तीनै तहको विकासका लागि समन्वय आवश्यक

कास्की-युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तीनै तहका सरकारबीच विकास निर्माणका कार्यमा आपसी सहकार्य र समन्वय भइरहेको बताएका छन् । पोखरा महानगरपालिका–१९ घार्मीमा लामाचौर स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रममा उनले देशमा सडक, खानेपानी, विद्यालय, स्वास्थ्यचौकीलगायत विकासका पूर्वाधारले प्राथमिकता पाएको बताए ।
जनप्रतिनिधि निर्वाचित भएरसँगै संघ, प्रदेश र स्थानीय सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकास निर्माणले तीव्रता पाएको बताउँदै मन्त्री विश्वकर्माले भने, ‘तीन तहका सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकासको मूल फुटेको छ ।’
उनले विकास निर्माणका कार्य गुणस्तरीय हिसाबले निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनी, प्राविधिक कर्मचारी र स्थानीयवासीको भूमिका रहने भएकाले सबैले आ–आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।
गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले स्वास्थ्य सेवालाई चौबिसै घण्टा आम जनताको पहुँचमा पु-याउनुपर्ने उल्लेख गर्दै आधुनिक भवनसँगसँगै आधारभूत स्वास्थ्य सेवा र औषधि उपलब्ध हुनुपर्ने बताए । सार्वजनिक खरीद ऐन समयसापेक्ष परिमार्जन नहुँदा विकास योजना शुरुआत गर्न ढिलाइ हुने गरेको बताउँदै उनले सरकारसँग सो ऐन परिमार्जन गरी सरल बनाउन माग गरे ।