कन्साई नेरोलेक पेन्टले शिशु हेरचाह कक्ष निर्माण गर्ने

वीरगन्ज- नेपालको बहुराष्ट्रिय कम्पनी कन्साई नेरोलेक पेन्टले वीरगन्जको नारायणी अस्पतालमा शिशु हेरचाह कक्षको निर्माण गर्ने भएको छ । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट नारायणी अस्पतालमा शिशु हेरचाह कक्ष निर्माण गर्ने भएको हो ।
वीरगन्ज महानगरपालिकाको पहलमा नारायणी अस्पतालमा कम्पनीले मातृशिशु हेरचाह कक्ष स्थापना गर्न आइतबार त्रीपक्षीय सम्झौता गरेको छ । कम्पनीको ३५ देखि ४० लाख लागतमा मातृशिशु हेरचाह कक्ष स्थापना गर्न लागिएको कन्साई नेरोलेक पेन्टका निर्देशक अशोक वैदले जानकारी दिए ।
वीरगन्ज पथलैया औद्योगिक करिडोरमा उद्योग सञ्चालनमा रहेको र नारायणी अस्पताल बारा, पर्सा, रौतहट, सर्लाही, हेटौडा लगायतका बिरामीहरुको उपचार केन्द्र पनि भएको सामाजिक उत्तारदायित्व अन्तर्गतको रकम अस्पतालमा लगाउ उचित लागेर नारायणी अस्पतालमा शिशु हेरचाह कक्ष निर्माण गर्ने निर्णय गरेको वैदले बताए । कम्पनीले एकदेखि डेढ महिनाभित्रमा सबै संरचना पूरा गरेर हस्तान्तरण गरिने वैदले बताए ।
संरचना निर्माणका लागि कम्पनीको तर्फबाट कन्ट्री हेड मनोज मिश्र, नारायणी अस्पतालको तर्फबाट निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चितरञ्जन साह र वीरगन्ज महानगरपालिकाको तर्फकाट निमिक्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले हस्ताक्षर गरेका छन् । अस्पतालमा शिशु हेरचाह कक्ष स्थापना पछि वीरगन्ज लगायतका आसपास जिल्लाका सबैले सुविधा पाउने वैदले विश्वास व्यक्त गरे ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरिब विपन्न नागरिकको उपचार गर्ने एकमात्र भरोसाको केन्द्र नारायणी अस्पताललाई विभिन्न दाताहरुको सहयोगबाट सुविधा सम्पन्न बनाउनका लागि आफूले सक्दो पहलहरु गरिरहेको बताए । नारायणी अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चितरञ्जन साहले कन्साई नेरोलेक कम्पनीको सहयोगले अस्पतालमा शिशु हेरचाह कक्ष स्थापना भएमा मातृशिशु मृत्यु दर अझ कम हुनेमा विश्वास व्यक्त गरे ।
उनले अस्पतालमा बिरामीहरुको चाप बढी रहेको र प्रसुती वार्डमा पनि भीड हुने गर्दा नवजात शिशु र आमालाई विभिन्न संक्रमण हुने जोखिम पनि हुने गरेकोले शिशु हेरचाह कक्ष स्थापनापछि यसले मातृशिशु स्वास्थ्यका लागि सहज हुने बताए । अस्पतालमा दैनिक ८/९ वटा प्रसुतीको अपरेशन गर्नुपरिरहेको र उनीहरुलाई प्रसुतीपछि राख्ने सुरक्षित स्थानको अभाव भईरहेको अवस्थामा कम्पनीले निर्माण गरिदिने संरचनाले केही राहत पुग्ने डाक्टर साहले बताए ।