मूल्य पाएपछि ड्रागन खेतीमा आकर्षण
दाङ– जिल्लामा ड्रागन फलको खेती गर्नेको संख्या बढदै गएको छ । व्यावसायिक तथा घरका लागि पनि खेती गर्न थालेका छन् । व्यावसायिक खेती गरेका किसानले राम्रो आम्दानी लिने गरेको बताउँछन् ।
जिल्लामा नयाँ प्रजातिको फलका रूपमा रहेको ड्रागन फल अन्य फलफूलको तुलनामा महंँगोमा बिक्री हुने गरेका कारण राम्रो आम्दानी हुने गरेको घोराही उपमहानगरपालिका–१८ को अखबरेमा ड्रागन फलको व्यावसायिक खेती गर्दै आएका विक्रम बुढाले बताए । करिब ५० लाख रुपैयाँ खर्च गरेर ६ जनाको समूहले दंगाली ड्रागन फुर्टफर्म दर्ता गरेर विगत पाँच वर्षदेखि दुई बिघा बढी जमिनमा व्यावसायिक खेती गर्दै आएका बुढाले वर्षमा २० देखि २५ लाखसम्म आम्दानी गर्ने गरेको बताए ।
‘दुई बिघा क्षेत्रफलमा करिब १३ सय बढी विरुवा छन्, प्रतिबिरुवा ३० देखि ४० किलोसम्म उत्पादन हुँदा पनि २० देखि ३० लाखसम्म आम्दानी हुने गरेको छ,’ बुढाले भने । विगतका वर्षजस्तै मूल्य भए ड्रागन फलबाट राम्रो आम्दानी भए पनि पछिल्लो समय जिल्लामा धेरै ठाउँमा ड्रागन फलखेती हुने गरेका कारण मूल्यमा कमी हुँदै आएको छ । जस्ले गर्दा आम्दानी कम हुँदै गएको उनले बताए । उनका अनुसार ३/४ वर्ष अघिसम्म प्रतिकिलो ८५० रुपैयाँले बिक्री गरेको भन्दै वर्षेनी मूल्य घट्दै आउँदा यसवर्ष ३५० देखि ४५० रुपैयाँसम्म फल बिक्री गर्दै आएको बताए ।
‘चार वर्षअघिको जस्तै मूल्यमा अहिले ड्रागन फल बिक्री हुन्थ्यो भने कमाउन कहीं जानु पर्ने थिएन । तर विगतको तुलनामा दोब्बरले मूल्यमा कमी आए पनि घाटा भने भएको छैन,’ बुढाले भने । धेरै लगानी गरेर विदेश जाने र स्वदेशमा केही छैन भन्नेका लागि मेहनत गर्नसके ड्रागन खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । अन्य तरकारी, पशुपालन लगायतका कृषि व्यवसायमा मेहनत अनुसारको लगानी हुन नसकेको गुनासो आउने गरे पनि ड्रागन फलको खेतीमा त्यो समस्या नरहेका अर्का व्यवसायी दिलचन बुढाले बताए ।
‘दुःख नगरेर कृषिमा आम्दानी हुँदैन । आफै खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ,’ उनले भने । फर्ममा उत्पादन पनि राम्रो भएको र बिक्रीका लागि घोराही बजार पनि नजिकै रहेकाले आफूहरूलाई बिक्रीका लागि समस्या नभएको बताए । ‘सुरुमा थोरै उत्पादन हुँदा बिक्रीमा समस्या थिएनन्, तर अहिले जिल्लाका विभिन्न ठाउँमा धेरै उत्पादन हुन थालेको छ । जस्ले गर्दा बिक्रीमा पनि समस्या हुने गरेको गुनासो सुनिने गरेको छ,’ उनले भने ।
एकै पटक रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने र अन्य खेतीको तुलनामा मेहनत पनि कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा धेरै किसान ड्रागन फलको व्यावसायिक खेतीमा लागेका छन् । व्यवसायीका अनुसार जिल्लामा करिब २० देखि ३० बिघासम्म जमिनमा व्यावसायिक रूपमा ड्रागन फलको खेती हुने गरे पनि यकिन तथ्यांक नभएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सिँचाइका लागि धेरै पानी आवश्यक नपर्ने र पहाडी भिरालो ठाउँमा पनि राम्रो आम्दानी लिन सकिने भएका कारण धेरै किसान पछिल्लो समय ड्रागन फलखेतीमा लाग्ने गरेको व्यवसायी बताए ।
जिल्लामा सबैभन्दा पहिले नेकपा माओवादीका नेता एवं पूर्वमन्त्री लोकेन्द विष्टले तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा खेतीको सुरुवात गरेका थिए । ड्रागन फललाई कच्चा पदार्थको रूपमा प्रयोग गरी जुस, वाइन, आइसक्रिम लगायतका उत्पादन गर्न सकिने भएकाले पनि पछिल्लो समय नेपालमा व्यावसायिक रूपमा खेती बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।