Logo

बेलायतमा जलविद्युत लगानी सम्मेलन

काठमाडौं- बेलायतमा जलविद्युत सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ । २१ डिसेम्बर १९२३ मा नेपाल र संयुक्त अधिराज्यबीच भएको मैत्री सन्धीको १०० वर्ष पूरा भएको अवसर पारेर लगानी सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा नेपालबाट निजी क्षेत्रसहितको उपस्थिति रहने भएको छ । सम्मेलनमा नेपालको जलविद्युत क्षेत्रमा लगानी बढाउनका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गरिने योजना रहेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार नेपालको जलविद्युतमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित बेलायतमा लगानी सम्मेलन हुन लागेको हो । नेपालको ऊर्जा क्षेत्रमा ब्रिटिश लगानी भित्र्याउने मुख्य उद्देश्य रहेको पनि बताइएको छ । २१ डिसेम्बर १९२३ मा नेपाल र संयुक्त अधिराज्यबीच भएको मैत्री सन्धीको १०० वर्ष पूरा भएको अवसर समेत पारेर लगानी सम्मेलन आयोजना गरिएको नेपाली राजदूतावास बेलायतले जनाएको छ ।

विशेष गरी बेलायतबाट नेपालमा जलविद्युत, हरित पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा पर्यटनलगायतका क्षेत्रहरूमा लगानी भित्र्याउने उद्देश्यले बेलायतको परराष्ट्र मन्त्रालय तथा ब्रिटिस इन्टरनेश्नल इन्भेष्टमेन्ट समेतको सहयोगमा लगानी सम्मेलनको आयोजना गर्न लागिएको हो । सिटी अफ लन्डनको मेनसिन हाउसमा अक्टोबर ३१ मा हुने लगानी सम्मेलनमा इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की, उपाध्यक्ष उत्तम भ्लोन र सल्लाहकार बटु लामिछाने सहभागी हुनेछन् ।

नेपाली दूतावासको निमन्त्रणामा बेलायत पुगेको इप्पान प्रतिनिधि मण्डलले नेपालको जलविद्युतलगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानीको सम्भावना र व्यावसायिक वातावरणका विषयमा प्रस्तुतीकरण दिने कार्यक्रम छ । उक्त सम्मेलनमा बेलायतको निजी क्षेत्रका लगानीकर्ताहरू, सम्बन्धित सरकारी निकायहरू एवं संस्थागत वित्तीय श्रोतहरू उपलब्ध गराउने संस्थाहरूलाई समेत निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्