बीमा क्षेत्रमा पनि आर्थिक मन्दी
काठमाडौं– पछिल्लो एक वर्षयता मुलुकमा देखिएको आर्थिक मन्दीको समस्या बीमा क्षेत्रमा पनि बढ्दो क्रममा देखिएको छ । आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति कमजोर बन्दा यसको प्रत्यक्ष असर बीमा क्षेत्रमा परेको हो । प्रायः वर्षहरूमा बढ्ने गरेको बीमा पहुँच चालु आवमा मन्दीकै कारण केही घटेको छ । गत आर्थिक वर्षको कात्तिकसम्मको तुलनामा चालु आवको कात्तिक महिनासम्ममा बीमाको दायरा झण्डै दुई प्रतिशतले घटेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरणका अनुसार, चालु आवको कात्तिकसम्ममा बीमाको दायरा ४२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बीमाको दायरा ४४ प्रतिशत रहेको थियो । बीमाको दायरा बढाउने क्रममा लागेका बीमा कम्पनीहरूलाई आर्थिक मन्दीले असर पारेको देखिन्छ । बीमा अभिकर्ताको बीमा गराउने लक्ष्यदेखि कम्पनीहरूको नियमित लक्ष्य भेट्नसम्म पनि अहिले हम्मेहम्मे परिरहेको छ । कतिपय कम्पनीका प्रमुख प्रतिनिधिहरू अहिले लक्ष्य भेट्न मुस्किल भइरहेको बताउँदै आइरहेका छन् ।
आर्थिक मन्दीको चपेटामा जीवन र निर्जीवन दुवै बीमा परेका छन् । प्राधिकरणका अनुसार, चालु आवको कात्तिकसम्ममा कुल जीवन बीमा शुल्क संकलन बढेपनि कुल जीवन बीमा लेख संख्या एक दशमलव ६० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा एक करोड ३९ लाख ४२ हजार ३०९ कुल जीवन बीमालेख संख्या जारी भएकोमा यो आर्थिक वर्षको सोही अवधिमा एक करोड ३७ लाख १९ हजार ७२५ कुल जीवन बीमालेख संख्या जारी भएको छ ।
जीवन बीमा क्षेत्रमात्र नभई आर्थिक मन्दीको चपेटामा निर्जीवन बीमा क्षेत्र समेत परेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यो आर्थिक वर्षको पहिलो चार महिनाको कुल निर्जीवन बीमाशुल्क ४.५८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा १३ अर्ब ३५ करोड ८५ लाख कुल बीमा शुल्क आर्जन गरेका निर्जीवन बीमा कम्पनीहरूले यो आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल निर्जीवन बीमाशुल्क आर्जन गरेका छन् ।
आर्थिक मन्दीका कारण कुल निर्जीवन बीमालेख संख्यामा पनि २.६८ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ९ लाख १९ हजार २३८ कुल निर्जीवन बीमालेख जारी भएकोमा यो आर्थिक वर्षको सोही अवधि अर्थात् कार्तिक मसान्तसम्म आठ लाख ९४ हजार ५२४ कुल निर्जीवन बीमालेख संख्या जारी भएको प्राधिकरणको तथ्यांक छ । हाल नेपालमा सञ्चालन रहेका बीमा कम्पनीका कार्यालय र बीमा कर्मचारीको संख्या घटेको छ ।
प्राधिकरणका अनुसार बीमा कार्यालयको संख्यामा १५ र कर्मचारीको संख्यामा तीन प्रतिशले घटेको छ । प्राधिकरणले चुक्ता पुँजी पुर्याउनका लागि नीति ल्याउँदा नौ वटा जीवन बीमा र १० वटा निर्जीवन बीमासहित कूल १९ वटा बीमा कम्पनी मर्जरमा जाँदा बीमा कम्पनी र कर्मचारीको संख्यामा गिरावट आएको हो । चालु आवको कात्तिक महिनासम्म बीमा कम्पनीहरूमा कुल ११ हजार ४१८ जना कर्मचारी कार्यरत रहेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.४० प्रतिशतले कम हो ।
गत आवको सोही अवधिमा ११ हजार ८२० जना कर्मचारी रहेका तथ्यांकले देखाएको छ । जीवन बीमा कम्पनीका कर्मचारीको संख्या ६ हजार १४८ बाट ६.२८ प्रतिशतले घटेर पाँच हजार ७ सय ६२ जनामा सीमित बनेको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीका कर्मचारीको सख्या पनि २८ प्रतिशतले घटेको छ । यस अवधिमा कर्मचारीको संख्या घटेर पाँच हजार ६ सय ७२ जनाबाट पाँच हजार ६ सय ५६ जना पुगेका छन् ।
यसैगरी, बीमा कम्पनीहरूका कार्यालय संख्याहरू पनि घटेका छन् । यस अवधिमा बीमा कम्पनीहरूका कार्यालयको संख्या १५.७९ प्रतिशतले घटेर तीन हजार तीन सय ५७ बाट दुई हजार आठ सय २७ वटा कार्यालयमा सीमित भएको छ । जीवन बीमा कम्पनीहरूको कार्यालय संख्या २१.२४ प्रतिशतले घटेर दुई हजार दुई सय ९८ बाट एक हजार ८१० वटा रहेका छन् । यसका साथै, निर्जीवन बीमा कम्पनीहरूका कार्यालय संख्या ३.९७ प्रतिशतले घटेर १ हजार ५९ बाट एक हजार १७ रहेका छन् ।