खोटाङ साक्षर जिल्ला घोषित

प्रदेश नम्बर १ अन्तर्गतको खोटाङलाई साक्षर जिल्ला घोषणा गरिएको छ । १५ वर्ष उमेरदेखि ६० वर्ष उमेर समूहका ९६.५६ प्रतिशत नागरिक साक्षर भएपछि बुधबार खोटाङलाई साक्षर जिल्ला घोषणा गरिएको हो । योसँगै खोटाङ देशको ४४औं साक्षरता जिल्ला बनेको छ ।
‘समग्र खोटाङ समुन्नतिको निकास ज्ञान, सीप, संस्कार, साक्षरताको विकास’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रलाई औपचारीक रूपमा प्रतिनिधिसभाकाका सदस्य विशाल भट्टराईले उद्घाटन गर्दै साक्षर खोटाङ जिल्ला घोषणा गरेका हुन् । दुई नगरपालिका र आठ गाउँपालिकामा गरिएको सर्वेक्षणका क्रममा साक्षरताको मापदण्ड पूरा भएकाले साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जसअन्तर्गत रुपाकोट–मझुवागढी नगरपालिमा ९७.०५, हलेसी–तुवाचुङ नगरपालिकामा ९६.०४ प्रतिशत, रावावेशीं गाउँपालिकामा ९६.३७, एसेलुखर्क गाउँपालिमा ९५.७६, साकेला गाउँपालिकामा ९५.९८, केपीलासगढी गाउँपालिकामा ९६.५७, दिप्रुङ गाउँपालिकामा ९६.५२, जन्तेढुंगा गाउँपालिकामा ९५.९७, खोटेहाङ गाउँपालिकामा ९७.५६, र वराहापोखरी गाउँपालिकामा ९६.८० प्रतिशत साक्षर रहेको पाइएपछि साक्षर जिल्ला बनाइएको हो ।
जिल्लाका निरक्षर नागरिकले १ देखि सय अंक लेख्न र भन्न, आम्दानी र खर्चको विवरण राख्न, बैंक भौचर भर्न, मोबाइल चलाउन, सभासमारोहमा बोल्न सक्नेलगायतका १२ सूचकमध्ये ७ सूचक पूरा गरेपछि साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताए । देशकै सबैभन्दा बढी २७ स्रोत केन्द्र रहेको साक्षर खोटाङ जिल्ला घोषणा कार्यक्रमको सुरुमा जिल्लामा कार्यरत शिक्षक, विद्यार्थी, शैक्षिक संघसंस्थामा आबद्घ ब्यक्ति, शिक्षाप्रेमी, बुद्घिजीवीलगायतको सहभागितामा विशाल ¥याली निकालिएको थियो ।
जिल्लामा ४९१ सामुदायिक, २९ संस्थागत, २ प्राविधिक र ३४७ बाल विकास केन्द्र सञ्चालनमा रहेका छन् । यस्तै, ३ समाहित शिक्षाका स्रोत केन्द्र, एक खुला विद्यालय, एक परम्परागत विद्यालय, २९ सामुदायिक अध्ययन केन्द्र र ६ क्याम्पस सञ्चालनमा छन् ।