आर्थिक मन्दीले बन्द भए ६७ पसल

धादिङ– जिल्ला सदरमुकाम धादिङबेसी व्यापारिक केन्द्रको रूपमा रहे पनि आर्थिक मन्दीका कारण यहाँका ६७ पसल बन्द भएका छन् । नीलकण्ठ नगरपालिका वडा नंं. ३ मा सदरमुकाम करिब डेढ किलोमिटर क्षेत्रमा रहेको छ । यो बजार खासगरी पुच्छार बजार, बीच बजार र सिरान बजार नामले परिचित छ । यहाँ सटर तथा कोठाभाडा तुलनात्मक रूपमा महँगो छ ।
अन्य जिल्लाबाट उपभोक्ता सामान खरिदका लागि आउने नाका वा केन्द्र पनि यही नै हो । देशव्यापी आर्थिक मन्दीको असर सबैभन्दा बढी यहीँ परेको व्यवसायीहरू बताउँछन् । असारदेखि यता ६७ वटा सटर बन्द भइसकेका छन् । सटर बन्द हुनुको कारण व्यापारमा कमी आउनु रहेको छ । व्यापारमा कमी आएपछि घर भाडा, बैंकको ब्याज तिर्न नसकेपछि सटर बन्द हुने क्रम बढेको धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिम्खडाले बताए ।
बन्द भएका व्यवसायहरू फेन्सी, जुत्ता, स्टेसनरीलगायतका पसलहरू रहेका छन् । खाद्य सामग्रीका पसलहरू मात्र सुचारु रहेका छन् । आर्थिक मन्दी आएसँगै बैंकको ब्याज तिर्न नसकेपछि व्यवसायीहरू पलायन हुन थालेका छन् । व्यापार नभएपछि व्यापारीहरू घरभाडा र आफ्नो खर्च पुर्याउन नसकेर पलायन हुन थालेका हुन् । सरकारले ती बन्द भएका पसल सुचारु गर्न सक्ने अवस्था छैन ।
मुलुक संघीयतामा गएसँगै करमा वृद्धि र तीन तहमा कर तिर्नुे बाध्यता सिर्जना भएको छ । दर्ता नवीकरण, आय कर र व्यवसाय सञ्चालनलगायतका करले पनि असहजता थपेको छ । एकद्वार प्रणालीबाट कर तिर्ने वातावरण हुनुपर्छ । अनि मात्र व्यवसायमैत्री नीति भएको मानिन्छ । थप आर्थिक मन्दी आउन नदिन र व्यवसायहरू बन्द हुनबाट रोक्न सरकारले कदम चाल्नुपर्ने व्यवसायीहरूको माग छ ।
उद्योग वाणिज्य संघ आफैं कानुन बनाउने ठाउँमा नभएकाले नीति सुधारका लागि पैरवी उद्योग वाणिज्य महासंघमार्फत भइरहेको महासचिव सिम्खडाले बताए । जिल्ला सदरमुकाममा घरभाडा महँगो भए पनि आपसी सहमतिमा नै बस्ने भएकाले घरबेटी र व्यवसायीबीच घरभाडा नै हुने गरेको छैन । अहिलेसम्म पसल र कोठामा बस्नेको कोठा खाली गराउन १५ वटा भन्दा बढी उजुरी परेका छन् । कति त खाली पनि गरिसकेको नीलकण्ठ ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
अब घर भाडालाई व्यवस्थित गर्न घरभाडा सम्झौता गराउने र करको दायरामा ल्याउने तयारीमा लागेको उनको भनाइ छ । यसले राजस्व बढ्ने र नियमन गर्नसमेत सजिलो हुने बताइएको छ । व्यवसायीहरू व्यवसायबाट पलायन हुनुको कारण बैंकले लगानी नगर्नु, जग्गा कित्ताकाट रोकिनु, साहूबाट ऋण लिँदा ३६ प्रतिशत पुग्नुजस्ता कारण रहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।