Logo

उब्जनी नभएपछि किसान चिन्तित

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का कृषकहरू धानखेतीमा राम्रो उब्जनी नभएपछि चिन्तित भएका छन् । सोही नगरपालिका–१९ का लालबहादुर रानाले असारमा धान खेती गरेका थिए । उनले आफ्नो १ बिघा जग्गामा धानखेती गरेका हुन् । तर उनले गरेको खेती अहिले पुरै सखाप भएर धानका बोटहरू नष्ट भएका छन् । गत महिनामा आएको वर्षा र चौधर नदीमा आएको बाढी पुरै धान खेतीमा पसेको राना बताउँछन् ।

असारमा रोपेर असोजमा काट्ने धान पुरै सखाप भएपछि आफ्नो परिवारलाई के खुवाए पाल्ने भन्ने चिन्तामा राना छन् । उनले भने,‘ धानखेतीमा बाढी पसेपछि एकाएक सुक्न थाल्यो, कुनै रोग आयो कि भनेर विषादीसमेत छर्किए । विषादी छर्कीदामेत खेतीमा भने कुनै पनि किसिमको सुधार आएन ।’ त्यसैगरी भीमदत्त नगरपालिका–१९ कै स्थानीय किसान चौधरीले तीन बिघा जमिनमा लगाएको धान बाली बाढीकै कारणले नष्ट भएको बताए ।

उनले भने,‘अहिले धान काट्ने समय आएको छ, गाउँका सबै किसानहरू बिहानै उठेर धान काट्न खेत तिर जाने गर्छन् । तर, आफ्नो धान खेती नष्ट भएको देख्दा निकै दुःख लाग्ने गर्छ ।’ आफूले उत्पादन गरेको धान बालीबाट आफूले खाने जति घरमा राखेर बाँकि सबै धान बेचेर बालबालिकाहरूको लागि केही लुगा, कपडा किनेर उनीहरूको स्कुलमा शुल्क तिर्ने गर्ने गरेको उनले बताए ।

धान खेती नै नष्ट भए पछि कसरी आफ्नो छोराछोरीको खर्च चलाउने होला भनेर चिन्ता बढेको चौधरी बताउँछन् । गत महिनामा आएको वर्षाले चौधर नदीको बाढी बस्तीसम्मै पुगेको थियो । धान खेतीमा डुबान भएपछि क्रमश पानी घट्दै गएपनि एकाएक धान बाली सुक्न थालेको किसानहरू बताउँछन् । सोही क्षेत्रका स्थानीय रामकली चौधरीले धान बालीमा बाढी पसेको एकहप्तापछि पानी घटेको बताउँछिन् ।

उनले भनिन्,‘बाढी खेतीमा पसेपछि धान पहिलो हुन थालेको थियो, आफूले रोपेको धान समथर भूभागमा नभएर खल्ला क्षेत्रमा थियो । लामो समयसम्म खल्लाको खेलमा पानी जम्न थाल्यो भने माछा समेत पाइन्छ ।’ चौधरी भन्छिन्,‘ धान खेती नष्ट भएको थाहासमेत हुने थिएन होला, लामो समयसम्म खेतमा पानी भएको कारणले गर्दा माछा आएका होलान् भनेर माछा मार्न गएका थियौं, तर पानी जमेको ठाउँमा धान कुहिएर निकै गन्ध आइरहेको थियो भने पानीसमेत निकै कालो भएको थियो ।’

कृषि गरेर वर्षभरि खानलाई जोहो गर्ने उक्त क्षेत्रका किसान अहिले आफूले गरेको धानबाली वर्षाको कारणले गर्दा खेतमै कुहिएपछि निकै चिन्तित भएका छन् । उक्त क्षेत्रका स्थानीयहरु नदि र जंगल नजिक भएको कारणले गर्दा कुनै वर्ष पनि आफूले खेती गरेको अन्नबालीहरू राम्रोसँग घर भित्र्याउन नसक्ने गरेको बताउँछन् । जंगली जनावरबाट खेती बचाउँछौँ भने पनि बाढी आएर पुरै खेती सखाप गर्छ ।

बाढीबाट खेती बच्यो भने जंगली जनावरहरूले सखाप गर्ने स्थानीय कृषक श्यामसिङ राना बताउँछन् । उनले भने,‘आफूले उब्जनी गरेको खेतीबाट वर्षभरि खानको लागि राखेर बाँकि रहेको धान बेचेर परिवारको खर्च चल्ने गरेको थियो । तर यो वर्ष आफ्नो खेती देख्दा आँखामा आँसु आउने गर्छ । कसरी आफ्नो परिवारको लागि घर खर्च चलाउने र छोराछोरीलाई पढाउने भन्ने समस्या आएको छ ।

प्रतिक्रिया दिनुहोस्