Logo

भूकम्प प्रतिरोधी संरचनाका लागि नक्सापास अनिवार्य

जुम्ला– गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति गर्‍यो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा गरी १५४ जनाको ज्यान गयो भने हजारौंको संख्यामा घर भत्किएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार जाजरकोट भूकम्प र त्यसको पराकम्पले जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख, कालिकोट, जुम्ला, बाजुरा, बझाङलगायतका १२ जिल्लामा २६ हजार ५२८ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भए भने ३५ हजार ३९५ घरमा आंशिक क्षति भयो । जसमा जाजकोटमा नौ हजार ७९४ घर पूर्ण क्षतिग्रस्त हुँदा २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ ।

उता पश्चिम रुकुममा मात्र १६ हजार ५७० घर ध्वस्त भएको तथ्यांक छ भने नौ हजार ९६१ घरमा आंशिक क्षति छ । ग्रामीण भेगमा त परै जावस सदरमुकाम क्षेत्रमा पनि नक्सापास बिना भवन निर्माणका लागि नक्सापास अनिवार्य गरिएको छैन । जसका कारण भूकम्प तथा प्राकृतिक प्रकोपबाट ठूलो संख्यामा भौतिक क्षति हुने गरेको पाइन्छ । विज्ञहरूका अनुसार कर्णाली भूकम्पको उच्च जोखिममा छ । त्यसैले पनि कर्णालीका सुगमदेखि दुर्गमसम्म अब बन्ने सबै संरचना भूकम्प प्रतिरोधी बनाउन जरुरी छ ।

तिलामा घरनक्सा कार्यविधि कार्यान्वयन
कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमध्ये अधिकांशले घरनक्सा तथा भवन निर्माण कार्यविधि ऐन कानुन बनाउन सकेका छैनन् । तर जुम्लाको तिला गाउँपालिकाले भने बढ्दो भूकम्पीय जोखिमलाई मध्यनजर गर्दै जुम्लामै पहिलो ‘घर नक्सा तथा भवन निर्माण कार्यविधि–२०८०’ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिका छन् ।

साविक कर्णालीको पहिलो चन्दननाथ नगरपालिकाले टाउन प्लानिङ अघि सारे पनि घर तथा भवन निर्माण गर्दा नक्सा पास अनिवार्य गर्न सकेको छैन । तर तिलाले भने भौगोलिक विकटता, भूकम्प, बाढी पहिरोको जोखिमलाई मध्य नजर गर्दै ‘घर नक्सा तथा भवन निर्माण कार्यविधि–२०८०’ कार्यान्वयनमा ल्याएको तिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले बताए । तिलामा निजी घर, व्यापारिक तथा सार्वजनिक भवन बनाउँदा अनिवार्य नक्सा पास गर्नुपर्नेछ ।

अन्यथा निर्माण गर्न नदिने र सरकारी सेवासुविधाबाट समेत वञ्चित गराइने छ । निमित्त प्रशासकीय अधिकृत बुढाले भने, ‘कार्यविधि नै कार्यान्वयनमा ल्याइसकेका छौं । जुनसुकै प्रयोजनका लागि भौतिक संरचना बनाए पनि अनिवार्य नक्सापास लिनुपर्नेछ । नक्सापास नगर्दा र गर्दाका फाइदा बेफाइदाबारे समुदायस्तरमा समेत जनचेतना फैलाइने छ ।’ नौवटा वडा रहेको भौगोलिक हिसाबले विकट रहेको तिलाका दुर्गम बस्तीमा कमजोर संरचना धेरै छन् । जसले भविष्यमा क्षति हुन सक्ने सम्भवना पनि उत्तिकै छ ।

नागरिकको जिउधनको सुरक्षाका लागि समेत ‘घर नक्सा तथा भवन निर्माण कार्यविधि कार्यान्वयनमा ल्याइएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन् । कार्यविधि कार्यान्वयनमा आएसँगै तिला गाउँपालिका–१ राराका स्थानीय कलबहादुर शाहीले पहिलो व्यक्तिका रूपमा नक्सा पास गरी पालिकाबाट घर निर्माणको आंशिक इजाजतपत्र लिएका छन् । १५ दिनपछि पूर्ण इजाजत पत्र दिइने छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेरमात्र निजी तथा सार्वजनिक भवन बनाउनु पर्ने प्रावधान छ ।

पालिकाभित्र कुनै पनि निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण सुरु गर्दा अनिवार्य नक्सा पास गराउनु पर्ने विषयमा नौवटै वडालाई परिपत्र पनि गरिएको छ । सुरक्षित एवम् व्यवस्थित र जोखिममुक्त घर भवन बनाउनका लागि नक्सा पास गर्दा नागरिकताको प्रतिलिपि–एकप्रति, जग्गाधनी प्रमाणपत्र पुर्जाको प्रतिलिपि, सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि, ट्रस नक्साको प्रतिलिपि कागजात पेस गर्नुपर्नेछ । नक्सा पास गरेर घर निर्माण सम्पन्न भएपछि घरधनीलाई पालिकाले प्रमाणपत्र उपलब्ध गराउने तिला गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्