डिजाइन बिना सिँचाइ ओजनाको काम «

डिजाइन बिना सिँचाइ ओजनाको काम

रुकुम, १ फागुन, पश्चिम रुकुम चौरजहारी नगरपालिकामा निर्माणाधीन चौरजहारी टार सिँचाइ आयोजनाको कामको जिम्मा लिएको ठेकेदार कम्पनीले १ वर्ष बित्दा पनि डिजाइन नपाउँदा समयमा काम सम्पन्न गर्न समस्या भएको छ । सन् २०१७ फेब्रुअरीमा सम्झौता भएको योजना २०१९ फेब्रुअरीमा सम्पन्न गरिसक्नुपर्नेछ ।
तर १ वर्ष बितिसक्दा समेत निर्माण कम्पनीले सिँचाइ विभागबाट योजनाको पूर्ण डिजाइन नपाउँदा प्रभावकारी काम हुन नसकेको हो । १० करोड बढीको उक्त आयोजना निर्माणको जिम्मा वज्र ग्रुप प्रालिले पाएको थियो । पटकपटक विभागका कर्मचारी आएर मौखिक रूपमा मात्र टुक्रे डिजाइन दिने गरेको र त्यहीअनुसार काम भइरहेको निर्माण कम्पनीका सहायक सुपरभाइजर सोमनाथ थकालीले बताए । “हामीले लिखित रूपमा डिजाइन पाएका छैनौं त्यसकारण काम गर्न समस्या भएको छ,” उनले भने, “कहिलेकाहीँ लामो समयसम्म विभागका कर्मचारी नआउँदा काम रोकिने र मौखिक रूपमा दिइएको स्टिमेटअनुसार पछि पास हुन्छ कि हुँदैन भन्ने मै शंका उत्पन्न भएको छ ।”
आफूहरूले डिजाइन नपाएर एकैपटक ठूलो मात्रामा कामदार लगाएर समयमै काम पूरा गर्न नपाएको निर्माण कम्पनीको भनाइ छ । तत्काल डिजाइन प्राप्त भयो भने सहमति भएकै समयमा काम सम्पन्न हुने तर डिजाइन आउन सकेन भने सहमतिको समयमा काम सम्पन्न नसकिने उनीहरूको भनाइ छ । चौरजहारी क्षेत्रमा सिँचाइ सुविधाका लागि निर्माण सुरु भएको योजनाको काम अहिलेसम्म २५ प्रतिशतमात्रै सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्