अस्तव्यस्त धनगढीको मेनरोड
पानी र माटो व्यवस्थापन नगर्दा व्यापार व्यवसाय प्रभावित

धनगढी– धनगढीको पौने चार किलोमिटर लामो मेनरोड निर्माणाधीन अवस्थामा छ । कैलालीपुलदेखि चौराहासम्मको १.३८ किलोमिटर सडकमा सबबेस निर्माण भइरहेको छ भने कैलालीपुलदेखि क्याम्पस चोकसम्मको २.३ किलोमिटर सडकमा नाली निर्माण भइरहेको छ । नाली निर्माणको गर्न लाइन खनिएकोले गर्दा पुरानो नाली पुरिएको छ । नालीमा जाने सबै पानीको निकास नहुँदा सडक ताल बनेको छ ।
धनगढी उपमहानगरपालिकाको समन्वयमा निर्माण भइरहेको मेन रोडको दुवै खण्डमा हिलो र धुलोले धनगढी बजार नै अस्तव्यस्त भएको छ । मेनरोड निर्माण गरिरहेको निर्माण कम्पनीहरूले सडक सुचारु राख्दै निर्माण गर्नुपर्ने भए पनि सडकमा आउने पानी व्यवस्थापन नगरेकोले जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्मको सडक ताल बनेको छ । सडकको पानी व्यवस्थापन नहुँदा खाल्डो झनझन गहिरो हुँदै गएका छन् ।
सडकमा पानी जमेर हिलो र गहिरो खाल्दो भएको कारण आवतजावत प्रभावित भएको छ । तर त्यसलाई व्यवस्थापन गर्न निर्माण कम्पनी, धनगढी उपमहानगरपालिका र ठेक्का लगाउने पूर्वाधार विकास कार्यालय कैलालीले कुनै चासो दिएका छैनन् । पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख इन्जिनियर रामचन्द्र खत्रीले सडक निर्माणाधीन भएकोले पानी, हिलो, धुलो, खाल्डो स्वाभाविक रहेको बताए । उनले निर्माण कम्पनीले नाली निर्माण सम्पन्न गरेपछि सडकमा ग्राभेल गर्ने बताए ।
सडकमा जमेको पानीले गर्दा हिलो र गहिरो खाल्डोले दुर्घटना र सडक जाम हुने गरेको छ । सडकमा पानी जम्न नदिन र खाल्डो पुर्न गुनासो आएको बताउँदै धनगढी उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख द्विजराज भट्टले गुनासो सुन्ने शाखाबाट सडकको समस्या समाधान गर्न निर्माण कम्पनीलाई निर्देशन गरिएको बताए ।
कैलालीपुलदेखि क्याम्पस चोकसम्म ५१ करोड ६८ लाख रुपैयाँमा निर्माण गर्ने ठेक्का लिएको केएस कन्स्ट्रक्सन प्रालिले नाली बनाउन खनेको माटो समेट व्यवस्थापन नगर्दा सडक निकै साँघुरो हुनुका साथै साइकल, मोटरसाइकल पार्किङ गर्न र ग्राहक पसलमा आउन निकै अप्ठेरो भएको व्यवसायी बताउँछन् । निर्माण सम्पनीले नाली खन्दा निस्केको माटो तुरुन्त व्यवस्थापन गर्नुपर्ने भए पनि महिनौदेखि सडकमै थुपारेर राखेको छ । सडक हिलाम्य, धुलाम्य र माटोले भरिएको हुनाले व्यापार व्यवसायमा समेत असर परेको एक व्यापारीले बताए ।
उनले धुलोले गर्दा पसलमा राखेको सामान समेत खराब भइरहेको बताए । २०८२ वैशाख २६ गतेसम्म सडकमा फुटपाथ, ड्रिनेज, सडक बत्तीलगायत सडकको सम्पूर्ण संरचना निर्माण गरिसक्ने गरी सम्झौता भएको छ । तर निर्माण कम्पनीले ६ महिना बिते पनि नालीसमेत निर्माण सम्पन्न गर्न सकेको छैन । मेनरोड चार लेनको बन्ने भएपछि कैलालीपुलदेखि क्याम्पस चोकसम्मका ४२८ जना घरधनीहरूले आफ्नो घर आफै भत्काएका थिए ।
कैलालीपुलदेखि चौराहासम्मको सडक निर्माणको ठेक्काको दोस्रो पटक थपिएको म्याद पनि अक्टोबर ३१ (कात्तिक १४ गते) मा सकिएको छ । निर्माणको ठेक्का लिएको कालिका कन्स्ट्रक्सन प्रालिले सो सडकमा सब बेस निर्माण गर्ने कार्य सम्पन्न गर्न सकेको छैन । विद्युतको पोल सार्न ढिलो भएको कारणले गर्दा पछिल्लो पटक निर्माणमा बाधा भएको संघीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
‘अझै पनि सबै विद्युत पोल सार्न नसकिएकोले म्याद थप गर्नै पर्ने अवस्था आएको छ,’ सो कार्यालयका इन्जिनियर शौरभ कलौनीले भने, ‘म्याद थप गर्ने नगर्ने विषयमा निर्णय भइसकेको छैन ।’ यद्यपि अर्को आर्थिक वर्षसम्म नजाने गरी निर्माणलाई तीव्रता दिन निर्माण कम्पनीलाई ताकेता गरिएको इन्जिनियर कलौनीले बताए । उनले आउँदो चैत वैशाखसम्म कालोपत्रे गर्ने कार्य सम्पन्न गरी फुटपाथसमेत निर्माण सम्पन्न गर्नुपर्ने बताए ।