Logo

जब्दीघाट पुल पुनर्निर्माण गर्न माग

बर्दिया– बर्दियाको सदरमुकाम गुलरियामा जब्दीघाट पुल पुनर्निर्माण माग गर्दै आन्दोलन सुरु भएको छ । गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने पुल भासिएको सात वर्षसम्म पनि पुनर्निर्माण नभएको भन्दै मंगलबार गुलरियामा प्रदर्शन गरिएको हो ।

२०७४ सालमा बबई नदीमा आएको बाढीले भासिएको पुल पुनर्निर्माणका लािग सरकारले चासो नदिएको भन्दै जब्दीघाट पुल पुनर्निर्माण जनअभियान बर्दियाले र्‍यालीसहित प्रदर्शन गरेको हो । समन्वय समिति बर्दिया नजिकैबाट निकालिएको र्‍यालीले राधाकृष्ण चोक परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयको मूल गेटमा नाराबाजीसहित प्रदर्शन गरेको थियो ।

करिब एक घण्टा जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शनपछि उनीहरूले प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलमार्फत राष्ट्रपति, प्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात र अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । आन्दोलनरत स्थानीयले ‘जब्दीघाटमा पुल बनाउ सरकार, नत्र भने हामीलाई छैन तिम्रो दरकार’, ‘पुल निर्माण नभए भोट दिँदैनौ, पुल नहुँदा सर्वसाधारणले पाएका छन् सास्ती’ लगायत विभिन्न नारा लगाएका थिए ।

अभियानका संयोजक एवम् सामाजिक अभियन्ता दिनेशप्रसाद श्रेष्ठले पुल भत्किँदा सवारीसाधन लगायत मानिसको आवागमन ठप्प भएकाले यस क्षेत्रको जनजीवननै प्रभावित भएको बताउँदै आफूहरूको माग सुनुवाइ नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिए । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल ०७४ साल साउनमा आएको बाढीले भासिएको थियो । भासिएर अलपत्र अवस्थामा रहेको पुल २०७९ सालमा बबई नदीमा पुन आएको बाढीले पुलका दुईवटा स्लावनै बगाएको थियो ।

देशभरि निर्माण कार्यमा बदनामित भएको पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको उक्त पुल निर्माणमा व्यापक भ्रष्टाचार भएको भन्दै निर्माण कम्पनीलगायत कर्मचारीहरू उपर अख्तियारमा मुद्दा परेको थियो । अख्तियारले दोषि ठहरिएका ठेकेदारलगायत कर्मचारी उपर बिगोसहितको जरिवानासमेत तोकेको थियो । तर पुल भत्केको लामो समय बितिसक्दा समेत पुनर्निर्माणमा सरोकरवालाले चासो दिएका छैनन् ।

नयाँ पुल निर्माण गर्न जनदबाब बढ्दै गएपछि बर्दिया क्षेत्र नं. १ का संघीय सांसद सञ्जयकुमार गौतमले पुल पुनर्निर्माणको माग गर्दे गत वैशाखमा आठ दिनसम्म अनशन बसेका थिए । साँसद गौतमको माग सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला अनशनस्थल पुगी १० दिनमा पुल पुनर्निर्माणका लागि ठेक्का प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए । तर हाल १० महिना पुगिसक्दा समेत पुलको ठेक्का प्रकृया सुरु हुन नसक्दा स्थानीय आक्रोशित बनेका हुन् ।

सडक डिभिजन नेपालगन्जका अनुसार भासिएको उक्त नयाँ पुलको केही पर चार सय मिटर लामो अर्को पुल निर्माणको पहल थालिएको छ । उक्त पुल निर्माणमा करिब एक अर्ब रुपैयाँ लाग्ने अनुमानसहित स्रोत सुनिश्चिताका लागि अर्थ मन्त्रालयमा फाइल स्वीकृतका लागि पठाए पनि मन्त्रालयले स्वीकृति दिएको छैन । अर्थ मन्त्रालयले स्रोत सुनिस्चितता नदिँदा पुल निर्माण अघि नबढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्