Logo

धान उत्पादन घट्यो

जनकपुरधाम– धनुषामा गत वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा ९१ करोड ७१ लाख रुपैयाँ बराबरको २८ हजार ६८० मेट्रिक टन धान उत्पादन कम भएको छ । कृषि ज्ञान केन्द्र धनुषाका अनुसार चालु आर्थिक वर्षमा किसानले ४२ हजार हेक्टर जमिनमा धान खेती गरेका थिए ।

उक्त जमिनमा एक लाख १७ हजार ६ सय मेट्रिक टन मात्र धान उत्पादन भएको छ । गत वर्ष २०७९/८० मा ४८ हजार ७६० हेक्टर क्षेत्रफलमा धान खेती गर्दा एक लाख ४६ हजार २८० मेट्रिक ट्रन धान उत्पादन भएको थियो । समयमा पानी नपर्दा धान उत्पादन घटेको बागवानी विकास अधिकृत प्रदिपकुमार यादवले बताए ।

धनुषामा करिब सात लाख जनसंख्या रहेकोमा ७० प्रतिशत किसानहरू धान खेतीमा संलग्न रहेको कृषि ज्ञान केन्द्र धनुषाको तथ्याकंमा उल्लेख छ । यहाँको उत्पादनले ६ महिनासम्म पनि खान नपुग्ने स्थानीयवासीले बताएका छन् । आर्थिक वर्ष २०७९/८० मा भिठ्ठामोड नाकाबाट ५८ करोड ६३ लाख रुपैयाँ मूल्य बराबरको ९७ लाख ६५ किलो चामल नेपाल भित्रिएको थियो ।

यसबाट जलेश्वर भन्सार कार्यालयलाई ६ करोड ९० लाख रुपैयाँ राजस्व प्राप्त भएको भन्सार अधिकृत सुमित गुप्ताले बताए । प्रत्येक वर्ष सिँचाइ, मल खाद्य अभाव झेल्दै आएका यहाँका किसान धान खेतीतर्फ आकर्षित हुन नसक्दा प्रत्येक वर्ष उत्पादन घट्दै गएको कृषि विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्