उत्पादन बन्द भएपछि किसान चिया काट्न व्यस्त

इलाम– यतिबेला चियाको उत्पादन बन्द भएको छ । हिउँद लागेसँगै चिया उत्पादन बन्द हुन्छ । इलामसहितका जिल्लामा चिया टिप्ने काम बन्द भएको छ । चिया टिप्नु नपरेपछि किसान यतिबेला चिया काट्न व्यस्त छन् भने उद्योगी ग्रेडिङ गर्न । चियाको उत्पादन मंसिर अन्तिमदेखि बन्द भएसँगै किसान चिया छाँटकाँटमा लागेका हुन् ।
विशेषगरी बर्खा सिजनमा उत्पादन हुने चियाको उत्पादन मंसिर अन्तिमदेखि पूर्ण रूपमा बन्द हुने गरेको छ । उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ र चिया निर्यातलाई प्राथमिकता दिन थालेका छन् । प्रशोधित चियालाई विभिन्न बर्गमा ग्रेडिङ गरेर बिक्रीका लागि तयार गरिन्छ । उत्पादन बन्द भएपछि किसान भने यतिबेला चिया काट्न ब्यस्त छन् ।
यतिबेला काटिएको चियाबाट पुनः वैशाख महिनादेखि उत्पादन सुरु हुने गरेको छ । यस सिजनमा चियालाई छाँटकाँट गर्नु पर्ने हुन्छ । मल लगाउने सजन पनि यही हो । केही किसानले चैत महिनाभित्रमा चियाको फेदमा खनेरसमेत मल लगाउने गरेका छन् । किसानले बर्खामा पलाउने झारलाई समेत यही मौसममा फाल्ने गरेका छन् । चियालाई छाँटकाँटपछि गोडमेल सहित मल लगाइने गरिन्छ । आफ्नै ज्ञानअनुसार पुरानै तरिकाबाट चिया छाँटकाँट गर्दै आएका किसान पछिल्लो समय प्राविधिक तालिमपछि आधुनिक तरिकाले चिया काट्न थालेका छन् ।
चिया तथा कफी विकास बोर्डले गएको सालबाट किसानलाई तालिम दिन सुरु गरेपछि किसानहरू आधुनिक तरिकाबाट चिया काट्न थालेको बताउँदै आएका छन् । तर अझै पर्याप्त सिकाई नपुगेको यहाँका किसानहरूको भनाइ छ । गएको साल नै चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि राष्ट्रिय चिया तथा कफि विकास बोर्डले गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएपछि किसानहरूलाई केही सहज भएको थियो । बीचमा चिया खेतीप्रति चासो घटाएका किसानलाई केही राहत भए पनि अझ पर्याप्त सिकाइ नपुगेको किसानहरूको भनाइ छ ।
बोर्डले दुई हजार ७९० जना चिया किसानलाई चिया काटछाँट बारे तालिम प्रदान गरेको जनाइएको छ । सूर्योदय नगरपालिकाको फिक्कल, देउमाई नगरपालिकाको मंगलबारे, इलाम नगरपालिका, शान्तिडाँडा, जस्विरे, साँखेजुङलगायतमा फिल्डमा पुगेर चिया किसानलाई चियासम्बन्धी ज्ञान प्रदान गरेको हो । नेपालमा उत्पादन हुने चिया १० प्रतिशत नेपालमा नै खपत हुने तथ्यांकमा उल्लेख छ । अन्य करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी रकम भारत जाने गरेको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार इलाममा आठ हजार ८७६ किसान चियामा आश्रित छन् । इलामको सात हजार २३६ हेक्टर जमिनमा चियाखेती गरिँदै आइको छ । समयमा चियाको मूल्य पाउनमा अझै पनि किसानलाई समस्या हुँदै आएको छ । चियामा भविष्य खोज्ने जति बढे पनि चियामा निराश भएर अन्य पेशा व्यवसायमा लाग्ने पनि उत्तिकै छन् । चिया मासेर केहीले धान तथा मकैबारी बनाएका छन् भने केहीले अम्लिसो लगाएर समेत मनग्ये आम्दानी गर्दै आएका छन् ।