भारतबाट १५ मुर्रा राँगा नेपालगन्ज आइपुगे «
Logo

भारतबाट १५ मुर्रा राँगा नेपालगन्ज आइपुगे

नेपालगन्ज– नस्ल सुधार प्रयोजनका लागि भारतले वस्तुगत सहायताअन्तर्गत उपहार दिएका उन्नत जातका १५ वटा मुर्रा राँगा नेपाल ल्याइएको छ । भारतको पञ्जाबस्थित राष्ट्रिय भैँसी अनुसन्धान केन्द्रबाट राँगालाई जमुनाहा नाका हुँदै नेपाल भित्र्याएको हो । यी राँगा नेपालका भैंसीको दूध उत्पादन क्षमता बढाउनका लागि कृत्रिम गर्भाधान गरेर नस्ल सुधार गर्ने प्रयोजनले ल्याइएका हुन् ।

पशु सेवा विभागका अनुसार राँगाको क्वारेन्टाइन चेकजाँच गरेर पोखरामा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा सातवटा, लहानमा पाँचवटा र बाँकेको खजुरास्थित गौघाटमा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा तीनवटा राखिने भएको छ । भारतको पञ्जाबस्थित राष्ट्रिय भैँसी अनुसन्धान केन्द्रबाट ल्याइएको राँगा नेपालका भैंसीको दूध उत्पादन क्षमता बढाउनका लागि कृत्रिम गर्भाधान गरेर नस्ल सुधार गर्ने प्रयोजनले प्रयोग गरिने विभागका प्रमुख डा. माधवप्रसाद अर्यालले बताए ।

यसले नेपाली भैंसीको दूध उत्पादन र उत्पादकत्व बढाउन सकिने उनको भनाइ छ । ‘यी राँगाहरूबाट हामी सिमेन (वीर्य) निकाल्छौं, त्यसलाई कृत्रिम गर्भाधानको काममा प्रयोग गर्छौं,’ उनले भने, ‘राष्ट्रिय पशु प्रजनन कार्यालयले यी राँगाको पालनपोषणलगायत सिमेन संकलन गर्ने काम हुने र यसबाट भैँसीको वंश सुधार हुन्छ ।’ नेपालगन्ज आइपुगेका राँगालाई जैसपुरस्थित पशु क्वारेन्टाइन कार्यालयको होल्डिङ याडमा राखिएको छ ।

राँगासँगै भारतबाट पशु चिकित्सकसहितको टोलीसँगै आएको छ । राँगाको स्वास्थ्य परीक्षणलगायत प्राविधिक काम गरेर पशु चिकित्सकसहितको टोलीले परीक्षणबाट कुनै रोग ल्याएको छैन भन्ने निश्चित भएपछि मात्र प्रजनन केन्द्रमा पठाइने पशु क्वारेन्टाइन कार्यालयका प्रमुख विनयकुमार कर्णले बताए । मुर्रा राँगा पठाइने तीन जिल्लाका पशु चिकित्सकसहित विभागको टोलीले परीक्षण गरेर स्वस्थ भएको प्रमाणित गरेर मात्र त्यहाँ पठाइने उनको भनाइ छ ।

राष्ट्रिय भैँसी अनुसन्धान केन्द्र, भारतका अनुसार भारतबाट ल्याइएका मुर्रा राँगाहरू दुईदेखि तीन वर्षमाथिका रहेको र अबको केही समयमै वीर्य संकलन गर्न तयार हुनेछन् । यिनका लागि आवश्यक पर्ने पौष्टिक आहार र उचित स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको केन्द्रका भेटनरी अफिसर डा. राजेशकुमारले बताए । ‘यहाँ ल्याइसकेपछि यिनको उचित आहारा र स्वास्थ्यमा विशेष ध्यान दिन म नेपाली टोलीलाई आग्रह गर्छु,’ उनले भने ।

विश्वव्यापी रूपमै मुर्रा जातका भैँसी दूध उत्पादनमा अब्बल मानिएका छन । मुर्रा भैँसीले एक बेतमा ३५ सयदेखि ५ हजार किलोसम्म दूध उत्पादन गर्ने क्षमता रहेकाले मुर्रा राँगाबाट भैँसीको वंश तथा नस्ल सुधारसँगै उत्पादन र उत्पादकत्व बढाउन सकिने अपेक्षा पशु सेवा विभागको छ ।

नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको निर्णयअनुसार विभिन्न समयमा औपचारिक तथा अनौपचारिक रूपमा भारत सरकारसँग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगा नेपाल सरकारलाई उपलब्ध गराउन अनुरोध भएको थियो । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेका बेला त्यहाँको सरकारसँग भएको सम्झौता अनुसार मुर्रा राँगा नेपाल ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्