चिया, अदुवा, अलैंची र तरकारीमा लिलामी बजार

कृषिक्षेत्रले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ । भूपरिवेष्टित मुलुकका रूपमा अवस्थित नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रबाट ठूलो योगदान रहेको छ । तथापि, हालको आर्थिक सर्वेक्षणले नेपालमा कृषिक्षेत्रलाई एक कमजोर क्षेत्रका रूपमा संकेत गर्छ ।
विगत १० वर्षको कृषिक्षेत्रले गर्ने योगदानलाई विश्लेषण गर्ने हो भने प्रत्येक वर्ष घट्दै गइरहेको देखिन्छ, जसमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिको हिस्सा करिब ६.१२ प्रतिशत अंकले घटेको देखियो । सरकारी तथ्यांकहरूले अघिल्लो वर्षको तुलनामा पछिल्ला वर्षहरूमा समग्र कृषि उत्पादन बढिरहेको देखाएको छ । आ.व. २०७९-८० मा समीक्षा अवधिमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला) को उत्पादन ४.३ प्रतिशतले बढेको छ । यस्ता बालीले ढाकेको भू–क्षेत्र भने २.१ प्रतिशतले घटेको छ । खाद्य तथा अन्य बालीको उत्पादन ५.७ प्रतिशतले बढेको छ । तरकारी तथा बागबानीको उत्पादन ४.५ प्रतिशतले बढेको छ ।
फलफूल र मसलाको उत्पादनमा भने क्रमशः ५.२ प्रतिशत र ८.४ प्रतिशतले घटेको छ । पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन १.४ प्रतिशत र मासु उत्पादन १.७ प्रतिशतले वृद्धि भएको छ । गत आ.व.मा अन्डा उत्पादन भने २६.३ प्रतिशतले घटेको छ । वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन १६.२३ प्रतिशतले र औषधिजन्य वस्तुको उत्पादन ७.४ प्रतिशतले बढेको छ (स्रोतः आर्थिक सर्वेक्षण, आ.व. २०७९-८०) । सरकारी तथ्यांकहरूले यसलाई विकासको संकेतका रूपमा लेखेका छन्, यस तथ्यको स्वामित्व पनि लिइरहेका छन् तथापि विशेषज्ञहरू र अर्थशास्त्रीहरूले यस तथ्यबारे चिन्ता व्यक्त गरेका छन् कि देशको उत्पादनको मात्रा नघटे पनि कृषिक्षेत्रले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा गर्ने योगदानमा कमी आइरहेको हिसाबले कृषिक्षेत्रको विकास सरकारको प्राथमिकतामा नपरेको हो कि भन्ने संकेत गर्छ ।
यसबाहेक, यो पनि देखाएको छ कि कृषिलाई व्यवसायीकरण नगर्दासम्म कृषिक्षेत्रमा संलग्न जीवनस्तरमा खासै उल्लेखनीय प्रगति सम्भव हुँदैन र यस क्षेत्रमा संलग्न जनशक्ति पलायन हुने अवस्था छ । अरू क्षेत्रको तुलनामा कृषिक्षेत्रमा उत्पादकहरूको अवस्था सुधारिएको छैन । देशको कुल जनसंख्याको लगभग ६२ प्रतिशत जनसंख्या कृषिक्षेत्रमा संलग्न भएको परिवेशमा कृषिक्षेत्रले अर्थव्यवस्थालाई आमूल परिवर्तन गर्न सक्छ भन्ने कुरामा प्रश्नचिह्न खडा गरेको छ ।
तथ्यांकहरूले के पनि देखाएको छ भने नेपालमा उत्पादन र उत्पादकत्व बढाउनका लागि थुप्रै अवसर छन् । कृषिको उत्पादनलाई बजारको मागअनुरूप उत्पादन गर्ने, निर्वाहमुखी कृषि पद्धतिलाई व्यावसायिक बनाउन भण्डारण, उपलब्धिमा आधारित अनुदान, सहुलियत ब्याजदरको ऋण, खाद्य प्रशोधन, प्याकेजिङ एवं बजारीकरणसम्बन्धी महत्वपूर्ण तालिम तथा प्रशिक्षण र कृषि उत्पादनहरूको व्यवसायीकरणका लागि एवं उत्पादकहरूलाई बजारसँग प्रत्यक्ष रूपमा जोड्नका लागि कृषि वस्तुको लिलामी प्रक्रिया एउटा महत्वपूर्ण माध्यमका रूपमा पहिचान गरिएको छ । कोसी प्रदेशको निर्यातजन्य कृषि उपजहरू जस्तै— चिया, अदुवा, अलैंची र ताजा तरकारीको बजारीकरणमा लिलामी बजार सुरु गर्न सकिने प्रशस्त उपाय छन् ।
अन्तर्राष्ट्रिय स्तरमा कृषि उपजको लिलामी प्रक्रिया उत्पादकहरूका लागि वरदान साबित भएको छ, जसले कम समयमा आम्दानी एवं प्रतिफल दिन सक्छ । लिलामी प्रक्रिया एउटा व्यवसायको रूपमा स्थापित छ, जहाँ विक्रेता र खरिदकर्ताहरूबीच उत्पादनको बिक्री एवं मूल्यमा मध्यस्थता हुने गर्छ । लिलामी प्रक्रियामा प्रतिस्पर्धाको उपयोग गरेर उच्चतम सम्भव मूल्य निर्धारण गरिन्छ, जसले उत्पादकहरूलाई बढी नाफा प्रदान गर्छ । लिलामी प्रक्रियाको एउटा महत्वपूर्ण लक्ष्य भनेको उत्पादक र व्यापारी दुवै पक्षका लागि व्यापार गर्न र लाभको अधिकतम उपभोग गर्नका लागि एउटा उचित मञ्च प्रदान गर्नु हो, जसले साना किसानका लागि र साना फर्मको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण हुन्छ । त्यसैले लिलामी बजारले उत्पादनको स्वामित्व किसानहरूदेखि विक्रेता, वितरक वा खुद्रा विक्रेताहरूलाई हस्तान्तरण गर्छ । लिलामी बजारले कृषि उत्पादनमा राम्रो पारदर्शी अवस्था सिर्जना गर्न अनुमति दिन्छ, साथै उत्पादनको वास्तविक मूल्य निर्धारण गर्छ । त्यसैले नेपालमा लिलामी प्रणालीको परिचय, विशेष गरी कोसी प्रदेशमा किसानहरूको आर्थिक अवस्था सुधारमा योगदान पुर्याउने क्षमता छ र त्यहाँबाट लिलामी बजारको सुरुवात गर्न सकिन्छ ।
नेपालमा औपचारिक लिलामी बजारको अवधारणा अपेक्षाकृत नयाँ छ । यो पंक्तिकार कोसी प्रदेशमा लिलामी बजारको सम्भाव्यता अध्ययन कार्यमा संलग्न थियो । उक्त अध्ययनको मुख्य उद्देश्य कोसी प्रदेशमा कृषि उत्पादनको लिलामी बजार हाल अभ्यासमा के–कस्तो अवस्थामा छ र लिलामी बजार प्रणाली सुरु गर्न के–कस्ता तयारी आवश्यक छन् भन्ने विषयमा आधारभूत जानकारी उपलब्ध गराउन, लिलामी बजार प्रणालीलाई बुझ्न र अवधारणा बनाउनमा केन्द्रित थियो । यो अध्ययनले प्रमुख लिलामी बजारका प्रमुख सदस्यहरू, उत्पादन लिलामी बजारमा तिनीहरूको भूमिका र जिम्मेवारी पहिचान गरी उत्पादन लिलामी बजारको क्षेत्रमा स्रोतहरूको अन्वेषण र मूल्यांकन गरिएको थियो । यस अध्ययनमा लिलामी बजार र यसको प्रणाली तथा प्रथाहरूको विषयमा सरोकारवालाहरूको ज्ञान र सीपको अवस्थाको विश्लेषण गर्नु थियो । यो आधारभूत अध्ययन उत्पादन लिलामी प्रणालीका लागि दिशानिर्देश गर्ने र नेपालको सन्दर्भमा के–कस्ता तयारीहरू गर्नुपर्छ भन्ने विषयमा केन्द्रित थियो ।
अध्ययनको निष्कर्ष के थियो भने उत्पादन लिलामीका लागि कुनै पनि कार्य, नियम वा दिशानिर्देश विकास गर्नुअघि धेरै कुरामा ध्यान दिनु जरुरी छ । तीमध्ये हाल जुन प्रकारको थोक बिक्रीको चलनचल्तीभन्दा लिलामी प्रक्रियाको प्रभावकारिता, माग र आपूर्तिको अन्तर र वर्तमान स्थितिको सम्भाव्यताको अध्ययन, सरोकारवालाहरूको वर्तमान बजार समस्याहरूलाई मध्यनजर गर्दै लिलामी बजार उक्त समस्याको समाधान हो कि होइन भन्ने विषयमा अध्ययन, मूल्य श्रृंखला सुशासन सञ्चालन संरचना र मूल्य निर्धारण प्रक्रिया प्रणालीको विस्तृत अध्ययन, लिलामी प्रक्रिया विधि, लिलामी बजारलाई चुस्त–दुरुस्त राख्न अनुचित सट्टेबाजीलाई निरुत्साहित गर्न के–कस्ता व्यवस्था गर्न सकिन्छ, विक्रेता र खरिदकर्ताले लिलामी बजारको सुविधाको लाभ उठाउनका लागि कति कमिसन दिन तयार हुन्छन् भन्ने विषयमा ध्यान दिनु जरुरी छ ।
त्यस्तै विभिन्न भौगोलिक क्षेत्रमा लिलामी बजारको सञ्चालनका लागि समग्र वित्तीय र प्राविधिक क्षमताको सम्भाव्यता तथा वर्तमान गुणस्तर, परिमाण र विविधता, लेनदेनको परिमाण, बजार सहभागीको संख्या र उचित बजार मूल्य स्थापनाको सम्भावनाको सन्दर्भसँग तालमेल, उत्पादनको प्रकार, प्याकेजिङ, गुणस्तर आदिमा वर्तमान खरिदकर्ताको रुचिको सम्भावना, कृषि बजारमा साँठगाँठको हद के हो, गोप्य सम्झौताको सीमा के हो, उत्पादनहरू लिलामीद्वारा बेचिएको अवस्थामा त्यस्तो साँठगाँठको सम्बन्ध र किसानको मूल्यमा कस्तो प्रभाव पार्छ, लिलामीकर्ताले कति हदसम्म सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्यलाई विवेकपूर्ण विकल्पको माध्यमबाट प्राप्त मूल्यलाई अधिकतम गर्नका लागि काम गर्न सक्छन् भन्ने विषयमा समेत ध्यान दिनु जरुरी छ ।
त्यसैगरी निश्चित ठाउँमा निश्चित मापदण्ड सुनिश्चित गर्न व्यापारीहरूले उत्पादनलाई सरसर्ती हेर्न वा निरीक्षण गर्न र सामान सही रूपमा छ भन्ने सुनिश्चित हुन, सुविधाजनक ठाउँमा भण्डारण स्थल र आवश्यक गुणस्तर मापदण्डभित्र हुनु जरुरी छ भन्ने कुराको सुनिश्चितता, सामानको हरेक पार्सलले गुणस्तरको एउटा मापदण्ड पूरा गरेको साथसाथै व्यापारीले पूर्ण रूपमा विश्वास गरेको गुणस्तरको मापदण्ड पूरा गरेको हुनुपर्छ । उत्पादक-विक्रेताहरूले उत्पादनलाई लिलामीकै दिन बजारस्थलमा ल्याउन र बेच्न सक्छन्, बजार राम्रो तरिकाले व्यवस्थित र लिलामी व्यवस्थापनले गुणस्तर प्रमाणित गर्न निश्चित मापदण्ड तोकेको हुनुपर्छ, उत्पादनलाई जम्मा गरेर राख्न ठूलो ठाउँको आवश्यकता पर्ने हुँदा यसको सनिश्चितताका साथसाथै किनबेच गर्ने थलो, गाडी पार्किङको पनि उचित व्यवस्थापन हुनु जरुरी छ । यदि भण्डारण गर्ने स्थलको प्रबन्ध मिलाउन सकिन्छ भने सोही दिनमा हुने न्यूनतम मूल्य नोक्सानको जोखिमबाट उत्पादकहरूलाई जोगाउन सकिन्छ ।
लिलामीले गुणस्तर, मात्रा र प्याकेजिङको मानकको पालना गर्नका लागि किसान-विक्रेताहरूले ल्याएको उत्पादनलाई प्रदर्शन गर्ने र त्यो दिनको मूल्य निर्धारण गर्नका लागि केही नियमका मापदण्ड हुनुपर्छ, जुन कुरा वस्तुगत आधारमा र पूर्वाग्रह वा विवादवाट मुक्त हुनुपर्छ । विक्रेता र खरिदकर्तालाई आकर्षण गरी राम्रो अनुपातमा उत्पादनलाई बिक्री गर्न लिलामीकर्ताले लिलामीको सही तवरले विज्ञापन गर्नुपर्छ । लिलामी व्यवस्थापनले खरिदकर्ताको पहिचानसहित लिलामी बजारमा वास्तविक र सम्भावित खरिदकर्ताहरूसँग नियमित सम्पर्क र सहयोग अनिवार्य छ ।
त्यसैगरी लिलामी प्रक्रिया सञ्चालन गर्न लिलामीको मार्गदर्शन र कार्यविधि बनाउने, लिलामीमा भाग लिने किसान-विक्रेता, खरिदकर्ता-व्यापारीहरूका लागि नीति बनाउने, लिलामी बजारको प्रक्रिया बनाउने जस्तै- लिलामी बजारमा लिलामी हुने सबै उत्पादनको सूचना, विक्रेताको सूचना, उत्पादक-विक्रताको तर्फबाट काम गर्ने कमिसन एजेन्टको सकारात्मक सहभागिता हुने गरी व्यवस्थापन गर्नु जरुरी छ । लिलामी बजारमा कमिसन एजेन्टद्वारा उत्पादक-विक्रेताको बिक्रीको तुरुन्त भुक्तानी गरिने व्यवस्था समेत मिलाउन जरुरी छ । लिलामी बजार भन्नलाई जति सजिलो छ, त्यसको कार्यान्वयन भने सजिलो छैन, धेरै कुरामा विचार पुर्याउनु जरुरी छ ।
(लेखक राष्ट्रिय किसान आयोगको मूल्य श्रृंखला एवं बजार प्रणाली विकास विज्ञ र कृषि तथा वन विज्ञान विश्वविद्यालयको एडजङ्ट फ्याकल्टीको रूपमा सूचीकृत छन् ।)