अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी बिहीबारदेखि
आगामी बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ । कृषि क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले गर्न लागिएको प्रदर्शनी पाँच दिनसम्म चल्ने आयोजकले जनाएका छन् ।
सम्मेलनमा कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्य पालन उद्योग, पोल्ट्री तथा पशुपालन उद्योगसँगसम्बन्धित प्रविधिहरुको प्रदर्शनी गरिने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । मिडिया स्पेस प्रालि र फ्युचर ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिको संयुक्त आयोजनामा हुने सम्मेलनमा भारत, मलेसिया, चीन, ताइवान, इटली, इजरायल, बंगलादेश, जर्मनी, बेल्जियम, नेदरल्याण्डलगायतका मुलुकबाट १२० वटा स्टल राखिने भएको छ ।
प्रदर्शनीमा सानादेखि ठूला मेसिन तथा औजारको प्रदर्शनीलाई प्राथमिकतामा राखिएको आयोजक मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सृजल भट्टराईले बताए । “प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम् प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तिनको प्रयोगद्वारा कृषि उत्पादन वृिद्ध भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बनाउन टेवा पुग्ने विश्वास लिएका छौं,” उनले भने ।
प्रदर्शनीको अवधिमा श्री किसान इनोभेसन हवसँगको साझेदारीमा कृषक, अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित कृषि गोष्ठीको समेत आयोजना गरिने भएको छ । ‘समृद्धिको बाटोमा श्री किसान’ मूल विषयवस्तुलाई आधार मानेर फागुन चार र पाँच गते समृद्धिका लागि बाख्रा, जलवायु अनुकूल खेती, किसानका लागि प्रविधि, सम्पन्न किसान देशको साना किसानलगायतका विषयमा केन्द्रित भएर गोष्ठी आयोजना बताइएको छ । मेला अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेला चार दिनसम्म चल्नेछ ।