कोरियामा रोजगारी प्राप्त गर्नेमा नेपाल पहिलो

काठमाडौं– नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालले यही वर्ष पहिलो पटक कोरियाले कामदार लिने १६ देशमध्ये धेरै कामदार पठाएर प्रथम स्थान हासिल गरेको बताएका छन् ।
बुधबार राजधानीमा आयोजित गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा राजदूत थेयङले रोजगारी अनुमति पद्धति (इपिएस)मा आबद्ध १६ देशमध्ये नेपालबाट यो वर्ष पहिलो नम्बरमा पुगेको बताएका हुन् । उनले भने, ‘नेपाली कामदारले लगनशील तथा अनुशासित रूपमा काम गरेकाले रोजगारदाताले मन पराएका छन् । यो वर्ष मात्र २० हजार जनालाई रोजगारीको अवसर प्राप्त भएको छ ।’
सन् २००७ पश्चात् नेपालबाट १ लाख जना प्रवासी कामदारलाई कोरियाली कामदारसरह समान पारिश्रमिकलगायतका सेवासुविधा उपलब्ध गराएको उनले बताए । नेपाल फर्किएका कामदारहरूका लागि पुनः एकीकरण कार्यक्रममार्फत व्यावसायिक क्षमता विस्तार योजना कार्यान्वयनमा ल्याएकोमा उनले जोड दिए ।
सन् २०२६ मा नेपाल अल्पविकसित राट्रबाट विकासशील राट्रका रूपमा प्रवेश गर्ने चरणमा रहेको अवस्थामा आफ्नो देशले सहयोग गर्ने राजदूतको भनाइ थियो । दुई देश भूगोलको हिसाबले निकै टाढा छन्, तथापि दुई देशबीच ऐतिहासिक रूपमा समानताका पक्षहरू धेरै रहेको उनको भनाइ छ । उनले भने, ‘हिमालयको पदयात्रा र बुद्धको जन्मस्थल लुम्बिनीको तीर्थयात्राका लागि बर्सेनि ३० हजार कोरियन नेपाल भ्रमणमा आउने गरेका छन् ।’
विगत १५ वर्षदेखि कोरियाले नेपाललाई व्यावसायिक तालिम, स्वास्थ्य, कृषि र सूचना तथा सञ्चार प्रविधि केन्द्रित विकास सहायता प्राथमिकताका साथ उपलब्ध गराएको जानकारी दिँदै कोरियाली राजदूत थेयङले बितेका ३० वर्षमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले १ सय ५७ विकास परियोजना कार्यान्वयन गरेको छ । राजदूतावासका अनुसार २ हजार जना सरकारी कर्मचारीलाई अध्ययन तथा कोरियामा प्रशिक्षणको अवसर प्रदान गरिएको छ ।
कोरियाबाट विभिन्न परियोजनाका लागि करिब ३ हजार स्वयंसेवीले भूमिका खेलिसकेको उनले जनाए । कोरिया र नेपाल सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात आगामी वर्ष ५०औं वर्षगाँठको नजिकै पुगेका छन् । गणतन्त्र कोरिया नेपालमा वैदेशिक लगानी गर्ने मुलुकमध्ये चौथो ठूलो लगानी भएको देश रहेको जनाएको छ ।
सामसुङ कम्पनीले यही वर्ष अप्रिलबाट उन्नत प्रविधिमार्फत टेलिभिजन फ्याक्ट्री सञ्चालनमा ल्याएको छ । सामसङ इलेक्ट्रोनिक्सले गत अप्रिलदेखि अत्याधुनिक टिभी कारखाना सञ्चालन गर्दै आएको छ । नेपाली कम्पनीले नवलपुरमा वार्षिक ४ हजार ८ सयको संख्यामा गाडी उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ ।