चल पेट्रालियम डिलर्स एशोसिएशनका अध्यक्ष हिमाल गैरेको अध्यक्षता भएको कार्यक्रममा रुपन्देहीका प्रमुख एसपी भरतबहादुर विक, नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, सिद्वार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, पश्चिमाञ्चल ट्रक यातायात समितिका अध्यक्ष यमप्रसाद पाण्डेयलगायतले सरकारलाई नीजि क्षेत्रका व्यवसायीका समस्याप्रति गम्भीर बन्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्