लमजुङ प्रशासनमा डिजिटल गुनासो तथा सुझाव

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङले डिजिटल गुनासो तथा सुझाव संकलन सुरु गरेको छ । कार्यालयको सेवा प्रवाहबारेमा सेवाग्राहीको प्रतिक्रिया लिन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन डिजिटल सुझाव तथा गुनासो सेवा सुरु गरिएको प्रशासन कार्यालले जनाएको छ ।
सरकारी कार्यालयमा सेवाग्राहीको गुनासो वा उजुरीका लागि अनिवार्य गुनासो पेटिका राखिएको भएपनि परम्परागत गुनासो पेटीकामा गुनासो वा उजुरी नपरेपछि समयानुसार डिजिटल गुनासो तथा सुझाव संकलनतर्फ लागिएको लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए । सेवाग्राहीले आफूले लिएको सेवाको प्रभावकारिता सम्वन्धी कार्यालयमा राखिएको क्यूआर स्क्यान गरी निःशुल्क प्रतिक्रिया दिन सक्ने प्रजिअ अधिकारीको भनाइ छ ।
‘प्रशासन कार्यालयमा सबै सेवाग्राहीको पहुँच पुग्नेगरी क्यूआर राखिएको छ’ प्रजिअ अधिकारीले भने, ‘सेवाग्राहीले मोबाइलमार्फत छोटो समयमै आफ्नो प्रतिक्रिया र सुझाव राख्न सक्छन् ।’ सेवाग्राहीले मोबाइलमार्फत क्यूआर स्क्यान गरी त्यसभित्र रहेका बस्तुगत प्रश्नको प्रतिक्रियासँगै विषयगत आफ्नो सुझाव राख्न सक्ने प्रजिअ अधिकारीले बताए ।
सेवाग्राहीका सुझाव डिजिटल हुने भएकाले उक्त सुझावलाई नियमित समीक्षा गरी कार्यालयको सेवा प्रवाह सहज र थप प्रभावकारी बनाइने प्रशासनले जनाएको छ । जिल्लाका प्रायः सबै सरकारी कार्यालयमा गुनासो पेटिका राखिएका छन्, तर प्रायः कार्यालयका पेटीकामा अहिलेसम्म गुनासो परेको छैनन् । कुनै उजुरी वा गुनासो राख्न सेवाग्राहीलाई सहज होस भन्दै सरकारी कार्यालयमा गुनासो पेटीका राखिए पनि प्रयोगविहीन भएका छन् ।
सर्वसाधरणको गुनासो सुनुवाइका लागि प्रत्येक कार्यालयमा गुनासो सुन्ने अधिकारी तोकिएको छ । सबै कार्यालयमा कुनै गुनासो भएमा सम्बन्धीत व्यक्तिलाई प्रत्यक्ष भेट्न सक्ने, फोन तथा सामाजिक सञ्जाल जस्ता प्रविधिको प्रयोग बढेपछि गुनासो पेटीका प्रयोगविहीन हुँदै आएका छन् । कार्यालयका सेवा सुविधा सम्बन्धी आएका गुनासा सम्बोधन गरी कामलाई चुस्त बनाउन सबै कार्यालयमा गुनासो पेटीका राखिएको हो ।
पछिल्लो समय इन्टरनेटको बढ्दो प्रयोग र समयसापेक्ष बनाउन उक्त सेवालाई डिजिटल बनाइएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयसँगै नापी कार्यालय, मालपोतलगायतका सेवाग्राहीको अत्यधिक चाप हुने कार्यालयमा रहेका परम्परागत गुनासो पेटीका रित्तै रहेका छन् ।