डर र त्रास देखाएर बीमा

बारा– सम्भावित दुर्घटना, ठूला रोग, मृत्युलगायतका भय, त्रास देखाइ जीवन बीमा गराउने अभिकर्ताहरू बाराको ग्रामीण क्षेत्रमा सक्रिय भएका छन् । कम्पनीको लक्ष्य, आकर्षक कमिसन, नियमित तलब जोगाइ राख्न त्यस्ता अभिकर्ताहरूले बाराको ग्रामीण क्षेत्रमा सर्वसाधारणलाई क्षमताभन्दा माथिको ठूलो किस्ताको रकम तिर्नै नसक्ने पोलिसी गर्न बाध्य बनाउन थालेका हुन् ।
सहर बजारमै बीमितहरूले किस्ता नियमित गर्न नसकेपछि जीवन बीमाका अभिकर्ताहरू ग्रामीण क्षेत्रमा वैदेशीक रोजगारमा गएका परिवार, आफन्त, कृषि कर्म गरिरहेका किसानहरूलाई ठूला रकमका पोलिसि गराउने कार्यमा लागि परेको कारण विवाद सुरु हुन थालेको छ । डुमरबानाका बाबु पाण्डेले बीमा कम्पनीका अभिकर्ताहरूले कमिसन पाउने लोभमा आफनोलगायत आसपासका ग्रामीण क्षेत्रमा दोस्रो किस्ता तिर्न नसक्नेलाई सम्भावित त्रास देखाइ पोलिसी बेच्ने गरेको बताए ।
उनले अहिले गाउँ गाउँमा पहिलो, दोस्रोसम्म जेनतेन गरी बुझाएको किस्ताको रकम फिर्ता लिन जीवन बीमा कम्पनीमा जाने क्रम बढको जानकारी दिए । समाजका प्रतिष्ठित पेसामा आबद्ध रहेकाहरूनै कमिसन तथा मासिक तलबको लोभमा अभिकर्ता बनेर किस्ता नियमित गर्न नसक्ने क्षमता भएकालाई विश्वासमा पार्दै बीमित बनाउने कार्यमा लागि परेका छन् ।
सिमरा–२ का शैलेश गिरीले नेपाल लाईफ ईन्स्योरेन्समा आफूले दुई पटक मात्रै जम्मा गर्न सकेको किस्ता फिर्ता लिन सय चोटी धाउँदा विभिन्न नियम बताइ आधा रकम मात्रै दिएको बताए । उनले चिनेकै गाउँको साथीले विभिन्न कुरा गरी मैले नियमित किस्ता बुझाउन सक्दिनभन्दा पनि सामान्य रकम काटेर चाहेको बेला फिर्ता हुन्छ भन्दै बीमा गराएकोमा बीमाको पैसा आधा मात्रै पाउँदा आफू अन्यायमा परेकोले बताए ।
अभिकर्ताहरूले आफनो रकम फिर्ता लिन चाहेका बीमितहरूलाई अर्को बीमा गर्ने मान्छे खोज्न बाध्य बनाउन थालेपछि कतिपय ग्रामीण क्षेत्रमा सुरु हुन थालेको विवाद जनप्रतिनिधि, प्रहरी, प्रशासनसम्म पुगेको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको नीति निर्देशिका, बीमा ऐन र नियमावलीले दिएको अधिकार क्षेत्रलाई समेत अटेर गर्दै लक्ष्य पूरा गर्न शाखा प्रबन्धक र एजेन्टले कम्पनीको कार्यविधिभन्दा बाहिर गएर बीमित गराउने कार्य यतिबेला जिल्लाका ग्रामीण क्षेत्रमा व्यापक बनेको छ ।
पछिल्लो समय स्थानीय सरकारले आक्रामक ढंगले आफना नागरिकलाई स्वास्थ्य बीमा गराइ मातहतकै स्वास्थ्य केन्द्र, जिल्ला तथा प्रादेशिक अस्पतालमा उपचार दिन थालेपछि जीवन बीमा कम्पनीहरूले विकृती बढाउन थालेको जनप्रतिनिधिहरूको आरोप छ । डुमरबाना, रतनपुर, सिंगौल, कोहल्बी, फतेपुर, रामनगरलगायतका दर्जन बढी ग्रामीण क्षेत्रमा जीवन बीमाका यस्ता समस्या बढेपछि सर्वसाधारणहरूले कम्पनीले पैसा फिर्ता नदिएको भन्दै जनप्रतिनिधि, प्रहरी र प्रशासनमा उजुरी दिन थालेका छन् ।