तानसेन–बुटवल सडक निर्माण सुस्त «

तानसेन–बुटवल सडक निर्माण सुस्त

सडक विभाग र ठेकेदारको बेवास्ताको कारण सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकको मर्मत कार्य वर्षांदेखि अलपत्र परेको छ । सडकको मर्मत तथा पुनर्निर्माणमा भएको लापरबाहीका कारण दैनिक हजारौं यात्रुले धुलाम्मे र हिले सडकमा यात्रा गर्न बाध्य भएका छन् । जसका कारण दैनिक सवारी दुर्घटनासँगै सडकको अस्तित्व नै संकटमा परेको छ ।
भारतको सुनौलीदेखि मुस्ताङको लोमान्थाङ हुँदै कोराला जोड्ने प्रमुख मार्गको रूपमा रहेको यो सडक पाल्पा–बुटवल क्षेत्रको पुनर्निर्माण कार्यमा ठेकेदार र सडक डिभिजनले गरेको लापरबाहीका कारण अलपत्र परेको हो । सिद्धार्थ राजमाार्गको सिद्धबाबा क्षेत्र, चर्चरे केरावारी क्षेत्र, डुम्म्रे खोलाको छेउ, विन्दावन पेट्रोलपम्प नजिककैको सडकको मर्मत गर्न खनेको वर्र्षौ भइसक्दा समेत अझैसम्म काम सुरु हुन सकेको छैन । यहाँ सेफ्टी वाल सडक भत्काएर त्यसै छाडिएको छ भने पहिरो गएर सडक खस्न सक्ने जोखिम बढेको स्थानीय बासिन्दा बताउँछन् ।
यसको पुनर्निर्माणका लागि आव ०७१/७२ मा पाँच करोड ४७ लाख २९ हजार रुपैयाँमा सडकको पुनर्निर्माणका लागि ठेक्का भएको थियो । ठेक्काअनुसार दर्जन बढी स्थानमा सेफ्टी पर्खाल, उबडखाबड सडकको पिच गर्ने, पानी बगेको स्थानमा आरसीसी गर्न कान्छाराम–जयबावा–गोरखा जेभीलाई ठेक्का दिइएको थियो । यसअन्तर्गत सिद्धबावा, झुम्सा, बाँसटारी क्षेत्रमा आरसीसी गर्ने, डुम्रे, दोभान, चर्चरे, भुम्सा क्षेत्रमा सेफ्टी वाल निर्माण गर्ने, मोड सुधार गर्ने लगायतका काम सम्झौतामा उल्लेख छ ।
ठेकेदारले अहिले डुम्रे बजारनजिकै खोलामा सडकको माथिल्लो भागमा सेफ्टी पर्खालको काम गरिरहेको छ । सोही स्थानकै तल्लो भागमा डुम्रेमा सडक खस्ने जोखिमबाट बचाउन डेढ सय मिटर वाल उठाएर काम ठूलो खाल्डो खनेर छाडिएको छ । यो खाल्डोका कारण पानी पर्ने बित्तिकै सडक खोलामा खस्ने सम्भावना बढेको स्थानीय विष्णु थापाले बताए । पानी पर्ने बित्तिकै सडक खोलामा खस्ने सम्भावना छ उनले भने सडक बनाउने भन्दा सडक खोलामै खस्ने खालको काम भएको छ ।
सडक भत्केको खण्डमा यस सडकमा यात्रा गर्ने हजारौँ यात्रुले सास्ती बेहोर्नु पर्छ भने उत्तर दक्षिण जोड्ने प्रमुख मार्ग नै अवरुद्ध हुनेछ । जोखिम अवस्था र वर्षातलाई मध्यनजर गर्दै यहाँको काम छिटोभन्दा छिटो गर्नुपर्नेमा सम्बन्धित निकाय भने मौन छ ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले तापक्रम नपुगेका कारण काम रोकिएको जानकारीमा आएको बताए । उनले ठेकेदारले विभिन्न बाहना बनाउँदै म्याद थप गर्दै गरेको बताए । ठेकेदारले पहिले भूकम्प, त्यसपछि वर्षात्, निर्वाचन र अहिले आएर तापक्रम नपुगेको भन्ने बाहना बनाउँदै काम गर्न आलटाल गर्ने गरेको बताए ।
यस क्षेत्रमा सडक मर्मत संभारका लागि वार्षिक करोडौं बजेट आउने र खर्च हुने गर्दछ तर सडकको अवस्था भने कच्ची सडककै जस्तो हँुदा सवारी चालक, यात्रु र सर्वसाधारण थप समस्या पर्ने गरेका छन्, श्रीनगर यातायात व्यवसायी समितिका अध्यक्ष डिलबहादुर ढुंगानाले भने, “सडक जस्तो संवेदनशील काममा सम्बन्धित पक्षले समयमै काम सम्पन्न गर्नुपर्दछ ।”

अमृत अधिकारी

प्रतिक्रिया दिनुहोस्