Logo

सर्लाही घटनाः अनुसन्धान गर्न समिति गठन, मृतकका परिवारलाई १० लाख दिने

काठमाडौं – सर्लाहीको बरहथवामा भएको घटना बारे छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ ।

हिजो (शुक्रबार) भएको झडपमा जयशंकर साहको मृत्यु भएको विषयमा सत्यतथ्य छानबिन गरेर सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन भएको मन्त्रालयले जनाएको छ ।

समितिमा नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन् । यस्तै, सरकारले मृतक साहका परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्न पनि निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिन र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार नगर अस्पतालको स्वामित्व विवादमा भएको प्रदर्शनका क्रममा झडपमा परी साहको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्