Logo

नेपाली सेना र स्थानीयबासीद्वारा सडक मर्मत

खोटाङ– पुष्पलाल मध्यपहाडी पहाडी राजमार्गअन्तर्गत सेखुवा–चखेवा पंखु खोला नजिकको दुर्घटना जोखिमयुक्त सडक नेपाली सेना र स्थानीयबासीले श्रमदानमार्फत् मर्मत गरेका छन् । दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका लामिडाँडा र बुवासुङ अन्तर्गतको सडक मर्मत साथै सोलिङ गरेका हुन् । गोरखनाथ मुडे ब्यारेकका २५ जना नेपाली सेना र स्थानीयबासीको सहयोगमा दुर्घटना जोखिम सडकलाई मर्मत कार्य गरिएको हो ।

सडक तीन दिनसम्म मर्मत कार्य हुने र सो मर्मत कार्यलाई करिब ७५ मिटरसम्म सोलिङ गर्ने स्थानीयबासी भरत श्रेष्ठले बताए । श्रमदानमा दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका नगर प्रमुख तीर्थराज भट्टराईको समन्वय र ८/९ नम्बरका वडाका वडाध्यक्ष व्यवस्थापन तथा पहलमा नेपाली सेना स्थानीयबासीको सहयोगमा श्रमदान कार्य भएको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराइले बताए ।

निर्माण कम्पनीले भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभी चखेवा भञ्ज्याङ सेखुवा १० किलोमिटर सडक खण्ड कालोपत्रे योजना ठेक्का लिएको थियो । भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरी २०७२ चैत २ गते चखेवाभञ्ज्याङ सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो ।

ठेकेदारले चखेवाभञ्ज्याङ सेखुवा सडक कालोपत्रेको काम पूरा गर्ने छाँट नदेखाएको कारण (पुष्पलाल मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले ठेक्का विभाग ठेक्का सम्झौता रद्द गरिसकेको छ । उच्च अदालतबाट कालोपत्रे योजना ठेक्का तोडने निर्णय हाललाई कार्यान्वयन नगर्न स्टे अर्डर जारी गरेको छ ।

दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोडने पंखु खोलाको १५ मिटर लम्बाइको पुलको दुईतिरको पिलरमात्र ठडयाउने बाहेक अन्य काम भएको छैन । पंखु खोलाको पुल दुई करोड २९ लाखमा पूरा गर्ने गरी सिरुवा कन्स्ट्रक्सनले ७ असोज २०७२ मा ठेक्का सम्झौता गरेको थियो ।

२०७५ असार मसान्तमै सम्पन्न गर्नुपर्ने निर्माण हालसम्म अलपत्र परेको छ । पटकपटक म्याद थप गर्दा पनि निर्माण कार्य पूरा नगर्दा पुलको ठेक्का पनि रद्द भएको छ । पुल पूरा नहुँदा पिलरको रड खियाले खाइसकेको छ । पुल निर्माण अलपत्र अवस्थामा हुँदा स्थानीयबासीले सास्ती खेप्दै आएका छन् ।

चखेवाभञ्ज्याङ सेखुवा सडक कालोपत्रे काम सकिएपछि भोजपुरदेखि खोटाङ हुँदै काठमाडौं आवतजावत गर्न स्थायी रूपमा छोटो र सहज हनेछ । मध्यपहाडीको भोजपुरभित्र पर्ने सबै खण्ड तथा खोटाङभित्र पर्ने अन्य सडक खण्ड कालोपत्रे भइसक्दा चखेवाभञ्ज्याङ सेखुवासम्मको सडक हालसम्म कालोपत्रे हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्