Logo

कृषिमा सहकार्य गर्न नेपाल र कोरियाबीच सम्झौता

काठमाडौं– नेपाल र कोरियाबीच कृषि क्षेत्र विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ । नेपालको तर्फवाट कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाल र गणतन्त्र कोरियाका तर्फबाट कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ्ग व्हाङ्गक्वुनले समझादारी पत्रमा हस्ताक्षर गरेका हुन् । कृषि मन्त्रालयमा बिहीबार भएको दुई मन्त्रीबीचको बैठकपछि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रअनुसार दुवै पक्षले आ–आफ्नो राष्ट्रिय कानून बमोजिम दुई देशबीचको कृषि विज्ञान तथा प्रविधि, कृषि तथा पशुपन्छी उत्पादन, कृषि उत्पादन, कृषि प्रशोधन क्षेत्रमा सहयोग गर्नेछन् । यसैगरी कृषि तथा पशुपन्छी क्षेत्रको अध्ययन, अनुसन्धान तथा विकास, पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा पनि दुई देशबीच सहयोग र सहकार्य गरिनेछ ।

दुई देशका कृषि विश्वविद्यालयहरुको सहकार्यमा कृषि अनुसन्धान तथा अध्ययनका कार्य गरिने समझादारी भएको छ । यस्तै नेपाल कृषि अनुसन्धान परिषद् र कोरियाको कृषि अनुसन्धान परिषद्बीचको सहकार्यमा अनुसन्धानका कार्यहरु अगाडी बढाइने छ । सम्झौताले नेपाली कृषि स्नातक विद्यार्थी तथा युवा कृषकहरुको लागि सिक्ने र कमाउने अवसर हुने कृषि मन्त्री भुसालले बताए ।

मन्त्री भुसालले नेपालमा कृषि र पर्यटन क्षेत्रमा लगानीको सम्भावना भएको हुनाले कोरियाको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण हुने बताए । सन् १९७४ मे १४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र गणतन्त्र कोरियाबीच सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध रहँदै आएको छ ।

मन्त्री भुसालले कोरिया सरकारबाट रेशम खेती प्रवर्द्धन, दुग्ध क्षेत्र विकास र तरकारीको मूल्य श्रृँखलाको विकासमा भएको सहयोगबाट नेपालले ठूलो लाभ लिएको तथा उन्नत आलुको बीउ उत्पादन र हाईब्रिड धान उत्पादन प्रविधिमा सहकार्य गर्ने कार्य प्रक्रिया अगाडि बढाएको जानकारी दिए । यसैगरी कोरियाली मन्त्री व्हाङ्गक्वुनले कोरिया सरकारले नेपाललाई प्राथमिकतामा राखी सहयोग र सहकार्य गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्