माथिल्लो तामाकोसीमा समयमै विद्युत् उत्पादन हुनेमा आशंका «

माथिल्लो तामाकोसीमा समयमै विद्युत् उत्पादन हुनेमा आशंका

दोलखा-भारतीय ठेकेदार कम्पनीको सुस्ततामा सुधार नआउँदा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पुनः थपिएकै समयमै आउनेमा चिन्ता बढेको छ । आयोजनाको लट २ अन्र्तगतको हाइड्रोमेकानिकल तर्फको ठाडो सुरुङमा पाइप जडानको काममा गति लिन सकेको छैन ।
लट २ को हाइड्रोमेकानिकलको ठेक्का भारतीय कम्पनी टेक्सम्याको रेल्वे एण्ड इजिनियरिङले पाएको छ । उसले हाइड्रोमेकानिकल तर्फको पेनस्टक पाइप र बाँधका गेटहरूको डिजाइन, उत्पादन, ढुवानी र जडानसम्मको जिम्मा पाएको हो ।
आयोजनाको विद्युत् उत्पादन गर्ने उपकरणहरू जडान पूरा भएको ८ महिना पूरा भएको छ । विद्युत् गृह भित्रको टर्वाइन, जेनेरेटर, एमएसओभी जडान गरी ड्राइ परीक्षण सफल भइसकेको छ । आयोजनाको हाइड्रोमेकानिकल अन्र्तगत ठाडो सुरुङ भित्रको पाइप जडान नभएकै कारण पावर हाउसमा पानी आउन नसकेको हो । मेसिनहरूमा खिया लाग्ला भनेर दैनिक रुपमा सुख्खा चलाउँदै राख्नु परेको छ ।
पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच ८ महिना अघि (गत २३ पुस)मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो ।
तर माथिल्लो साफ्टको ३१० मिटरको पाइप जडान कार्य भने भारतीय कम्पनी ( लट २) कै टेक्सम्याको रेल्वे एण्ड इजिनियरिङले नै गर्दै आएको छ । तल्लो साफ्टको सुरु ३७३ मिटर छ । सबै तयारी पूरा गरेर गत असार १ गतेदेखि तल्लो र असार १० गतेदेखि माथिल्लो सुरुङमा पाइप जडानको काम सुरु भएको हो । २ महिना वितिसक्दा तल्लो खण्डमा ५० मिटर र माथिल्लो खण्डमा साँढे १२ मिटर मात्र पाइप जडान भएको हो ।
तल्लो खण्डको तुलनामा माथिल्लो खण्डको काम पनि सहज छ । तल्लो पाइप २७ टन क्षमताको ५ मिटर लम्बाइको छ । तर माथिल्लो पाइप साँढे २ मिटर लम्बाइको ९ टनको मात्र छ । यस आधारमा पाइप जडानमा समेत तल्लोभन्दा माथिल्लो ढुवानी र जडान समय पनि कम हुनु पर्नेमा नतिजा उल्लो भएको आयोजनाका उपप्रबन्धक पूर्णगोपाल रञ्जितले बताए ।
टेक्सम्याकोले फेरि काम सुस्त रुपमा गतिपछि आयोजनाबाट आउँदो चैतमा विद्युत् उत्पादन गर्ने लक्ष्यमा ठेस लाग्ने भएपछि टेक्सम्याको उच्च व्यवस्थापनसँग केही दिनदेखि काठमाडौंमा छलफल जारी राखेको छ । छलफलपछि टेक्सम्याकोको कामको बारेमा ठोस निर्णय आउने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।
२ वर्षदेखि टेक्सम्याकोको उच्च व्यवस्थापनसँग पटक पटक बैठक समेत गरेको छ । तर व्यवस्थापन अत्यन्तै कमजोर भएका कारण कामले गति लिन नसकेको उनले बताए । माथिल्लो सुरुङको एक तिहाइभन्दा बढी पाइप अझै उत्पादन र ढुवानी समेत हुन सकेको छैन ।
विद्युत् गृहसम्म पानी ल्याउने बाटो लामाबगरबाट ८ किलोमिटर सुरुङपछि ८ सय मिटर पेनटक पाइप छ । यि पाइपको ब्यास ३.६ मिटरका छन् । पानी आउने बाटो सुरुङको काम अरु पूरा भए तापनि त्यही पाइपबाट विद्युत्गृहले पानी पर्खिरहेको छ ।
पाइप जडान पूरा भएमा ४५६ मेगावाट विद्युत् उत्पादन गर्ने ६ वटा युनिटले काम पाउँने छन् ।
आयोजनाबाट उत्पादित विद्युत् प्रसारण हुने प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । ४७ वटा टावर सबै उठेका छन् । तार तान्ने काम पनि ५ किलोमिट मात्र बाँकी छ । तर फुलासीमा सव स्टेसनको काम भने सुस्त छ ।
तर विद्युत् उत्पादन हुँदा फुँलासीको सब स्टेशन नबने तापनि सोझै खिम्ती ढल्केबर प्रसारण लाइनमा जोड्न सकिने भएकाले असर नगर्ने आयोजनाका अधिकारीहरू बताउँछन् । प्रसारण लाइन र सबस्टेसनको ठेक्का पनि भारतीय कम्पनी केइसी इन्टरनेशनलले पाएको छ ।
पेनस्टक पाइप जडानमै ढिलाइ भएपछि उर्जा मन्त्रालयले पनि चासो दिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं आयोजनास्थल आएर ठेकेदार र परामर्शदातासँग हरेक महिना बैठक गर्दै आएका छन् । आयोजना ढिलाइ हुँदा लागत बढेर व्याजसमेत दोब्बर भइसकेको छ । लगानीकर्ताले प्रतिफल पाउने समय धकेलिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्